खोई मरिसकेको हुँ जस्तो लाग्छ तर, जीवितै रहेछु
‘मरेर बाँचेका’बडिकेदार गाउँपालिका–२, छेडाका चक्रबहादुर मटेली(५४)को मन डेढ दशक यता दिनहुँ मरिरहन्छ । मान्छेले देखाएको ‘बर्बर’ रूपको झल्कोले उनलाई बारम्बार सताउँछ । जसको उनलाई अझै विश्वास नै लागिरहेको छैन ।
उनलाई ती सब कुरा सपनाझैँ लाग्छन् । तर, घटना वास्तविक नै हो । घटनाबाट उनी संयोगले बाँचेका हुन् । मार्नलाई तीन गोली उनको शरीरमा दागिए । उनी ढले । ‘खै मरिसकेको हुँ जस्तो लाग्छ । तर, जीवितै रहेछु,’ उनी सम्झन्छन् ।
ठ्याक्कै १६ वर्षअघि २०५९ वैशाख १९ गतेको घटना थियो त्यो । त्यो दिन मटेलीका लागि मात्रै होइन, पूरै छेडागाउँबासीका लागि अभिशाप बनेको थियो । आसपासका अन्य धेरै गाउँबासीले पनि अँझै त्यो दिन बिर्सेका छैनन् ।
तत्कालीन ‘शाही नेपाली सेना’ले गाउँमा जुन ‘ताण्डव’ मच्चायो, त्यसले पूरै भेगलाई खल्बल्याइदिएको छ । त्यो दिन सेनाले पाँच सर्वसाधारणको निर्मम हत्या ग¥यो, मटेलीलाई तीन गोली दागेर ‘र्मयो’ भनेर छाड्यो । अन्य स्थानीय महिला, वृद्धवृद्धा, बालबालिकामाथि क्रुर र अमानवीय यातना दियो । घरहरूमा आगो, बम र गोलीहरू बर्सायो । त्यसयता छेडागाउँ विक्षिप्त छ ।
गाउँमा तत्कालीन विद्रोही नेकपा(माओवादी)को कार्यक्रम थियो । ‘२०५८ फागुन ४ गते भएको मंगलसेन आक्रमणबाट फर्किएका छापामार र पार्टी नेताहरूको मिलन कार्यक्रम’ रहेको सुक्ष्म हल्ला थियो । उता वर्षाका कारण पाखो जमिनले चिस्यान पाएपछि स्थानीय किसान धान छर्न व्यस्त थिए ।
एकाएक गाउँमाथिबाट ‘ड्याङडुङ’ आवाज आयो । गोली चल्यो । बम पड्कियो । विद्रोही माओवादीहरूको भागदौड सुरु भयो । असिना परेजसरी गोलीको वर्षा भयो । ‘माओवादीको कार्यक्रम स्थलमा चलाइएका गोली हाम्रा घरबारीसम्म पुगे,’ स्थानीय खिमादेबी मटेली सम्झिन्छिन, ‘घरका पाखा(छल), केराका थाम, जताततै गोली बर्से । धन्न, संयोगले हामीलाई लागेन ।’
उता एकजना सैनिक बन्दुक ताक्दै दौडेर खेतमा काम गरिरहेका किसानतिरै आयो । ‘हामीहरू काम छाडेर चुपचाप उभिरहेका थियौं । के गर्ने ? केही सोच्नै सकेनौ,’ घटनाका घाइते चक्रबहादुर मटेली गुनासो गर्छन्, ‘हामी माओवादी थिएनौँ । त्यसैले नमार्ला भनेर उभिरह्यौ ।’ उसले सेटबाट थप दुईजना बोलायो ।
तीनै जनाले मटेली सहित छ जनालाई कब्जामा लियो । जसमा रणबहादुर चन्द, उनका छोरा टेकबहादुर चन्द, भाइ दलबहादुर चन्द, भतिजा लोकेन्द्रबहादुर चन्द र साविकको बर्छैन गाविस–८, पुड्केपानीका डबलबहादुर सार्की (उनी त्यो दिन गोरु खोज्दै छेडा आएका थिए) थिए ।
‘हामीले जनता हौँ, भनेर छोडिदिन आग्रह र्गयौँ,’ मटेली सम्झन्छन, ‘मंगलसेन आक्रमण गरेर यता आउने, माओवादी पाल्ने र अहिले जनता भनेर उम्कन खोज्ने ? तिमिहरूलाई छोड्दैनौं भनेर गाली गरे ।’
उनीहरूले धेरै अनुनय विनय गर्दापनि सेनाले असभ्य भाषामा गाली गरिरह्यो । माथि कान्लामा र्पुयाएर लाइन लगाउँदै एकजना सैनिकले सबैलाई ‘भाग’ भन्यो । ‘हामीहरू जनता हौं सर, भाग्दैनौँ भनेर भन्यौं,’ मटेली सम्झन्छन् । त्यसपछि सबैलाई धमाधम गोली हानियो ।
