सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रेमीसँग लिभिङ टुगेदरमा बसेकी सोनियाको हत्या

प्रेमीसंग ९ महिनादेखि लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको खुलासा भएको छ । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको पाइएको छ ।

प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् । डिएसपी श्रेष्ठले भनेका छन्–‘हत्या गरेको स्वीकार गरिसकेको छ । करिब अनुसन्धान सकियो ।’

विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । डीएसपी श्रेष्ठका अनुसार लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए । सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् ।

लालबहादुर विदेश हुँदा सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । उनी स्वदेश फर्किएपछि एउटै डेरामा बस्दै आएका थिए । उनीहरुबीच लेनदेनको बेला बेलामा विवाद हुने गरेको प्रहरीको भनाइ छ ।

सोही विवादका क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताएका छन् । डिएसपी श्रेष्ठले भने–‘लालबहादुर विदेशबाट आएर इटहरीमा बसेको हो । केही रकम सोनियालाई दिएको रहेछ । हिजोको घटना मदिराकै कारण भएको देखिन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्