सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमालेले जित्ला कि कांग्रेसले वीरेन्द्रनगरको मेयरमा ?

स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा प्रदेश नं. ६ को सम्भावित राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा चुनावी सरगर्मी सुरु भएको छ । वीरेन्द्रनगरमा आसन्न निर्वाचनमार्फत नेतृत्व हत्याउन मुख्य प्रतिस्पर्धी दलहरु चुनावी दौडधुपमा कम्मर कसेर लागेका छन् ।

वीरेन्द्रनगरमा खासगरी कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । उसो त माओवादी केन्द्रले पनि जनमतमा सुधार गरेकाले सम्भावना कमजोर भने छैन । राप्रपा पनि वीरेन्द्रनगरमा आफ्नो शक्ति बलियो देखाउने गरी साथ चुनावी मैदानमा उत्रिएको छ ।

यस्ता छन वीरेन्द्रनगरमा मेयरका आकांक्षीहरु
प्रदेश नम्बर ६ को सम्भावित राजधानीसमेत भएकाले पनि विरेन्द्रनगरको मेयर बन्नका लागी एउटै दल भित्रका धेरै नेताले आँखा लगाएका छन् । धेरै आकांक्षी भएकै कारण कांग्रेस र एमालेले वीरेन्द्रनगरमा मेयरका उम्मेद्वारहरु तत्काल सार्वजनिक गर्न समेत सकेका छैनन् ।

माओवादी केन्द्र भने उम्मेद्वार घोषणा गरेर प्रचार–प्रसारमा लागिसकेको छ । राप्रपा जिल्लामा हाल क्रियाशिल पार्टीका नेता कार्यकर्ता भन्दा सक्षम व्यक्ति कोही पार्टीमा प्रवेश गरे उसैलाई उम्मेदवार बनाउन सकिने भन्दै उम्मेद्वार घोषणा नगरी बसेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि कांग्रेसबाट नगरसभापति देवकुमार सुवेदीको नाम अग्रपंक्तिमा छ । तर, पूर्वजिल्ला कोषाध्यक्ष गोविन्द कोइराला, पुराना नेता डम्बर जीसी र कालीप्रसाद शाक्य पनि अगाडि सर्ने देखिएको छ ।

वीरेन्द्रनगर नगरपालिकामा कांग्रेसलाई सकस हुने मुख्य कारण भनेको पार्टीको आन्तरिक गुट हो । सुर्खेत कांग्रेसमा पूर्णबहादुर खड्का, शेरबहादुर देउवा, हृदयराम थानी र रामचन्द्र पौडेल गुट छन ।

नगरसभापति देवकुमार सुवेदी वीरेन्द्रनगरमा कांग्रेसका चर्चित नेता हुन भने देउवा पक्षका मेयरका सम्भावित उम्मेद्वारहरु सुवेदी भन्दा बरिष्ठ छन् । यदी कांग्रेसले उम्मेद्वार मिलाउन सके सबैभन्दा धेरै मतदाता भएका वडाहरुमा आफ्नो पकड बलियो भएकाले निर्वाचनमा जित्ने सम्भाबना बलियो छ ।

पार्टीकै स्वतन्त्र उम्मेदवारीले कांग्रेसलाई झट्का
वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि सुर्खेतका चर्चित व्यक्तित्व गेहेन्द्रप्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछी कांग्रेसलाई ठुलो झट्का लागेको छ । जिल्लाकै बौद्धिक व्यक्तित्व मानिने दाहालले लामो शैक्षिक सेवाबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिँदा कांग्रेसलाई झट्का लाग्ने विश्लेषण गरिएको छ ।

सुरुमा दाहालले कांग्रेसले नै मेयरको उम्मेद्वार बनाउने आशामा प्रधानाध्यापकबाट राजीनाम दिएका थिए । तर, त्यो सम्भव नभएपछि पार्टीबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । दाहालले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसमा थप अन्योल छाएको छ ।

यसअघिको प्रतिष्ठा गुम्न नदिने एमालेको तयारी
कांग्रेसबाट उम्मेदवार बन्ने अनुमान गरिएका व्यक्तिले स्वतन्त्र उम्मेद्वारी दिएपछि एमालेलाई केही राहत मिलेपनि वीरेन्द्रनगरमा आफ्नो पुरानो साख बचाइराख्नुपर्ने अवस्था छ । एमालेले यसअघि ०४९ र ०५४ मा भएका दुईवटै निर्वाचनमा जितेको थियो ।

