सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

के चिनियाँ युआनले अमेरिकी डलरलाई जित्ला ?

गत महिना ब्लूम्बर्ग न्यूजमा एउटा चकित पार्ने खालको समाचार छापियो । जस अनुसार चिनियाँ मुद्रा युआन अमेरिकी डलरलाई पछि पार्दै रुसमा सबैभन्दा धेरै कारोबार हुने मुद्रा बनेको छ ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसले चिनियाँ मुद्रा युआनलाई प्राथमिकता दिन थालेको थियो र यो वर्ष रुसले डलरको तुलनामा युआनबाट धेरै अन्तर्राष्ट्रिय व्यापार गरेको छ ।

पश्चिमी देशहरुद्वारा रुसमाथि लगाइएको आर्थिक प्रतिबन्धका कारण पनि ठूला रुसी कम्पनीहरुले वैदेशिक व्यापारका लागि डलर बाहेकका अन्य मुद्राहरुमाथिको निर्भरता बढाएका थिए । त्यस क्रममा युआनले बाजी मार्‍यो ।

यतिमात्र होइन चीनले अगाडि बढ्दै रुसी सामानहरुका लागि आफ्नो बजारलाई पनि खुल्ला गर्‍यो ताकि विदेशी मुद्राको आदानप्रदानमा समस्या नहोस् ।

यसले एउटा सवाल स्वभाविक रुपमा उठाएको छ कि के चीनको युआन, जसलाई रेन्मिन्बी पनि भनिन्छ त्यो अमेरिकी डलरलाई टक्कर दिने तयारीमा रहेको हो ?

विदेशी मुद्राहरुको बोलवाला

युआनको बढ्दो कदमको विश्लेषण गर्नुभन्दा पहिले विश्वमा विदेशी मुद्राहरुको बोलवाला कहिले, किन र कसरी भयो ? भन्ने कुरा बुझ्नु आवश्यक पर्छ ।

सजिलो भाषामा भन्दा कुनै पनि विदेशी मुद्राको विश्वव्यापी लोकप्रियता त्यसलाई जारी गर्ने मुलुकको आर्थिक सामरिक अवस्था तथा विश्व व्यापारमा उसको पडक कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ ।

जब कुनै मुद्रा मजबूत हुन्छ त्यसलाई अन्य देशका केन्द्रीय बैंकले समेत त्यसलाई आफ्नो रिजर्भ मुद्रा बनाएर राख्ने गर्दछन् ।

अमेरिकन इन्स्टिच्यूट फर इकोनोमिक रिसर्चका पिटर अर्लका अनुसार सन् १४५० पछि विश्वमा रिजर्भ करेन्सीका ६ वटा ठूला मोड देखापरे । सन् १५३० सम्म पोर्चुगलको मुद्राको दबदबा रहेकोमा त्यसपछि स्पेनी मुद्रा सर्वाधिक शक्तिशाली बन्यो । त्यस्तै १७ औँ र १८ औँ शताब्दीमा नेदरल्याण्ड्स तथा फ्रान्सका मुद्राले विश्व व्यापारमा आफ्नो वर्चस्व कायम गरे । त्यसलाई ब्रिटिस साम्राज्यको उत्थानले अन्त्य गरिदियो ।

पहिलो विश्वयुद्ध सम्म बेलायतको पाउण्ड स्ट्रलिङ नै धेरै देशहरुकेा रिजर्भ करेन्सीको रुपमा रहेको थियो । तर सन् १९३० को दशकपछि केवल अमेरिकी अर्थव्यवस्था तथा सैन्य शक्तिले आफ्नो प्रभुत्व जमाउन मात्र सुरु गरेन अमेरिकी डलरले विश्व व्यापारमा पाउण्डलाई पछाडि धकेलिदियो । अमेरिकी डलरको प्रभुत्व अद्यापि कायमै छ ।

तथ्यांक अनुसार सन् २००८ देखि सन् २०२२ सम्म भएको विश्व व्यापारको झण्डै ७५ प्रतिशत हिस्सा अमेरिकी डलरमा भएको छ र अहिले विश्वभरका देशमा गरी ५९ प्रतिशत रिजर्भ मुद्रा अमेरिकी डलर रहेको छ ।

युआनको शक्ति

यद्यपि विश्व व्यापारमा अहिले पनि अमेरिकी डलरले नै अगुवाई गरिरहेको छ तथापि कतिपय देशहरुले आफ्नो वैदेशिक व्यापार तथा ऋणका लागि अन्य विकल्प पनि अबलम्बन गर्न सुरु गरेका छन् ।

ब्राजिलको वित्त मन्त्रालयमा अन्तर्राष्ट्रिय मामिलाका सचिव तातियाना रोसिटोका अनुसार विश्वका २५ वटा देशले हाल चीनसँग आफ्नो व्यापार चिनिया युआनमै गरिरहेका छन् ।

व्यापारका लागि विदेशी मुद्राको रुपमा अमेरिकी डलरको साटो चिनिया युआनको प्रयोग गर्ने ब्राजिलको निर्णय पश्चात् उसको छिमेकी मुलुक अर्जेन्टिनाले पनि चीनसँग हुने व्यापारमा युआनकै प्रयोग गर्ने घोषणा गरेको छ ।

