सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

के कारण बढे एक्कासी जापान जाने विद्यार्थी

विदेश अध्ययनमा जान चाहने विद्यार्थीको चाप यस वर्ष बढेको छ । यसअघिको ‘रेकर्ड ब्रेक’ गर्दै यस वर्ष एकै महिनामा सात हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति तथा व्यवस्थापन शाखाका अनुसार फागुनमा सात हजार दुई सय ९२ विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका हुन् । यीमध्ये आधाभन्दा बढी जापानमा भाषा अध्ययनका लागि जान खोजेका विद्यार्थी हुन् ।

‘अहिलेसम्म नआएको संख्या अनपेक्षित रूपमा बढ्यो,’ शाखा प्रमुख डिल्लीश्वर प्रधानले भने, ‘सबैभन्दा बढी जापानका लागि नो अब्जेक्सन लेटर लगेका छन् । किन यति धेरै आकर्षण भयो भन्ने थाहा छैन । तर, जापानले कोटा बढाएको भन्ने सुनिएको छ ।’

उनका अनुसार अघिल्लो वर्ष फागुनमा तीन हजार पाँच सय विद्यार्थीले नो अब्जेक्सन लेटर लगेकोमा यो वर्ष दोब्बरले बढेको हो । अघिल्ला वर्षमा अमेरिका अध्ययनमा जान चाहने विद्यार्थी संख्या धेरै थियो । तर, फागुनमा २१ जनाले मात्र नो अब्जेक्सन लेटर लगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनान्ड ड्रम्पको आप्रवासी नीति फेरिएका कारण विद्यार्थीले भिसा आवेदन गर्नसमेत छाडेका छन् । नो अब्जेक्सन लेटर लिने संख्याका आधारमा १६औँ स्थानमा अमेरिका छ ।

‘अमेरिकामा डोनान्ड ट्रम्प राष्ट्रपति भएपछि पनि विद्यार्थी भिसालाई कडाइ गरिएको छैन,’ डल्फिन एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध–निर्देशक प्रेम पाण्डेले भने, ‘तर, हल्लाका कारण अध्ययनका लागि आवेदन गर्नेको संख्या कम भएको छ ।’

एकेडेमिक प्रतिशत तथा आइइएलटिएस र स्याटमा राम्रो भएमा छात्रवृत्ति पाइने सम्भावना बढी हुने उनी बताउँछन् ।

यस वर्ष सबैभन्दा बढी फागुनमा सात हजार दुई सय ९२ जनाले नो अब्जेक्सन लेटर लगेका छन् । साउनमा तीन हजार ८३, भदौमा चार हजार चार सय २१, असोजमा दुई हजार ६ सय ६९, कात्तिकमा दुई हजार दुर्य सय ३९, मंसिरमा चार हजार चार सय ३५, पुसमा तीन हजार आठ सय ७९ र माघमा तीन हजार पाँच सय एकजनाले नो अब्जेक्सन लेटर लगेको शिक्षा मन्त्रालयको तथ्यांक छ ।

अध्ययनको बहानामा कामदार बन्दा समस्या
अध्ययनको नाममा कामदार बन्ने उद्देश्यले विभिन्न मुलुकमा गएका विद्यार्थीले समस्या भोग्ने गरेको विदेशस्थित नेपाली राजदूतावासले शिक्षा मन्त्रालयमा जानकारी गराएका छन् । उनीहरूले केही देशका लागि नो अब्जेक्सन लेटर जारी गर्दा जोखिमको मूल्यांकन गर्नसमेत ध्यानाकर्षण गराएका छन् ।

ब्राजिलस्थित नेपाली राजदूतावासले चिलीको एसइके युनिभर्सिटीमा गराइने अध्ययन र तहबारे २० फागुनमा परराष्ट्र मन्त्रालयको युरोप तथा अमेरिका महाशाखालाई पत्राचार गरेको छ । पत्रमा चिली, ब्राजिल तथा अन्य दक्षिण अमेरिकी देशका सन्दर्भमा अध्ययनमा पुगेका विद्यार्थी संकटग्रस्त भएकाले विचार गरेर मात्र अनुमतिपत्र दिनु उपयुक्त हुने सुझाब छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्