सबै ढले । तत्काल ढलेका मध्ये मटेली बाँचे, बाँकी पाँचै जनाको मृत्यू भयो । घटनामा २२ जना माओवादी विद्रोही मारिएको पुष्टि भयो । तर माओवादी वृत्तमा भने ठूलो मात्रामा ‘हताहती’ भएको चर्चा सुनिन्छ । तीमध्ये धेरैले भीरबाट हामफाल्दा ज्यान गुमाएका थिए ।
सोही घटनामा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्ट भने भागेर ज्यान जोगाउन सफल भएका थिए । घटनापछि छेडा गाउँ छिन्नभिन्न भयो । सेनाको त्यो ताण्डव नृत्यपछि छेडाबासीले गाउँ छाडे ।
‘पाकेको खाना भान्सामै रह्यो, सुकाउन राखेको बिस्कुन त्यस्सै छाड्यौं, जोतेका गोरु उस्तै रहे, घरका ढोकासमेत बन्द गर्न नसकेर सबैले गाउँ छाड्यौं,’ खिमादेबी त्यो दिनको त्रासदी सम्झन्छिन्, ‘महिनौसम्म घर छाड्यौं । घटनाको पाँच÷सात दिनपछि मात्र दिउँसो पुरुषहरु गएर सामल ल्याएर आउँथे ।’
सबै गाउँलेहरू छिमेकी गाउँमा रहेका आफन्त, नातागोताकोमा पुगेर आश्रय लिए । ‘ज्यान जोगाउनै हम्मेहम्मे थियो । कतिबेला को आएर मारिदिने हो कुनै ठेगान थिएन,’ स्थानीय तुलाराम मटेली स्मरण गर्छन, ‘घर, श्रीसम्पत्ती भन्दा ज्यानको मायाँ धेरै हुने नै भयो । त्यसैले गाउँ छाडेर गयौँ ।’
तत्कालीन शाही नेपाली सेनाले आफूहरूलाई लाइन लगाएर गोली हानेको स्थान देखाउँदै घाईते चक्रबहादुर मटेली ।तस्बिरः अरूण बम/ नागरिक
दुई वर्षपछि घटनामा मारिएका लोकेन्द्रबहादुर चन्दकी श्रीमती निर्मलादेवी चन्द पनि सेनाकै गोलीबाट मारिइन् । चन्दका तीन सदस्यीय परिवार छेडा छाडेर माथि लेक(खड्यौली)मा बस्थे । निर्मला नन्द, सासु र काखे बालक (प्रकाश)को साथमा बस्थिन् ।
२०६१ जेठमा गएको सेनाको गस्तीले घरभित्र पसेर काखमा प्रकाश लिएर बसिरहेकै बेला गोली प्रहार र्गयो । निर्मलाको घटनास्थलमै मृत्यू भयो । बालक प्रकाशको खुट्टामा चोट लाग्यो ।
घटनामा मारिएका लोकेन्द्र बहादुर चन्दकी पत्नी निर्मला पनि मारिएपछि छोरा प्रकाश डेढ वर्षमै टुहुरा भए । उनी डेढ दशकदेखि नै संस्थागत आश्रयमा छन् । लोकेन्द्रकी आमा पानादेवी चन्द कैलाली सिम्रानामा माइतीको अश्रयमा छिन् ।
बहिनीले बिहे गरिसकिन् । मृतक दलबहादुर चन्दको परिवार घटनापछि अझै गाउँ फर्किएको छैन । उनको परिवार खड्यौलीमा बसिरहेको छ । रण बहादुर चन्दका जेठा छोरा कर्णबहादुर चन्दको परिवार भने केही वर्षयता गाउँ फर्किएको छ ।
‘अन्त कतै जाने ठाउँ नै भएन । परिवारका लागि ओत चाहिँदो रहेछ,’ उनले भने, ‘त्यसैले फर्किएँ । तर मन भने भतभति पोलिरहन्छ ।’ तल्लो छेडामा पनि घटनाका दिनदेखि गाउँ छाडेका अधिकत्तर परिवार फर्किएका छैनन् ।
कोही भारतमै जीविका चलाइरहेका छन् भने कोही कैलालीतिर व्यवस्था गरेर बसे । नसक्नेहरू भने बाध्य भएर गाउँमा फर्किएका छन् ।
नागरिक न्युजबाट साभार गरिएको
फेसबुकबाट कमेन्ट गर्नुहोस्