यसैबीच चीनले अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अमेरिकी डलरमाथिको निर्भरता कम गर्ने मनसायबाट एक एसियाली मुद्रा कोष स्थापना गर्ने रुची देखाएको छ जसमा मलेसिया लगायतका देशले समर्थन गरिसकेका छन् ।

मलेसियाका प्रधानमन्त्री तदुक सेरी अनबर इब्राहिमले हालै संसदमा संबोधन गर्दै मलेसियाले अमेरिकी डलरमै निर्भर रहनुपर्ने कुनै कारण नरहेकेा प्रष्ट पारेका छन् ।

यसअघि गत मार्चमा साउदी अरबले पनि पहिलोपटक आफ्नो कच्चा तेललाई डलरका अलावा अन्य विदेशी मुद्राहरुमा समेत बिक्री गर्नका लागि छलफल गर्नसक्ने बताएको थियो ।

द वालस्ट्रिट जर्नमा प्रकाशित एक रिपोर्ट अनुसार साउदी अरबले कच्चा तेलको भुक्तानी चिनियाँ युआनबाट पनि लिनसक्ने सम्बन्धमा चीनसँग कुराकानी गरिरहेको छ ।

त्यस्तै गत वर्ष नै इरानले रुससँग हुने व्यापारमा अमेरिकी डलरलाई त्याग गरेको र सबै कारोबार रुसी रुबलमै गर्ने घोषणा गरेको थियो । साथै भारत, टर्की र चीनसँगको व्यापारमा समेत भविष्यमा अमेरिकी डलरको साटो उनीहरुको मुद्राकै प्रयोग गर्ने मनसाय रहेको पनि इरानले बताएको छ ।

चीनको केन्द्रीय बैंकले पछिल्लो एक वर्षमा विभिन्न २९ देशमा युआन मुद्रालाई सटही वा पारित गर्ने विभिन्न ३१ बैंकसँग सम्झौता गरेको छ ।

डलर कि युआन ?

चिनिया अर्थव्यवस्थाको कुरा गर्दा आजको मितिमा चीनले विश्व बजारमा जारी गिरावट, कोभिड पश्चात् परेको विपरित असर तथा बढ्दो महंगीका बाबजुत पनि आफु कूल ग्राहस्थ उत्पादनमा चमत्कार नै गरिरहेको छ ।

अहिले चीनको वार्षिक कुल ग्राहस्थ उत्पादन १७.७ खर्ब अमेरिकी डलर छ । जुन अमेरिका र युरोपेली संघ पछिको तेस्रो ठूलो अर्थतन्त्र हो ।

तर यति हुँदाहुँदै पनि विश्व व्यापारमा चिनिया मुद्रा युआनको हिस्सा जम्मा ३ प्रतिशत छ । जबकि ८७ प्रतिशत हिस्सा अहिले पनि अमेरिकी डलरले नै ओगटेको छ ।

म्यासाचुसेट्स विश्वविद्यालयमा अर्थशास्त्रकी प्राध्यापक जयती घोष भन्छिन् – विदेशी मुद्राको वर्चस्वभन्दा अघि विकासशील मुलुकहको अर्थव्यवस्था सुधार्नु र श्रीलंकामा हाल जारी संकटजस्ता परिस्थितिबाट बचाउनु आवश्यक हुन्छ । अन्यथा डलर होस् वा युआन, अन्य देश तथा ठूला कारोबार त आफ्नो लगानी फिर्ता लिनकै लागि तत्पर रहेका हुन्छन् ।

डलरको तुलनामा चीनको युआनका लागि एक ठूलो चुनौती पारदर्शिताको पनि रहनेछ । किनकि चीनको अर्थव्यवस्थामा अहिलेपनि विभिन्न महत्वपूर्ण निर्णयहरु सर्वसम्मतिबाट लिइँदैन । यस्तै कतिपय आरोप रुसी अर्थव्यवस्थामाथि पनि लाग्ने गर्दछ ।

वास्तवमा कुनै देशले डलरको साटो अर्को विदेशी मुद्रालाई रिजर्भ करेन्सी बनाउनु अगाडि ऊ यस विषयमा आस्वस्त हुनु पर्दछ कि त्यो नयाँ मुद्रा लामो समयसम्म विश्वासयोग्य बनिरहन सकोस् ।

चर्चित अर्थशास्त्री पल क्रुगम्यानले न्युयोर्क टाइम्समा लेखेका छन्- विभिन्न देशहरुले अमेरिकी डलरभन्दा बाहिरको दुनियाँलाई पनि अबलम्बन गर्न सक्ने प्रबल सम्भावनाहरु छन् । तर विकल्प खडा गर्नका लागि जे आवश्यक पदर्छ त्यसका लागि केही दशक लाग्न सक्दछ ।

यसमा दुईमत छैन कि पछिल्ला वर्षहरुमा अमेरिकी डलरको साख केही कम भएको छ । तर विश्व बजारमा आज पनि डलरको सामुन्ने कोही टिक्न सकिरहेको छैन । यद्यपि चीनको बढ्दो व्यापार तथा आयात निर्यातको फैलावटमा अन्य देशहरुको अगाडि अब कम्तिमा एउटा विकल्प उपलब्ध भएको छ ।

युआनलाई विदेशी मुद्राको रुपमा प्रयोग गर्ने देशहरुले भविष्यमा चीनसँग कस्तो सम्बन्ध राख्न चाहनेछन् भन्ने कुरामा पनि धेरै विषय निर्भर हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्