वि.स.२०४९ मा एमालेका तर्फबाट पूर्वमन्त्री यामलाल कँडेल मेयरमा निर्वाचित भएका थिए भने ०५४ मा पनि एमालेकै बालाराम शर्मा निर्वाचित भएका थिए । यो इतिहाँसलाई गुम्न नदिन एमाले अहिले दिलोज्यान दिएर लागेको छ ।

अहिले नगरपालिकामा गाभिएका साविकका केही गाविसमा आफ्नो पकट भएकाले पुनः इतिहास दोहोरिने एमालेले अपेक्षा गरेको छ । तर, एमालेभित्र पनि उम्मेद्वारका आकांक्षीहरु धेरै छन् । एमालेबाट मेयरका लागि जिल्ला उपाध्यक्ष अमृत बीसी, युवा नेता कुलमणि देवकोटा, पूर्वमेयर बालाराम शर्मा, अधिवक्ता कृष्णबहादुर हमाल, सहकारी अभियन्ता हरिहरनाथ योगी र युवा नेता पूर्णप्रसाद पौडेलको नाम चर्चामा छ ।

उनीहरु मध्ये पनि उपाध्यक्ष बीसीको सम्भावना बलियो रहेको एमाले स्रोतको भनाइ छ । तर, बीसी र देवकोटामध्ये एकजनालाई उम्मेद्वार बनाए एक पक्षले अर्काे पक्षलाई स्वीकार गर्ने अवस्था नहुने भएकाले एमालेले शर्मा वा योगीलाई अघि सार्ने सम्भावना समेत छ ।

जनजाति र महिला उम्मेद्वार तोक्दै माओवादी चुनावि दौडमा
नेकपा माओवादी केन्द्रले भने वीरेन्द्रनगर नगरपालिकाका लागि मेयर र उप–मेयरका उम्मेदवार घोषणा गरिसकेको छ । नगरमा कमजोर मानिएको माओवादी केन्द्रले यसपटक जसरी पनि आफ्नो पकड बलियो बनाउन भन्दै जनजाति र महिला उम्मेद्वार घोषणा गरेर प्रचारमा लागेको छ ।

माओवादी केन्द्रले मेयरमा रत्न गाहा र उपमेयरमा हरिमाया शर्माको उम्मेद्वारी घोषणा गरेको छ । पार्टीका राष्ट्रिय आयोजक समिति सदस्य रहेका गाहा समाज कल्याण परिषदका पूर्वकोषाध्यक्ष पनि हुन् । यस्तै शर्मा पनि पार्टीका राष्ट्रिय आयोजक समिति सदस्य हुन् ।

माओवादी केन्द्रले एमाले र कांग्रेसमा बागी हुने अनुमान गर्दै फाइदा लिन सकिने आशाले पहिले नै जनजाति र महिलालाई मिलाएर उम्मेद्वार बनाएको बुझिएको छ । १८ प्रतिशत मतदाता जनजाति रहेकाले पनि गाहालाई जनजातिको सहानुभूति आउने माओवादी केन्द्रको अपेक्षा छ ।

एक तेस्रोलिंगीसहित ५१ हजार मतदाता, १७ दल दर्ता
वि.सं. ०३३ सालमा स्थापना भएको वीरेन्द्रनगर नगरपालिका सुरुमा १२ वडा र त्यसपछि २५ वडा हुँदै अहिले स्थानीय तहको पुनरसंरचनासम्म आइपुग्दा १६ वडामा सीमित भएको छ ।

सुर्खेतको मुटुमा रहेको वीरेन्द्रनगर नगरपालिकामा अहिले साविकका लाटीकोइली, उत्तरगंगा, जर्वुटा, गढी, रतु र गर्पन गाविसलाई समायोजन गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको क्षेत्रफल बढेपछि राजनीतिक दलहरुमा अबको निर्वाचनबाट जसरी पनि मेयर हात पार्नुपर्छ भन्ने मनस्थिति देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरमा ५० हजार ७ सय ९९ मतदाता छन् । जिल्लाभरिको मतदाता संख्या भने करिब २ लाख छ । जसमा महिला ९५ हजार ४०५ र पुरुष ८९ हजार ६ सय ४८ छन् भने एकजना तेस्रो लिङ्गी रहेको निवार्चन कार्यालयले जनाएको छ । दोस्रो संविधानसभासम्म सुर्खेत जिल्लाको मतदाताको संख्या एक लाख ५४ हजार ८ सय ११ थियो ।

