हिन्दी भाषालाई मान्यता, दोस्रो चरणको चुनाव देउवाले
सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संशोधन विधेयक परिमार्जनसहित सविधान संशोधन गरी दुई चरणमा चुनाव गर्ने सहमति भएको छ ।
सहमति अनुसार पहिलो चरणको चुनाव ३ वटा प्रदेशमा बैशाख ३१ मा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ नम्बर प्रदेशमा पहिलो चरणमा चुनाव हुनेछ ।
दोस्रो चरणमा ४ प्रदेशमा चुनाव हुनेछ । प्रदेश नम्बर १, २ ५ र ७ मा दोस्रो चरणमा चुनाव हुने सहमति भएको मधेसी मोर्चाका नेता केशव झाले जानकारी दिएका छन ।
दोस्रो चरणको चुनाव जेठ ३१ मा हुने लगभग तय भएको छ । तर, निर्वाचन आयोगको परामर्शमा सरकारले भोलि क्याबिनेटबाट अन्तिम निर्णय गर्नेछ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ २१ देखि ३१ भित्र दोस्रो चरणको चुनाव हुने बताएका छन । यो चुनाव शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउनेछ ।
बैठकमा सहभागी कांग्रेसका एक नेताले भने, पहिलो चरणको प्रचण्डको नेतृत्वमा दोस्रो चरणको चुनाव देउवाको नेतृत्वमा बन्ने सरकारले गराउनेछ ।
कांग्रेसले पूर्वसहमति अनुसार जेठ १ गते प्रधानमन्त्री प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्नु पर्ने अडान राख्दै आएको छ । र, प्रधानमन्त्री प्रचण्ड पनि जेठमा सत्ता हस्तान्तरण गर्न सहमत देखिएका छन् ।
संघीय समाजवादी फोरमका सहअध्यक्ष एवं कार्यदल सदस्य राजेन्द्र श्रेष्ठका अनुसार सरकारले पछिल्लो पटक ल्याएको संविधान संशोधन विधेयकको धारा ७ मा उपधारा ३ थप गरेर भाषा आयोगले सरकारी कामकाजको भाषा भनी सिफारिस गरेका भाषालाई संविधानको अनुसूचीमा समावेश गर्ने सहमति भएको छ ।
साथै संघीय आयोग प्रदेशहरुको सीमा, संख्याका साथै स्वायत्त, संरक्षित र विशेष संरचनाबारे निश्चित समयभित्र प्रतिवेदन दिने र सरकारले त्यस अनुसार गर्ने सहमति भएको छ ।
धारा २७४ मा कुनै पनि प्रदेशको सीमा हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमतिमा संघीय संसदले गर्ने र प्रदेश सभा नबन्दासम्म अहिलेकै संसदले गर्न सक्ने व्यवस्था गर्ने सहमति भएको छ ।
साथै सरकार तराई मधेसका जिल्लाहरुमा स्थानीय तहको संख्या जनसंख्याका आधारमा बढाउन पनि तयार भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्