सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चन्द्रविर वली, बर्ष ७२, जसले एक्लै खने २ किमी बाटो

chandrabir-oli-makes-2-km-road-alone

केही समयअघि बलिउडमा बनेको चलचित्र ‘माझी द माउन्टेन म्यान’ ले निकै चर्चा कमाएको थियो । बिहारका दशरथ माझीको जीवनीमा आधारित उक्त चलचित्रमा कसरी उनले एक्लै पहाड फोडेर बाटो बनाए भन्ने कुरालाई देखाइएको छ ।

उनको गाउँका वासिन्दाहरु पहाडको बाटो भएर सडकसम्म पुग्नुपर्ने बाध्यता हुन्छ । एक दिन त्यही पहाड चढ्न खोज्दा उनको श्रीमतीको लडेर मृत्यु हुन्छ । श्रीमतीको मृत्यु भएपछि पहाड फोड्न उनी एक्लै लागी पर्छन् । कतिले उनलाई पागल भन्छन् तर सहयोग गर्न आउँदैनन् । तैपनि, अन्त्यमा उनले आफ्नो लक्ष्य पूरा छाड्छन् ।अहिले दाङको तुलसीपुरमा त्यसरी नै एक बृद्धले एक्लै श्रम र पसिना बगाएर झण्डै दुइ किलोमिटर बाटो निर्माण गरेको छन् ।

तुलसीपुर नगरपालिकाको विकट क्षेत्र मानिने खमारीस्थित परेखोलामा बस्दै आएका ७२ बर्षका चन्द्रविर वलीले एक बर्ष लगाएर उक्त बाटो खनेका हुन् । श्रीमतिसहित दृष्टिविहिन ६ सन्तानलाई सडकबाट घरमा र घरबाट गाउँ जान–आउन सहज होस् भन्ने उद्देश्यले बाटो खनेको उनले बताए । उनलाई पनि बाटो निर्माण गरुन्जेल गाउँका एक जना बाहेक कसैले सघाएनन् । तर, अहिले गाउँलेहरु सहर–बजार धाउन त्यही बाटो प्रयोग गर्छन् ।

chandrabir-oli-who-makes-2-km-road

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डको सात तलेदेखि परेखोला हुँदै खमारीको गाउँको तल्लो भेगसम्म वलीले आफै खनेर एक मिटर चौडाइँ र करिब २ किलोमिटर लम्बाइ रहेको बाटो पु¥याएका छन् । ‘बुढो भइगो, अब कति बाँचिएलार हुजुर ! म मरे पनि मेरा अन्धाअन्धी श्रीमति र छोराहरु, मैले खनेको बाटो छामेर गाउँ र तल बाटो सम्म जानआउन सकुन भनेर बाटो खनेको हुँ,’ वलीले भने । विहानीको मिरमिरे उज्यालो भए देखि साँझ झुसमुस नहुँदासम्म उनी अन्कन्टार जंगलमा बाटो खनिरहन्छन् ।

बाटो खन्न सुरु गरेको एक बर्ष बितिसक्दासमेत उनलाई कसैले सघाएनन् । राज्यले त यसको मेसो समेत पाएन ।एकजना स्थानीय जंगबहादुर वलीले मात्र करिब एक महिनासम्मसँगै बाटो खनेर सहयोग पु¥याएको उनले बताए । यहाँसम्मकी उनले राज्यले बाटोका लागि पैसा छुट्टयाउँछ भन्ने कुरा पनि थाहा नभएको बताए । नयाँ खनेको बाटोबाट मोटरबाटो भेटाउन, पुरानो बाटोको तुलनामा अहिले करिब ९ किलोमिटर कम दुरी पर्ने उनको दाबी छ । ‘यसअघि बाटो नहुँदा परेखोलाबाट खमारीको गाउँ उक्लेर मोटरबाटो भेटाउन हर्नेटी जाँदा उत्तिकै गाह्रो र पैसा पनि बढी खर्च हुन्थ्यो अब भने सजिलो भयो’ वलीले भने ।

आर्थिक रुपले निकै कम्जोर उनको दृष्टिविहिन परिवारले वेलामौकामा विभिन्न व्यक्तिले दिनेको गरेको सहयोगले भोको पेट भर्दै आएका छन् । वलीका दृष्टिविहिन छोराहरु केहि समय यता सहरबजारका सडकमा गीत गाएर संकलन भएको रकमले जीवन धान्छन् ।

यता, गोरेटो बाटो समेत नभएको ठाउँमा सजीलै हिड्न सक्ने बाटो बनाए पछि त्यहाँका स्थानियहरु अहिले खुशी भएका छन् । करिब ३५ घरधुरीको संख्यामा रहेका त्यहाँका स्थानीयहरु अहिले बजारमा सामान किनमेल गर्न जाँदा त्यहिबाटो भएर आउनेजाने गरेको रायपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कलीभान रोकाले जानकारी दिए । ‘इन्जिनियरले नक्साङकन गरेको बाटो भन्दा उसले निर्माण गरेबो बाटो कम छैन’ अध्यक्ष रोकाले भने । तर पनि बुढो मान्छेले एक वर्षसम्म श्रम र पसिना बगाएर बाटो खन्दासमेत कसैले वास्ता नगरेको उनले गुनासो गरे ।

यो प्रेरणादायी समाचार ओपेन्द्र वस्नेतले रातोपाटीका लागी लेख्नुभएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्