सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लियो

प्रहरीले शंखरापुर नगरपालिका २ पटापस्थित घाटमा चितामा राखिएको शवलाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो १५ वर्षीय सुनबहादुर तामाङले आत्महत्या गरेको भन्ने जानकारी प्रहरीलाई नदिएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो ।

‘हिजो आत्महत्या गरेको भन्ने खबर बेलुकी सात बजे पायौं तर हामीले झुण्डिएको देखेका थिएनौं,’ महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले भने ।

उनका अनुसार घरबाट सुसाईड नोट पनि फेला परेको छ । ‘खबर नै नगरी उहाँहरूले घाट लैजानु भएछ,’ उनले भने, ‘त्यसपछि हामीले सबैलाई सम्झाइबुझाई चिताबाट शव उठाएका थियौं ।’

Las jalaudai
फाइल फोटो

तामाङले सुसाइड नोटमा आफू मर्न गएको र आफ्नो सम्पत्ति जेठो दाइलाई दिन आग्रह गरेका थिए । तर प्रहरीले घटना नदेखेको भएकाले यसबारे थप अनुसन्धान हुने पन्थीले बताएका छन् ।

साथै तामाङले पारिवारिक समस्याका कारणले आत्महत्या गरेको हुन सक्ने निरीक्षक पन्थीले बताएका छन् । उनको शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्