सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

थप १३ मा कोरोनो, संक्रमित संख्या १८११ पुग्यो

सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

Corona Virus

यसअघि मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका थिए ।

नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ । विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् ।

सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ । धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ । कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको उनले बताए ।

देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्