सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जनतालाई पिउने पानी छैन्, सरकारको बजेट फ्रिज

लाली घर्तीले डोकामा पानी बोक्न थालेको ५५ वर्ष भयो । पानी जोहो गर्न डोको र नाम्लोकै भर छ । झिसमिसेमा उठेर डोकोमा रित्तो गाग्री राखेर पँधेरोमा पुग्छिन् । पुग्नेबित्तिकै पालो पाइँदैन । एक घण्टा टाढाबाट एक गाग्री पानी ल्याएपछि मात्र उनी बाँकी काम थाल्छिन् ।

‘बिहे भएर यहाँ आएदेखि पानी बोक्न छुटेको छैन,’ ७३ वर्षीया लाली भन्छिन्  । प्यूठान मल्लरानी गाउँपालिका–२ रातीपोखरी, साविकको चुजा गाविस १, ८ र ९ वडाका २ सय ७० घरधुरी एउटै पँधेरोमा निर्भर छन् ।

‘सबैले पानी भर्ने एउटै पँधेरो हो । सधैं भीड हुन्छ,’ लालीले भनिन्, ‘पालो कुरेर एक गाग्री पानी घरमा ल्याउन एक घण्टाभन्दा बढी समय लाग्छ ।’ स्थानीयवासीको मुख्य समस्या पानी हो ।

नेताहरूले चुनावका बेला घरघरमा पानीका धाराको आश्वासन पछिल्लोपल्ट पनि दिए । चुजा, रातीपोखरी, टाकुरी बस्तीका बासिन्दाले पानीको दुःख पार्टीसँग बिसाउन छाडेका छैनन् । त्यही भएर पार्टी पनि बदल्ने गरेका छन् ।

पानीकै कारण चारवटा पार्टी फेरिसकेको स्थानीय कृष्ण सार्कीले खुलाए । ‘पानी ल्याइदिन्छु भन्नेलाई हरेकपल्ट भोट हाल्दाहाल्दा चारपल्ट चिह्न बदलिसक्यौं,’ उनले भने ।

गाउँमा पानीमात्र नआएको हो, माध्यामिक विद्यालय, मोटरबाटो, बिजुली आइसक्यो । तर पानी नहुँदा बस्तीमा मुख्य कुरै भएन । मोटरबाटो निर्माणका क्रममा पँधेरो पुरिएकाले पानी झन् सानो हँुदै गएको छ । मोटरबाटो आयो पानी गयो भनेजस्तो भएको छ ।

बिहे गरेर चुजा आएदेखि पानीको सास्ती भोग्न थालेकी लक्ष्मी पौडेल ६० वर्षकी भइन् । अँझै डोकोमा निर्भर छिन् । उनी भन्छिन्, ‘गाउँ अगुवाले यसपाला फलानो पार्टीलाई भोट दिनुपर्छ भन्छन्, पानी आउने आसमा भोट दिन्छौं, चुनाव जितेपछि फर्केर हेर्दैनन् ।’

पँधेरामा पानी भर्न हरेक दिन मेला लागेझैँ भीड हुन्छ । गाउँमा सरसफाइ अभियान चलाउन सकिएको छैन । ‘पानी नभएपछि विद्यालयमा शौचालयसमेत बन्द गर्नुपर्ने अवस्थामा छन्,’ चुजा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर केसी भन्छन् ।

उनका अनुसार चाहने हो भने पानी तान्न सकिन्छ । त्यसका लागि पँधेराको पानी लिफ्ट गरेर घरघरमा पानीका धारा पुर्याउन बजेटमात्र निकासा हुनुपर्ने छ । २०४८ सालमा मल्लरानी–१ को भुल्केबाट पाइपलाइन लिएर गाउँमा १३ सार्वजनिक धारा निर्माण भएका थिए ।

बुकेनी खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष रुमानसिंह नेपालीका अनुसार २ सय ७० घरलाई बनेका ती धारामा पानी आउन छाड्नुको कारण आयोजना जीर्ण हुँदै जानु हो । त्यही भएर हिजोआज पँधेराकै पानीले गुजारा चलेको छ । सबैको उही एउटै धारो प्यारो बनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्