डिआईजी नवराज सिलवाल पक्राउ; आईजीपी प्रकरण
आईजीपी दौडमा मुद्दा लडिरहेका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिईरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिएका छन । प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।
आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो । साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।
सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।
बयानका लागि जाने कि नजाने भन्नेबारे कानुनी परामर्श गरिरहेका बेला उनी पक्राउ परेको अधिवक्ता भट्टराईले बताएका छन । स्रोतका अनुसार सिलवाललाई लिन दुई नम्बर गणका एसपी सोमबार विहानै उनको घरमा पुगेका थिए ।
त्यहाँ उनी नभेटिएपछि फरार रहेको भन्दै काठमाडौंमा प्रहरी परिचालन गरिएको थियो । विहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरमा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वरिष्ठ अधिवक्ता थापा गिरफ्तार गरेको नभई सिलवालले आफ्नो कानुन व्यवसायीका रुपमा साथमा लगेको प्रहरीले बताएको छ । सरकारले फागुनमै जयबहादुर चन्दलाई आईजीपी बनाएपछि त्यसविरुद्ध सिलवाल अदालत गएका थिए ।
अदालतले चन्दको बढुवा रद्द गरेपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको थियो । त्यसपछि सिलवाल पुन; अदालत गएका थिए ।
तर, अर्याललाई कामबाट रोक्न अन्तरिम आदेश जारी भएको थिएन । बरु, कार्यसम्पादन मूल्यांकनको सक्कल कपी मागिएको छ । यसबारे पूर्ण इजलासमा १९ गते सुनुवाई हुँदैछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्