सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोनाका कारण आठौँ व्यक्तिको मृत्यु

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनको सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेशमा कोरानाबाट ज्यान गएको यो पहिलो घटना हो ।

मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिं कार्कीले मृतक बालिका र आमामा कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् ।

संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । सँगै भारतबाट आएका मृतक बालिकाका बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । बालिकालाई संक्रमणको शंका लागेपछि उनका आमा र बुवासहित जेठ १५ गते आइसोलेसनमा राखिएको थियो ।

स्थानीय बूढीगंगा नगरपालिका–१ को धुरालसैन माध्यमिक विद्यालयमा रहको क्वारेन्टाइनमा बालिकाको अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो । बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि परिवार भारतबाट फर्किएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्