मस्तिष्क चिप ५० जना मानिसमा प्रत्यारोपण
विज्ञान तथा प्रविधिको चरम विकाससँगै मानिसको भविष्यलाई लिएर विभिन्न खाले चिन्ताहरु व्यक्त भइरहेका छन्। चाहे आर्टिफिसियल इन्टेलिजेन्स होस् वा रोबोटको बढ्दो क्रेज, यसले भविष्यमा मानिसको अस्तित्वलाई नै संकटमा पार्ने खतरा रहेको चर्चा हुने गरेको छ।
हालै एआईका गडफादर भनिने जेफ्री हिन्टन स्वयंमले आफुलाई यो प्रविधिको विकास गरेकोमा पश्चाताप रहेको खुलासा गरेबाट पनि हामीले यसको जोखिम आँकलन गर्न सक्दछौँ।
गतहप्ता गुगलबाट राजीनामा दिएका हिन्टनले त्यहीँ आर्टिफिसियल इन्टेलिजेन्सका खतराको चर्चा गरेका थिए जसको विकासमा उनको अग्रणी भूमिका थियो ।आर्टिफिसियल इन्टेलिजेन्सलगायतबाट भविष्यमा हुनसक्ने त्यस्तै सम्भावित खतराको सामना गर्नका लागि वैज्ञानिकहरुले नयाँ तरिकाबाट काम गरिरहेका छन् ।

यसैबीच एउटा कम्पनीले ५० जना मानिसको सरीरमा मस्तिष्क चिप प्रत्यारोपण गरेको छ । त्यसको उद्देश्य भविष्यका विभिन्न योजनाहरु पूरा गर्नु हो । त्यसमध्ये एक उद्देश्य चाहीँ रोबोटमाथि नियन्त्रण गर्नु समेत रहेको छ । अर्थात् मानिसको दिमागको कुरा बुझेर रोबोटमाथि नियन्त्रण गर्नसक्ने चिप वैज्ञानिकहरुले तयार पारेका छन् ।
अमेरिकी कम्पनी ब्लाकरक न्यूरोटेकले न्युरोपोर्ट (NeuroPort Array)को आविष्कार गरेको छ । सो ब्रेनचिपलाई मस्तिष्कको संकेत पढ्ने तथ रोबोटिक आर्म, ह्वीलचेयरलाई नियन्त्रण गर्ने उद्देश्यले बनाइएको हो ।
कम्पनीका वैज्ञानिकहरुका अनुसार यसबाट शारीरिक पक्षघात, अन्धोपना, बहिरोपना तथा डिप्रेसन जस्ता समस्याको समाधान गर्न सकिन्छ । अमेरिकाको उटाहस्थित साल्टलेक सिटीमा रहेको सो कम्पनीका सहसस्थापक मार्कस गेरहार्टले डेलीमेलसँग भनेका छन् , ‘हामी यस्तो पहिलो कम्पनी हौँ जसले मानिसमा सिधै ब्रेन कम्प्युटर इन्टरफेस प्रत्यारोपण गरेका छौँ।’
उनका अनुसार यो चिपले मानिसहरुलाई केवल आफ्नो मस्तिष्क संकेतका माध्यमबाट सिधै कम्प्युटरसँग कनेक्ट हुन, रोबोटिक हात तथा ह्वीलचेयरलाई नियन्त्रण गन र भिडियो गेम खेल्नमा सक्षम बनाउनेछ ।
यसबाट पक्षघात भएका मानिसहरुलाई सहयोग गर्न सकिन्छ । कुनै मानिसको दिमागमा के चलिरहेको छ भन्ने पत्ता लगाउनका लागि न्युरोपोर्ट ऐरेमा करीब १ सय वटा सुक्ष्म सुइँ हुन्छन् । जसले दिमागबाट पैदा हुने विद्युतीय तरंगलाई पढ्न सक्दछन् ।
प्रत्यारोपित चिपलाई जब मस्तिष्कबाट संकेत प्राप्त हुन्छ त्यसले मेसिन लर्निंग सफ्टवेयरबाट कमान्ड तथा एक्सनमा डिकोड गरिन्छ । त्यसपछि मेसिनमा रहेका रोबोटिक हातको माध्यमबाट कमान्ड अनुसारको काम हुन्छ । जस्तै कुनै बनाउने तथा कम्प्युटर चलाउने आदि ।
मानिसमा प्रत्यारोपण गरिएको यो ब्रेनचिपलाई प्रयोगशाला बाहिर प्रयोग हुने उपकरणमा जडान गर्नका लागि अमेरिकाको संघीय नियामक निकायबाट सहमति लिनु चुनौतिको विषय रहेको छ ।
यो चिपको प्रयोग आम रुपमा हुन सकेमा यसले पक्षघात पीडित मानिसको जिवन नै बदल्न सक्ने दाबी गरिएको छ ।
एजेन्सीको सहयोगमा
फेसबुकबाट कमेन्ट गर्नुहोस्