सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

१२ बर्षमै आमा बन्न लागेकी बालिका अस्पताल भर्ना

१२ वर्षमै आमा बन्न लागेकी मकवानपुरको राक्सिराङकी बालिकाको उपचारका लागि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । गर्भवती बालिकाको सुत्केरी अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १२ वर्षीया बालिका गंगा चेपाङलाई सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन वमोजिम आज मंगलबार काठमाडौं ल्याइँदैछ । प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार गर्भवती बालिकालाई गाँउपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङले सोमबार वेलुका हेटौडा अस्पतालमा ल्याएका छन् ।

हेटौडा अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन् । चार कक्षामा अध्ययन गर्दागर्दै उनले गाँउकै चेपाङ किशोरसँग गत वर्ष प्रेम विवाह गरेकी हुन् । उनी गर्भवती भएको सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको हो ।

आमाबुबाको काखका लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । चञ्चल अनि साथीभाइसँग यताउती पुगेर रमाइलो गर्नुपर्ने र पढ्नुपर्ने उमेर । तर, भागेर बिहे गरेकी उनी १२ बर्षकै उमेरमा आमा बन्ने तयारीमा छिन । २०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग उनको भागी बिहे भएको हो ।

कक्षा–४ मा पढ्दै गरेकी गंगा चेपाङ र ३ कक्षामा पढ्दै गरेका उनका पतिको बिहेपछि पढाइ छुट्यो । गंगा, राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका पति कैलाश–७ मा पढ्थे ।

मकवानपुरको अतिबिकट राक्सिराङ–३, औलेस्थित माइती आएको बेला गंगाले १२ वर्षमै गर्भवती भएको कुरा लुकाउन खोजिन् । उनले आफू १५ वर्ष पुगेको भन्दै ढाँट्न खोजे पनि उनी पक्रिइन् । उनकी आमा राममायाले भनिन्–‘२०६३ सालमा जन्मेकी हो यो ।’

मामाघर जाँदा चिनजान भएका केटासँग ‘मन मिलेपछि’ तत्काल बिहे गर्ने सोच बनाए । चिनजान र मन परापर भएको २ महिना नबित्दै बिहे गरेकी गंगालाई आफूसँगैका साथी खेल्ने र रमाइलो गर्ने गरिरहँदा उनी भने ठूलो पेट लिएर लाज मानेर बस्नुपरेको छ । उनले ‘बिहेवारि बीस वर्षपारि’ भन्ने नारालाई चुनौती दिएकी छन् ।

कलिलो उमेरमा बिहे गरेकोमा उनलाई पछुतो भने छ । तर, कलिलो उमेरमा बिहे गर्नुहुन्न भनेर सम्झाउने कोही भएनन् भन्छिन् उनी । ‘बिहे गरे पनि कसैले यसरी बिहे गर्न हुँदैन भनेर सम्झाएन,’ गंगाले भनिन्–बिहे भइहाल्यो, पढाइ पनि गयो ।

गंगाकी जुम्ल्याहा बहिनी जमुना स्थानीय सूर्याेदय माविको ६ कक्षामा अध्ययनरत् छिन् । उनले दिदीले भागेर बिहे गरेकोमा अचम्मित भएको बताइन् । उनलाई दिदीको पढाइ बिग्रेकोमा चिन्ता छ ।

गाउँमा १२ वर्ष उमेरमै गर्भवती भएको घटना आफूले पहिलोपटक पाएको सरिखेत स्वास्थ्य चौकीकी अनमी सन्तोषी अधिकारीले बताईन । बालविवाह र प्रजनन् स्वास्थ्य समस्या बिकराल रहेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँमा अभियानकै रुपमा बाल विवाहविरुद्ध कार्यक्रम सञ्चालन गरिने बताए ।

यो त एक प्रतिनिधिमूलक घटनामात्र हो । मकवानपुरमा २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती हुने क्रम बढ्दो देखिएको छ । हेटौंडा अस्पतालमा सुत्केरी गराएका महिलाको तथ्यांकले यस्तो देखाएको हो ।

हेटौंडा अस्पतालको तथ्यांकअनुसार पुसमा २० वर्षमुनिका २६ किशोरी आमा बन्दा माघमा २० जना किशोरी आमा बने । किशोरी आमाहरु अधिकांश जनजाति समुदायको रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

सानै उमेरमा गरिएको बिहे अपरिपक्व अवस्थामा सुत्केरी हुँदा शिशु र आमा दुवैको स्वास्थ्यमा नकारात्मक असर देखिन्छ । किशोरीको शारीरिक अवस्था विकास हुने अवस्थामा बच्चाको विकास राम्रो हुँदैन । शारीरिक तथा मानसिक रुपमा अपरिपक्व भएका आमाले गर्भाधारण गर्नुले ठूलो समस्या ल्याउन सक्ने खतरा बढाएको स्वास्थ्यकर्मीले स्पष्ट पारेका छन् ।

सानो उमेरमा आफूखुसी बिहे गर्ने प्रचलनले पछ्रिल्लो समयमा २० वर्षमुनिका गर्भवतीको संख्या वृद्धि गरेको हो । सानै उमेरमा बिहे गर्दा महिलाको पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुनेलगायत पाठेघर सम्बन्धि रोगहरु देखापर्छन् । यसले पछिसम्म आमा र बालबालिकालाई असर गर्छ ।

२० वर्षभन्दा कम उमेरका किशोरी सुत्केरी हुनुले ठूलो घटना घट्नसक्ने खतरासमेत बढाएको छ । उमेर नपुगी गर्भवती हुँदा महिलामा पाठेघरबाट पानी बग्ने, पाठेघर दुख्ने, रक्तश्राव हुने, पाठेघर खस्ने लगायत समस्या देखिन्छ । सानो उमेरमा अर्थात् शारीरिक र मानसिक दुवैरुपमा आमा बन्न तयार नभएर गर्भवती हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पुग्नसक्छ ।

आधुनिक अवस्थामा जसरी समाज परिवर्तन भइरहेको छ, त्यसले २० वर्षभन्दा कम उमेरमा बिहे गर्नेको संख्या बढाएको छ । सानो उमेरमा नै आफूखुसी बिहे गर्ने र बिहे गरेको ६ महिना नबित्दै गर्भवती हुने क्रम मकवानपुरमा बढेको छ ।

अपरिपक्व आमालाई गर्भावस्था सम्बन्धि जटिलता, समय नपुगी शिशु जन्मने, धेरै समय सुत्केरी व्यथा, शिशुको तौल कम हुने, स्वस्थ्य शिशु नजन्मने, शल्यक्रिया गर्नुपर्ने अवस्थालगायत समस्या देखिनसक्छ ।

अशिक्षा, गरिबी, अन्धविश्वास र कतिपय जातीय मान्यताले १३ वर्षदेखि नै बिहे गर्ने प्रचलन छ । सानै उमेरमा बिहे गर्ने चलन र परिवार नियोजनका साधन प्रयोग नगर्नाले गर्भवती किशोरीको संख्या बढेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्