सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाह्र बर्षीय आमा, छोरीलाई हेर्छिन अनि लजाउँछिन

नातिनी जन्माएकी बाह्र वर्षीया छोरीलाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन, राममाया । तीन दिन अघि छोरी गंगामायाले नातिनी जन्माइन् । बज्यै बनेकोमा खुशी छन् । कलिलै उमेरमा सन्तान जन्माएकी छोरीको हेरचाहमा उनी जुटेकी छन् ।

मकवानपुर, राक्सिराङ गाउँपालिका–७ मा घर छ उनको । ‘काठमाडौंबाट पन्ध्र सय रुपैयाँ बस भाडा लाग्छ’, नातिनी खेलाउँदै राममायाले भनिन, ‘मैले सत्र वर्षमा छोरा जन्माएँ । छोरीले बाह्र वर्षमै छोरी जन्माइ ।’

पुस १८ गते जन्मेकी नवजात शिशुको तौल २ किलो ९ सय ग्राम छ । चार कक्षासम्म पढेकी गंगामाया छोरीलाई हेर्छिन् । मुसार्छिन् । आफैं लजाउँछिन् । मुस्काउँछिन् । शल्यक्रिया गरी शिशु जन्माएका कारण उनलाई उठ्न समेत सकस छ ।

गंगामायाकी आमा राममायाले भनिन्–‘दूध खुवाउन सकेकी छैन । आमाको दूध खान नसकुन्जेल दूधदानीमा यै (सेरलेक्स) खुवाउने हो ।’ सुत्केरी गंगामायाले भने हर्लिक्स र जाउलो खान थालेकी छन् ।

परोपकार प्रसुति गृहको क्याबिन नं ५ मा बालिका गंगामायाले शिशु जन्माएपछि सोध्दै जानेहरू बढेपछि नर्सहरू पनि हैरान छन् । एक नर्सले भनिन्–‘यति सानो उमेरमा बच्चा जन्माएको देखेर हामीलाई आश्चर्य लाग्यो । अहिले आगन्तुकहरू आउन थालेपछि क्याबिनमा लैजान अप्ठेरो भएको छ ।’

उनी कलिलै उमेरमा गर्भवती भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले चासो दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई सम्पर्क गरी उद्धार र उपचार गर्न चासो देखाएको थियो ।

‘जीवन जोखिममा पर्ने स्थिति थियो । बालिका र नवजात शिशुको जीवन संकटमा पर्ने अवस्था देखेपछि उद्धार गरी काठमाडौं ल्याइएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भनेका छन् ।

गंगामायालाई एम्बुलेन्समा ल्याई परोपकार प्रसूति गृहमा भर्ना गरिएको थियो । भर्नाका बेला चाँजोपाँजो मिलाउन प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर आफैं खटिएका थिए ।

गरिबीका कारण चार कक्षा पढ्दा पढ्दै स्कुल जान छाडेकी गंगामाया घाँस काट्ने र बाख्रा चराउने काम गर्थिन । गत माघ ७ गते मामाघर गएकी गंगामाया फर्केर आइनन् । १९ वर्षिय रन्जित प्रजाले फकाएपछि उनी कसैलाई थाहा नदिइ भागिन ।

‘टीकाटालो भइ सकेछ । बल्ल हामीले थाहा पायौं । छोरा छोरीमाथि बाबुआमाको मायाजाल मात्र हो’, राममायाले स्मरण गरिन् । २० वर्षभन्दा सानो उमेरमा विवाह गर्न नपाइने कानुनी प्रावधान छ । तर, परिवारले मान्यता दिए । केही दिनपछि श्रीमान् रञ्जितले वेवास्ता गर्न सुरु गरे ।

श्रीमान्को अर्कै पत्नी भएको उनले थाहा पाइन् । आफू दोस्री भएको थाहा पाएपछि दुखित हुँदै माइती फर्किन । गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा कलिलैमा विहे गर्ने र समय नपुग्दै आमा बन्ने क्रम अहिले पनि छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्