सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गर्भपतन गराउने २५ प्रतिशत प्लस टु पढ्ने किशोरी

एक महिला वा किशोरीका लागि गर्भपतन सामान्य अधिकारका विषय हुन् । कुनै पनि महिलाले बच्चा जन्माउन नचाहेमा वा अनिच्छित गर्भ रहेमा गर्भपतन गराउन सक्छिन् । नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई पतन गराउने अधिकार दिएको छ ।

जबरजस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसेमा १८ हप्तासम्मको गर्भ पतन गराउन कानुनले स्वीकृति प्रदान गरेको छ । तर बच्चा वा आमाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएमा, आमाको मानसिक स्वास्थ्यमा समस्या आएमा भने चिकित्सकको सल्लाह र प्रत्यक्ष निगरानीमा जुनसुकै अवस्थाको गर्भ पतन गर्न सकिने कानुनी अधिकार छ ।

कुनै महिला या किशोरी सुरक्षित गर्भपतन केन्द्रमा आफ्नो गर्भ पतन गराउन गएमा तपाईं विवाहित हो कि अविवाहित भनेर सोध्न समेत पाइँदैन । मतलव विवाहित वा अविवाहित जे भए पनि महिलाले चाहेमा गर्भपतन गराउन पाउँछिन् । तर १२ हप्ताभन्दा माथिको गर्भ पतन गराउन स्वास्थ्य संस्थामा जाँदा अनिवार्य रूपमा साथी वा आफन्त लिएर जानुपर्ने हुन्छ ।

नेपालको कानुनने अभिभावकको सल्लाहमा विवाह गर्ने भएमा केटीको उमेर १८ वर्ष पूरा भएको हुनैपर्ने भनेको छ । त्यस्तै आफूखुशी विवाह गर्ने भएमा केटीको उमेर २० वर्ष पूरा हुनैपर्ने कानुन छ । यो कानुनलाई आधार मान्दै स्वास्थ्य मन्त्रालयले २० वर्षभन्दा कम उमेरका किशोरीलाई अविवाहित भनी परिभाषित गर्ने गरेको छ ।

मन्त्रालयको परिभाषालाई मान्ने हो भने काठमाडौँमा करिब २५ प्रतिशत महिलाले २० वर्षभन्दा कम उमेर अर्थात् किशोरी अवस्थामै आफ्नो गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा उपलब्ध विगत ३ वर्षको तथ्याङ्क हेर्ने हो भने २५ प्रतिशत महिलाहरूले २० वर्षभन्दा कम उमेरमै गर्भपतन गराइरहेका छन् ।

कम्प्रिहेन्सिभ एबोर्सन केयर अर्थात् ‘क्याक’ जसलाई नेपालीमा एबोर्सन भनिन्छ । यो दुई प्रकारबाट हुन्छ, मेडिकल अर्थात् औषधि खुवाएर र सर्जिकल अर्थात् अप्रेसन गरेर । सामान्य अवस्थामा ९ हप्तासम्मको गर्भलाई औषधि खुवाएर पतन गराइन्छ भने त्यसभन्दा बढी समयको गर्भलाई सर्जिकल अर्थात् अप्रेसन गरी पतन गराउने गरिन्छ ।

स्वास्थ्यको दृष्टिकोणले मेडिकल क्याकलाई सहज र सुरक्षित मानिन्छ भने सर्जिकल क्याकलाई जटिल मानिन्छ । गर्भ रहेको वा नरहेको एक महिनामै थाहा हुने भएकाले सन्तान जन्माउन नचाहेमा त्यसलगत्तै गर्भपतन गराउनु उत्तम हुन्छ । तर ९ सातासम्म पनि चुपचाप बसी त्यसपछि गर्भपतन गराउनेको सङ्ख्या अधिक देखिएको छ ।

