सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतले दशगजामा सिमा मिचेको स्वीकार गर्यो

भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिकाको बन्जरहा क्षेत्रमा करीब दुई सय मिटर सीमा अतिक्रमण गरेको स्वीकार गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नेपाल–भारत सीमा क्षेत्र दशगजामा अस्थायी रूपमा सांकेतिक चिन्ह खडा गरिंदा नेपालतिरको करीब दुई सय मिटर जमिन मिचिएको भारतीय पक्षले स्वीकार गरेको हो ।

माथिल्लोस्तरको निर्णयपश्चात् वर्षापछि अतिक्रमित क्षेत्र खाली गराइने आवश्वासन समेत भारतीय पक्षले दिएको प्रजिअ घिमिरेले जानकारी गराएका छन् । दशगजामा रहेको पिलर नम्बर ३४६/५ देखि ३४६/७ को बीचमा ३ वटा अस्थायी पिलर र ३४६/६ देखि ३४६/७ सम्म ८ वटा सांकेतिक चिन्ह खडा गरिंदा नेपालतर्फको करीब दुई सय मिटर जमिन मिचिएको पाइएको हो ।

दुई देशको संयुक्त प्राविधिक टोलीले जीपीएस प्रविधिबाट स्थलगत नापजाँच गर्दा दशगजा मिचेर भारतीय पक्षले एकतर्फी रुपमा सीमामा तटबन्ध निर्माण गरेको प्रमाणित भएको हो । भारतीय पक्षले ईशनाथ नगरपालिकाको बन्जरहा क्षेत्रमा अतिक्रमण गरेर करीब दश मिटर अग्लो बाँध निर्माण गरिसकेको छ ।

बन्जरहा बासीले नेपाली जमिन मिचिएको र अन्तर्राष्ट्रिय कानून विपरीत भारतले एक पक्षीय रुपमा कैयौं गाउँलाई डुबानमा पार्ने गरी बाँध बनाइरहेकोमा विरोध गर्दै नेपाल सरकारसित बाँध भत्काउन निरन्तर आग्रह गर्दै आएका छन् ।

India Nepal Border India make wall

स्थानीय बासिन्दाहरूको निकै प्रयासपछि भारतीय टोलीका अनुराग कुमार र नेपाली टोलीका उमेश कुमारसहितको प्राविधिक टोलीले जीपीएस प्रविधिबाट नक्शाको पहिचान गरेर सीमा क्षेत्रको ११ स्थानमा अस्थायी रुपमा पिलर गाडेको छ ।

संयुक्त प्राविधिक टोलीसँग सशस्त्र प्रहरीको बीओपी औरैयाका इन्सपेक्टर हरिप्रसाद केसी, नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक सुरेशप्रसाद गुप्ता र भारत मोतिहारी ढाकाको एसडीएम ज्ञानप्रकाश, एएसडीएम संजय कुमारको संयुक्त टोलीले नापजाँच गरेर अस्थायी जीआई पाइप गाडेर रेखाङ्कन गरिएको बताइएको छ ।

रौतहटका प्रजिअ घिमिरेले स्थानीयहरूको अवस्थालाई मध्यनजर गर्दै निकै प्रयास तथा समकक्षीसँगको सहकार्यमा दुवै देशका सर्भेयर टोलीद्वारा सीमा छुट्याइएको बताएका छन् । भारतीय पक्षको नेतृत्व गरेका ढाकाका एसडीएम ज्ञानप्रकाशले दशगजाको दायाँबायाँ ९ मिटरभित्रमा पर्ने बाँधलाई तुरुन्तै हटाउने कुरा स्वीकार गरेको भए पनि समयसीमा नतोकेको बताएका छन् ।

भारतीय पक्षद्वारा करीब दुई सय मिटर सीमाक्षेत्र अतिक्रमण भएको स्वीकार गर्दै चाँडै खाली गराउने प्रतिबद्धता जनाएको हुँदा सोहीअनुरुप नेपाली सुरक्षाकर्मीहरूलाई समय समयमा उनीहरुसँंग सीधा सम्पर्कमा रहेर अविलम्ब सीमाको अतिक्रमण हटाउनेतर्फ यथोचित कदम चाल्न निर्देशन दिएको जानकारी पनि प्रजिअ घिमिरे दिएका छन् ।

बन्जरहाका ६२ वर्षीय राजेन्द्र सिंहले आफूहरुले कम्तीमा बीस वर्षदेखि आवाज उठाइरहेको तर कुनै पक्षबाट खासै सुनुवाइ नभएको गुनासो गर्दै अहिले आएर थोरै भए पनि सकारात्मक काम भएकोमा खुशी लागेको बताएका छन् ।

बकैया नदीमा बाढी आउँदा सीमामा बनाइएको तटबन्धले गर्दा पानीको निकास नभएर बालीनालीमा लाखौंको क्षति हुने गरेको र तीन महीना गाउँबाट बाहिर निस्कने अवस्था नै नरहने गरेको सिंहको दाबी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्