सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौ चाँडै धुलोमुक्त हुँदै, सडक पखालिँदै

कमलादीतर्फबाट दमकल र ट्यांकरहरुको हुल पुतलीसडकतर्फ अघि बढे । धेरैलाई लाग्यो कतै आगलागी भएको हुनुपर्छ त्यसैले दमकलहरु त्यतै जाँदैछन् । तर, ती दमकलहरुले त त साइरन बजाएका थिए, न त हतारमा नै देखिन्थे ।
कमलादी चोकबाट पुतलीसडक तर्फको सडकमा आएपछि दमकलहरु रोकिए । स्थानीयलाई लाग्यो यतैकतै आगो लागेको हुनुपर्छ । तर यो दृष्य त्यतिबेला गलत साबित भयो जतिबेला सधैं आगो निभाउने दमकलका पानीका फोहोराले पुतलीसडकको पीच सडक पखाल्न थालियो ।
बुझ्दै जाँदा यो पत्ता लाग्यो कि, काठमाडौं महानगरपालिकाले सोमबार रातिबाट काठमाडौंमा सडक पखाल्न सुरु गरेको रहेछ । मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् । घाम लाग्दा बुङ्बुङ्ती उड्ने धुलो र पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छैन वायुप्रदुषण पनि ह्वात्तै बढेको छ ।
यही समस्याको समाधानका लागि रातीको समयमा सडक पखाल्ने कामको सुरुवात गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत इश्वरराज पौडेलले बताएका छन । रातीमा सवारीको चाप कम हुने भएकाले रातको समयमा बाटो सफा गर्न लागिएको पौडेलले बताएका छन ।
मंगलबार राति काठमाडौंको कमलादीबाट पुतलीसडकको सडकमा पानीले बाटो पखाल्ने कामको औपचारिक सुरुवात गरिएको उनले बताए । उनका अनुुसार अब यसैगरी काठमाडौंका अन्य सडकहरु पनि पखालिने छ ।
‘यो अल्पकालीन रुपमा सुरु गरिएको होइन, अब नियमित रुपमा सडकहरु पानी लगाएर पखालिन्छ,’ कार्यकारी पौडेलले भने, ‘चिल्ला पीच भएका सडकमा पनि धुलो उडेको उड्यै भयो । अब यो धुलैधुलो अवस्था हटाउन हामीले काम थाल्यौं ।’
महानगरपालिकाले मेलम्ची खानेपानीको खनेर पीच नगरेका सडकमा पखाल्न सम्भव नहुने बताएको छ । तर, मेलम्चीको पीच गरिसकेर पनि धुलो उडेको सडकमा अब धुलो नरहने गरी पानीले पखाल्ने कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताएका छन ।
‘अबको ३ दिनसम्म कसरी काम गर्न सकिन्छ भनेर म राति नै सडकमा हुन्छु । दैनिक कति सडक सफा गर्न सकिन्छ भन्ने पनि यसैबाट पत्ता लाग्छ । सडक पखाल्न पर्ने समस्या पनि यसबाटै थाहा हुन्छ,’ कार्यकारी पौडेलले भने, ‘पीच सडकमा पनि धुलो उडेर आँखै खोल्न नसकिने स्थिति अब अन्त्य गर्न महानगरले काम गर्छ ।’
सडक सफा गर्न रातिको समयमा महानगरले दुई वटा दमकलसहित ४ वटा ट्यांकरको प्रयोग गर्नेछ । बालाजुबाट पानी ल्याएर सडक सफा गरिनेछ । दैनिक ४ देखि ६ किलोमिटर सडक सफा गर्न सकिने अनुमान महानगरपालिकाको छ । राति ९ बजेदेखि १२ बजेसम्म महानगरका सफाइ सेवाका कर्मचारी सडक पखाल्न खटिनेछन् । पानीको फोहोरा लगाएर सडकमा जमेको माटो र धुलो हटाइनेछ ।
दैनिक ३ घण्टा सडक पानी लगाएर सफा गर्ने कामको संस्कार बसाल्न यसो गर्न लागिएको कार्यकारी पौडेलले बताए । उनले धुलो बटुल्ने ब्रुमर किन्ने प्रक्रिया पनि अब अघि बढेकाले केही समयपछि सडक सफाइमा दैनिक ब्रुमर पनि चल्ने दावी पौडेलले गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्