बेहोसीमा ‘यो देश खारेज गर’ भन्न पुगेछु; हिसिला
प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्को आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै मातृभूमिको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको बताएकी छिन ।
आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी पत्नी यमी लगायतलाई पक्राउ गरेको थियो । त्यसक्रममा यमीले ‘यो देश खारेज गर’ भन्ने नारा लगाएकी थिइन् ।
झण्डै एक घन्टाको ठेलमठेलमा आफू अर्धमूर्छित हुन पुगेको तर, पति डा. बाबुराम भट्टराई लगायतले सम्हालेको उनले पत्रकार सम्मेलनमा बताएकी छिन । लगतै सुरक्षाकर्मीहरुले पक्राउ गर्दा आफूले आवेश र अर्धचेत अवस्थामै नाराबाजी गरेको उनले पत्रकारसँग बताईन ।
नयाँ शक्तिकी अन्तराष्ट्रिय सम्वन्ध विभाग प्रमुख यमीले भनिन–‘त्यसैक्रममा स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा भन्न पुगेछु ।’
नेपाली भाषामा राम्रो दखल नहुनुका साथै आन्दोलनको दबाव, आवेश र बेहोसीमा आदेशलाई अन्यथा भन्न पुगेको भन्दै उनले भनिन, साथीहरुले रोकेपछि मात्र म होसमा आएँ र आफ्नो गल्ती महसुस गरेँ ।’
यो परिस्थिति जन्य घटना भएको भन्दै उनले भनिन–‘बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति म अत्यन्त दुःखी छु । म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु ।’
साथै आगामी दिनमा आफ्नो अभिव्यक्तिमा पूर्ण सचेत रहने समेत नेतृ यमीले बताएकी छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्