गत आर्थिक वर्ष २०७३/७४ को तथ्याङ्कअनुसार १३ हजार ५७ जनाले गर्भपतन गराएकामा ८१८३ जनाले सर्जिकल क्याक अर्थात् अप्रेसन गरी गर्भपतन गराएका छन, जसलाई प्रतिशतमा हेर्दा करिब ६३ प्रतिशत गर्भ अप्रेसन गरी पतन गराइएको छ । स्वास्थ्यका दृष्टिकोणले यो गम्भीर समस्याको सूचक हो ।

सरकारी तथ्याङ्कमा देखिएअनुसार प्रजनन् उमेर अर्थात् १५ देखि ४९ वर्षसम्मका जम्मा ४२ प्रतिशत महिलाले परिवार नियोजनका विभिन्न साधन प्रयोग गरिरहेका छन् । यो तथ्याङ्क सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै आएकाले योभन्दा झण्डै दोब्बर महिलाले परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गरिरहेका छन् ।

गर्भपतन गर्नेमा ‘प्लस टु’ पढ्ने किशोरीहरु बढी
२० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउने अधिकांश किशोरीहरू ‘प्लस टु’ पढ्ने रहेको तथ्यांकले देखाएको छ । हुन त गर्भपतन गराउन आउनेले आफ्नो नाम मात्रै भने पनि गर्भपतनको सेवा पाउँछन् । यद्यपि गर्भपतन गराउने २० वर्षभन्दा कम उमेरका अधिकांश किशोरीले गर्भपतन गराउनुपुर्व भरिने फारममा कक्षा १२ अध्ययनरत भनेर लेखेका छन् ।

केही वर्षअघि काठमाडौँ लगायतका देशका प्रमुख सहरी क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार सहरी क्षेत्रमा रहेका महिलाले आफ्नो प्रजनन् उमेर भरमा सरदर ४ पटक गर्भपतन गराउने गरेका छन् । त्योमध्ये पहिलो गर्भपतन २० वर्षभन्दा कम उमेरमै हुने गरेको छ ।

स्वास्थ्यविदहरुका अनुसार अहिले किशोरीहरू १२ वर्षमै प्रजननका लागि योग्य हुने गरेका छन् । खानपान, पौष्टिक आहार आदि कारणले अहिले ११/१२ वर्षमै किशोरीहरू महिनावारी हुने गर्छन । प्रविधिको विकास, साथीभाइको सङ्गत आदि कारणले यौनसम्बन्धी चाहना पुरा गर्ने क्रममा हेलचेक्र्याइँ हुँदा गर्भ बस्ने गरेको छ ।

सरकारले लिन चाहने सबैलाई परिवार नियोजनको साधन वा सेवा उपलब्ध गराउने भने पनि त्यति सहज भने छैन । हाम्रो सामाजिक, धार्मिक र पारिवारिक कारणले अविवाहितले परिवार नियोजनको साधन सहज ढङ्गले प्रयोग गर्न पाउँदैनन् । जसका कारण असुरक्षित यौन सम्बन्ध रहँदा गर्भ बस्ने सम्भावना ज्यादा रहन्छ, जसको कारण गर्भपतन बढिरहेको छ ।

अविवाहितले यौनसम्बन्ध नै राख्दैन भन्ने सरकारी सोच नै गलत
प्रसूति रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम भन्छन, सरकारले परिवार नियोजनका साधनका प्रयोगबारे विवाहितलाई मात्रै टार्गेट गर्ने गरेको छ । यसको अर्थ अविवाहित वा नेपालमा आफ्ना यौनसाथी नभएकाले यौनसम्बन्ध नै राख्दैनन् भन्ने सरकारी सङ्केत हो, जुन गलत छ ।

अब सरकारले प्रजनन् उमेरका सबैलाई लक्षित गरी परिवार नियोजनका अस्थायी र स्थायी साधनबारे जनचेतनामूलक कार्यक्रम गर्नैपर्छ । अब ६ कक्षादेखि नै प्रजनन् स्वास्थ्य, यौन र परिवार नियोजनबारे किशोर किशोरीलाई शिक्षा दिनैपर्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्