बाँकेमा फोर्स गाडी र ट्रक ठोक्किँदा १२ को मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।
भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयेश सापकोटाले जानकारी दिएका छन् ।
ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताएका छन् ।
दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको इन्सपेक्टर सापकोटाले बताएका छन् ।
मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको इन्सपेक्टर सापकोटाले बताए । उनले भने, ‘सनाखत गर्ने क्रम चलिरहेको छ । टिकट काटेर गाडी चढेको जस्तो भए सनाखत गर्न छिटो हुने थियो ।’
सवारी दुर्घटनामा मृत्यु भएका १२ जनाको दाङ, सुर्खेत, सल्यान र रोल्पाका वासिन्दा भएको खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा दाङका २, सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जना छन् । मृतकमध्ये चालक सुर्खेतका रहेको जानकारी प्रहरीले दिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्