यस्तो छ सुर्खेतको चुनावी नतिजाको ईतिहाँस
यसअघिका निर्वाचनलाई हेर्ने हो भने एमाले बलियो देखिन्छ । ०४९ र ०५४ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगरमा एमालेका बालाराम शर्मा र ०४९ मा यामलाल कँडेल विजयी भएका थिए । त्यसअघि स्वर्गीय रामबहादुर मल्ल ०३३ देखि ०४३ सम्म नगरपञ्चायतमा निर्वाचित भएका थिए ।

यस्तै ०४४ बैशाखदेखि ८ महिनाको अवधिसम्म पूर्णबहादुर खड्का प्रजातान्त्रिक पक्षबाट निर्वाचित भएका थिए । तर, उनका प्रतिस्पर्धी मानबहादुर खड्काले चुनावमा धाँधली भएको भन्दै अदालतमा पुगेपछि अदालतले मानबहादुरको पक्षमा फैसला गरेको थियो । त्यसपछि मानबहादुरले ०४४ देखि ०४६ सम्म नगरप्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

वि.सं. ०५४ मा ५० गाविस र १ नगरपालिका रहेको जिल्लामा एमालेले ३७ अध्यक्ष र ३८ उपाध्यक्ष, कांग्रेसले १३ अध्यक्ष र १३ उपाध्यक्ष तथा राप्रपाले १ अध्यक्षसहितको नतिजा आफ्नो पक्षमा पारेका थिए ।

यस्तै ०४९ को स्थानीय निर्वाचनमा सुर्खेतका ५० गाविस र १ नगरपालिकामा कांग्रेसले ३१ अध्यक्ष र २९ उपाध्यक्ष, एमालेले १८ अध्यक्ष र १९ उपाध्यक्ष तथा राप्रपाले २ अध्यक्ष र ३ उपाध्यक्षसहितको नतिजा आफ्नो पक्षमा पारेका थिए ।

त्यसैगरी ०४८ को आम निर्वाचन हुँदा सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र थिए । जसमा दुवै क्षेत्रका उम्मेदवारको जोडेर नेपाली कांग्रेसले पाएको मत ३७ हजार ९ सय ११ थियो । एमालेले पाएको मत ३० हजार ७ सय २७ थियो । दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

विसं. ०५१ को मध्यावधि निर्वाचनमा सुर्खेतमा तीनवटा क्षेत्र थिए । उक्त चुनावमा नेपाली कांग्रेसले पाएको मत ३४ हजार ५ सय ९३ र एमालेले पाएको मत ३२ हजार ९ सय २२ थियो । त्यतिवेला तीनमध्ये दुईवटा क्षेत्रमा कांग्रेस र एउटामा एमाले उम्मेदवार विजयी भएका थिए ।

स्थानीय निकायबाहेक पछिल्लो पटक भएको संविधानसभाका दुईवटा निर्वाचनलाई हेर्ने हो भने सुर्खेतमा एमाले केही कमजोर देखिएको छ । ०६४ को संविधानसभा निर्वाचनमा सुर्खेतमा एमालेले पाएको मत तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारको जोड्दा ४५ हजार ९ सय ९७ थियो । तत्कालीन नेकपा (माओवादी) ले पाएको मत ४२ हजार ७ सय ४८ थियो भने कांग्रेसले पाएको मत ३३ हजार ५ सय ३२ थियो ।

उक्त निर्वाचनमा ३ मध्ये दुई वटामा एमालेका उम्मेदवार र एउटामा माओवादीका उम्मेदवार विजयी भएका थिए । तर ०७० सालको संविधानसभामा भने कांग्रेस पहिलो हुँदै सबै तीनवटा क्षेत्रमा जीत हात पा¥यो भने एमाले र माओवादी क्रमश दोस्रो र तेस्रो भएर शुन्य सीटमा खुम्चिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्