सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोनाका कारण छैठौँ व्यक्तिको मृत्यु

भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो ।

लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो । भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परिक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको छ ।

शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो । शवसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

भुमिकास्थान–९ का वडाध्यक्ष नारायणप्रसाद खनालले आज कोरोना संक्रमण पुष्टि भएका युवाको शव भने अन्त्येष्टि गरिसकेको छ । ‘हामीले परिवारसँग सल्लाह गरेर सुरक्षाका मापदण्ड अपनाएर उनको शव चार दिनअघि नै गाडिसकेका थियौं, रिपोर्ट आज आएको हो,’ उनले भने । अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेमध्ये पाँच जनाको मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्