लाचार नेपाल, नेपालतीर उजाड, भारत भने हराभरा
नेपाल–भारत सिमाना चाररातेबाट नेपालतर्फ हेर्दा रूखहरु मासिएको चिल्लो डाँडा देखिन्छ । फाट्टफुट्ट रूखबाहेक भुइँमा मसिना झार मात्र देखिन्छन् । भएका केही रूखहरू पनि केही वर्ष मात्र टिक्लान् जस्तो देखिन्छ । कहाँ हराए यहाँका हरिया रूख र बहुमूल्य जडीबुटी भनेर यहाँ आउनेले यस्तै प्रश्न गर्छन् ।
फेरि भारततर्फ हेरियो भने एकदम हरियाली देखिन्छ । झांगिएका रूखै रूखले भरिएका छन् । पाँचथर जिल्लाको सीमा क्षेत्र उच्च पहाडी भेगमा पर्छ । जैविक विविधताको धनी मानिएको यो क्षेत्र दिनप्रतिदिन उजाड हुँदै गएको छ । यहाँ पाइने जडीबुटी तथा वन्यजन्तु हराउँदै गएका छन् ।
भारततर्फ हरियाली भएकाले वन्यजन्तु पनि त्यतैतिर सरेको अनुमान छ । भारतले सीमा क्षेत्रमा पर्ने वनलाई संरक्षण गरेर राखेको छ । पश्चिम बंगाल र सिक्किम प्रान्तमा पर्ने यस क्षेत्रमा नेसनल पार्क बनाएको छ । यहाँ रूख काट्न त प्रतिबन्ध छ नै भौतिक पूर्वाधार बनाउनसमेत मनाही छ ।
सिमानामा भएका सडक र सुरक्षा निकायका भवनहरू बाहेक नयाँ निर्माण गर्न पाइँदैन । वन क्षेत्रमा जथाभाबी प्रवेश पनि निषेध गरिएको छ । तर नेपालतर्फको भूभाग भने खुला छ । भारतीयहरू आएर सहजै नेपालका प्राकृतिक स्रोत साधनको उपभोग गर्छन् ।
भारतीय गाडीहरू निर्वाध गुड्छन् । नेपालको वन दिनप्रतिदिन उजाडिँदै गएको स्थानीय रामकुमार राई बताउँछन् । ‘नेपालतीर उजाड देखिँदै गएको छ । यति सुन्दर ठाँउको संरक्षण हुन सकिरहेको छैन,’ राई भन्छन–‘सीमा क्षेत्रमा सरकारी उपस्थिति छैन । घुम्न आउनेहरूको भीड लाग्छ । व्यवस्थित गर्ने निकाय छैन ।’
भारततर्फ सिंहलीला नेसनल पार्क र कञ्चनजंघा नेसनल पार्क बनाएर वनको संरक्षण गरिएको छ । भारतले निकै मेहेनत गरेर जैविक विविधताको संरक्षण गरिरहेको छ । तर नेपालतर्फको वन भने मासिँदै गएको छ । भएका जडीबुटी लगायतका वनस्पती पनि सहजै भारतीय बजारमा पुगिरहेका छन् ।
नेपाली क्षेत्रको जैविक विविधता जोगाउन सरकारी तहबाट कुनै पहल नभएको वन संरक्षणमा क्रियाशील गैरसरकारी संस्था दीपज्योति युवा क्लबका निर्देशक सुनिल बान्तवा बताउँछन् । उनका अनुसार भारतीय क्षेत्रको वनमा पस्न, रूख काट्न, सिकार खेल्न पाइँदैन । तर नेपालको वन क्षेत्रमा भने भारतीयहरूले यस्ता गतिविधि सहजै गर्न पाउँछन् ।
यहाँका सतुवा, बिख, बिख्मा, पाखनवेद, पाँचआंैले, टुड्की, टिमुर, जट्टामसी, लोठेसल्ला, वन लसुन, केन्जो, चिम्फिङजस्ता जडीबुटी जोखिममा पर्न थालेका छन् । रेडपाण्डा लगायतका वन्यजन्तुको चोरीसिकार हुन्छ । नेपाल तर्फका सुरक्षा पोस्ट सीमा क्षेत्रदेखि निकै टाढा छन् । प्रहरी र स्रोत साधनको अभाव छ ।
सीमा क्षेत्रको अनुगमन हुँदैन । विशेष अवस्थामा मात्र सुरक्षाकर्मी सीमा क्षेत्र पुग्छन् । सन्दकपुरदेखि तिम्बु पोखरीसम्म यस्तै अवस्था छ । संरक्षणमा जिल्ला वन कार्यालयलको ध्यान पुगेको छैन । सुरक्षा पोस्टहरू छैनन् । उता भारततर्फ भने प्रत्येक ६ किलोमिटरमा सुरक्षा पोस्ट छन् । भारततर्फ नयाँ घर बनाउन पाइँदैन ।
पाँचथरको नेपाल–भारत सिमा क्षेत्र । उजाड देखिने भाग नेपालतर्फको, हराभरा देखिने जंगल भारतको ।
यता आएका पर्यटकहरू नेपालका डाँडाहरूमा टेन्ट टाँगेर बस्ने गरेका छन् । भारततर्फ भने वन क्षेत्र बढेको बढ्यै छ । नेपालतर्फ भने घटेको घट्यै छ । केही वर्षअघि भारतीय आएर रेडपाण्डा पक्रेर लैजाँदै गर्दा स्थानीयले लखेटेका घटनासमेत सार्वजनिक भएको थियो ।
पाँचथर जिल्ला प्रहरी कार्यालयले तीन चरण गरेर सीमा क्षेत्र अवलोकन गर्दा गत जेठमा १६ सीमा स्तम्भ हराएको पाइएको थियो । एक सय १३ वटामध्ये ९७ वटा सीमा स्तम्भ मात्र भेटिएको थियो । हराएका १६ सीमा स्तम्भमध्ये चार वटाका मात्र डोब भेटिएको बाँकी १२ वटाको नामनिसान नपाइएको बताइएको थियो ।
सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भनिए पनि सीमाभन्दा टाढा राख्न खोजिएको बुझिएको छ । सीमा क्षेत्रका दुई ठाउँमा सुरक्षा पोस्ट राख्न सरकारलाई अनुरोध गरिरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिएका छन् । चिवाभञ्याङमा सर्वपक्षीय टोली गएर अवलोकन गरिएको पनि उनले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्