लिम्पियाधुरासम्म नेपालः भुमी रक्षार्थ सबै एकमत
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले लिम्पियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । र, कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
भारले हालसालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभागलाई भारतीय भूमिका रुपमा देखाएपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ । यसबारे साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका प्रतिनिधिहरको सर्वपक्षीय बैठक बोलाएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी क्षेत्रसम्म नेपालको भूभाग भएकाले त्यसलाई फिर्ता लिन सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्–‘यसका लगि सरकारलाई हाम्रो पूर्ण साथ रहनेछ ।’
बैठकमा सहभागीहरुले कालापानी क्षेत्रसम्म नेपाली भूभाग हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् । अहिलेसम्म सरकारले लिएको अडान सही भएको भएपनि वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै उनीहरुले तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् । बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भनेका छन्–‘विवाद र छलफलमा रहेको विषय भारतले किन यस्तो र्गयो भनेर नेपालले सोध्नुपर्छ, वक्तव्य मात्र दिएर हुँदैन ।’
बैठकको अन्त्यमा प्रधानमन्त्री ओलीले महाकाली नदीको उद्गम कुटीयाङ्दी नदी नै नेपाल भारतको सीमा भएको पाप्त प्रमाणहरुले पुष्टि गर्ने भएकाले लिम्पियाधुरासम्म नेपाली भूभाग भएको अडान सरकारले लिने बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकले सार्वभौमसत्ताको मामिलामा अभूतपूर्ण राष्ट्रिय सहमति प्रकट भएको बताएका छन् । उनले भने–‘बैठकमा सबैको एउटा स्वर छ, कालापानी क्षेत्र, जसभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा पर्छ । यो निर्विवाद नेपाली भूमि हो ।’
उनले अघि भने–‘महाकाली नदीको उद्गम कुटियांदी नदी हो । नेपालको सीमा त्यहाँसम्म पर्छ ।’ उनका अनुसार सार्वदलीय बैठकमा प्रकट भएको मतकै आधारमा सरकारले तत्काल भारतसँग सम्वाद गर्नेछ । मन्त्री ज्ञवालीकाअनुसार यसका लागि दुई देशबीच नेपाल भारत संयुक्त सीमा कार्यदल, परराष्ट्र सचिवस्तरीय संयन्त्र र मन्त्रीस्तरको आयोग छ । तर सीमा कार्यदलले कालापानी लगायतका विषयमा सम्वाद गर्न सक्दैन । त्यसैले सरकारले अब कुन संयन्त्र मार्फत सम्वाद गर्ने भन्ने टुंगो लगाउनेछ परराष्ट्रमन्त्री ज्ञवालीले भने–‘आवश्यक पर्दा प्रधानमन्त्री स्वयंमले आफ्नो समकक्षीसँग वार्ता गर्न सक्नुहुन्छ ।’
प्रधानमन्त्री ओलीले डाकेको सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रमुख, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद् र सरकारका मन्त्रीको समेत सहभागिता थियो । ओलीले आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई दायाँबायाँ राखेर सुझाव लिएका थिए ।
राजनीतिक दलका प्रमुखहरू सर्वपक्षीय बैठकमा भाग लिन आफ्ना दलका वरिष्ठ नेता र सहयोगीका साथ बालुवाटार पुगेका थिए । अपराह्न ४ बजे सुरु भएको बैठक राति ९ बजेसम्म चलेको थियो । सर्वपक्षीय बैठक हुनुअघि प्रधानमन्त्रीले कांग्रेसका नेताहरूसँग भारतको नयाँ नक्साले उत्पन्न गराएका सीमासम्बन्धी विवादका विषयमा छुट्टै वार्तासमेत गरेका थिए ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वपक्षीय बैठकबाट सिंगो राष्ट्र एक भएको सन्देश आएको बताए । यसले भारतसँगको सीमासम्बन्धी विवादलाई हल गर्ने चुनौतीसँगै अवसरसमेत प्रदान गरेको उनले बताए । ‘राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम जनता एक भएका बेला सीमा विवाद समाधान गर्न कूटनीतिक पहलबाट दृढतापूर्वक सरकार उभिनुपर्छ भन्ने सुझाव सबै पक्षबाट आएको छ,’ नेम्वाङले भने, ‘प्रधानमन्त्रीले पनि दृढतापूर्वक तलमाथि केही नभनी समाधानका लागि अघि बढ्ने बताउनुभएको छ ।’ उनले प्रधानमन्त्रीले लिम्पियाधुरा, कालापानी र लिपुलेकका साथै भारतसँगका सबै सीमा विवाद हल गर्ने गरी कूटनीतिक पहल थाल्ने जानकारी गराएको बताए ।
भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी तथा लिपुलेकलाई समेत पारेपछि मुलुकभर चर्को विरोध भइरहेको छ । भारतले जारी गरेको एकपक्षीय नक्सा मान्य नभएको विज्ञप्तिमार्फत सरकारले दृष्टिकोण सार्वजनिक गरिसकेको छ । भारत सरकारले भने नयाँ राजनीतिक नक्सा गलत नभएको धारणा दोर्होयाएको छ ।
भारत सरकारबाट आएको प्रतिक्रियाले उच्चस्तरीय राजनीतिक तहमा संवाद नभई सीमा विवाद हल गर्न नसकिने निष्कर्षमा समेत नेताहरू पुगेका छन् । सहभागी दलका नेताहरूले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनको विषयलाई समेत उच्च तहमा उठाउन सुझाव दिएका छन् । दुई देशबीचको सन् १९५० को सन्धि पुनरावलोकन लगायत विषय समेटेर ईपीजीले धेरै अघि प्रतिवेदन तयार पारे पनि भारतले बुझ्न आनाकानी गर्दै आएको छ ।
बैठकमा सहभागी समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सीमा विवादको समाधान गर्न राजनीतिक तहको उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् । उनले भारतका प्रधानमन्त्रीसँग पहल गरेर ईपीजीको प्रतिवेदनलाई छिटो ग्रहण गर्न र प्याकेजमा सबै कुराको हल गर्नसमेत प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
‘सीमासम्बन्धी विषय वार्ताद्वारा नै हल गर्नुको विकल्प अहिले हामीसँग छैन । भारत र बंगलादेशबीचमा पनि लामो समयसम्म सीमासम्बन्धी विवाद थियो । उनीहरूले हल गरेर अहिले दुवैका पक्षबीच शान्ति कायम छ र आर्थिक कारोबार बढेको छ,’ भट्टराईले भने, ‘बंगलादेशले भारतबाट ठूलो आर्थिक लाभ लिइराखेको अवस्था छ । हामीले पनि भारतसँग लामो समयसम्म यस्ता सीमासम्बन्धी विवाद कायम राखेर तिक्तता बढाउनुभन्दा वार्ताद्वारा हल गर्न विशेष ढंगले पहल र्गयौं भने सम्भव छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री कमल थापाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो कि होइन भन्ने प्रश्न नै बैठकमा नउठेको बताए । ‘राष्ट्रिय मुद्दामा सिंगो मुलुक एकजुट भएका बेला कालापानीबाट भारतीय सेना फिर्ता पठाउने र नेपाली भूभाग फिर्ता ल्याउने यो उपयुक्त अवसर हो,’ बैठकपछि थापाले भने ।
उनले सीमा समाधानका लागि परराष्ट्र सचिवस्तरको नेपाल–भारत संयुक्त आयोगको बैठक तत्काल बोलाउनुपर्ने मागसमेत बैठकमा आएको जानकारी दिए । प्रधानमन्त्रीले सीमासम्बन्धी अध्ययन र प्रमाण बुझ्नका लागि बैठकमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, सूर्यप्रसाद उपाध्याय, पुण्यप्रसाद ओलीलाई समेत डाकेका थिए । पूर्व तथा वर्तमान परराष्ट्रमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत बैठकमा सहभागी थिए ।
सीमाविज्ञहरूले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक नेपालको हो भन्ने पहिलो प्रमाण सुगौली सन्धि नै रहेको बताएका थिए । सुगौली सन्धिमा नेपालको सीमा महाकालीको पश्चिम भाग उल्लेख हुनुले नै उक्त भूभाग नेपालको भन्ने पुिष्ट भएको उनीहरूको धारणा थियो ।
‘लिपुलेक नेपालको हो भन्ने प्रस्ट आधार र प्रमाण छन् । सुगौली सन्धिपछि अहिलेको सीमारेखा संकुचन भयो,’ उनीहरूको भनाइ थियो, ‘सुगौली सन्धिलगायत तत्कालीन ब्रिटिस इन्डियाले प्रकाशित गरेको नक्साले पनि प्रस्ट रूपमा उक्त भूभाग नेपालको हो भन्ने देखाउँछ ।’
बैठकमा नेकपा, कांग्रेस, समाजवादी, राष्ट्रिय जनता पार्टी, नेपाल मजदुर किसान पार्टीसहितका राजनीतिक दलका नेतृत्वको सहभागिता थियो । बैठकमा देउवा र दाहालका अतिरिक्त पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पनि उपस्थिति थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्