सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रत्यक्ष निर्वाचित कार्यकारी, विप्लव र वैद्यसँग एकता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब देश कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प नभएको बताएका छन् । पहिलो संविधानसभापछि प्रत्यक्ष कार्यकारी प्रणालीमा जाने सर्वसम्मत सहमति भएको थियो भन्दै दाहालले दोस्रो संविधानसभापछि कांग्रेस र एमाले पछि हटेकाले पुरानै संसदीय प्रणालीमा जानुपरेको बताएका छन ।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले अहिलेको निर्वाचन प्रणालीले देश गुण्डा र तस्करहरुको हातमा पुग्ने खतरा देखिएको भन्दै कार्यकारी राष्ट्रपति तथा अन्यमा समानुपातिक प्रणालीमा जानुपर्नेमा जोड दिएका छन ।

‘पहिले दलित, गरिव तथा पीछडिएका वर्गले चुनाव लड्ने अवस्था थिएन । अहिले आएर मध्यम वर्गले पनि चुनाव लड्ने अवस्था भएन,’ प्रचण्डले भने, ‘अब त पैसा खर्च गर्नेले मात्र चुनाव जित्ने देखियो । यस्तै हो भने देश गुण्डा तस्करको हातमा जाने खतरा छ । अब कार्यकारी राष्ट्रपति प्रणालीको विकल्प छैन ।’

माओवादी अध्यक्षले पहिलो संविधानसभापछि कार्यकारी प्रणालीमा जान नेपाली काङ्ग्रेस र नेकपा एमाले दुवै सहमत भएपनि दोस्रो संविधानसभामा आफूहरु विजयी भएपछि त्यसबाट पछि हटेको दाबी गरेका छन । उनले कार्यकारी राष्ट्रपति प्रणाली लागु गर्न सबै पार्टीहरुलाई सहमतिमा ल्याउन पहल गर्ने बताए ।

‘पहिले राष्ट्रपतिमा प्रचण्डले जित्ने भन्ने उनीहरुलाई डर थियो । अब त त्यो सम्भावना अहिलेलाई छैन । जित्ने उनीहरुले नै हुन,’ उनको भनाई थियो, ‘अब त काङ्ग्रेस–एमाले पनि मान्लान् कि ?’ यदी सहमतिमा नआए दबाब तथा आन्दोलनका कार्यक्रमहरु शुरु गर्ने चेतावनी प्रचण्डले दिए ।

सहरका टाठाबाठाले बुझेनन, गाउँले माया दियो

पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नो पार्टीले शहर केन्द्रीत सुधारका कार्यक्रमहरु ल्याए पनि त्यसअनुरुप भोट नआएकोमा आश्चर्य प्रकट गरेका छन । ‘सडक चौडा पारियो, सहर उज्यालो पारियो । अन्र्तराष्ट्रिय सम्बन्ध सुमधर बनाएँ । तर यहाँका टाठाबाठाले बुझेनन् बरु गाउँका जनताले माया दिए,’ उनले भने, ‘यसले देखाउँछ कामभन्दा पनि सहरमा जसले पैसा खर्च गर्यो उसले नै जित्ने रहेछ ।’

चुनावमा जसले जितेपनि काम त माओवादीकै

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा हार–जीत हेरेर भन्दा पनि संविधान कार्यान्वयन गराउनका लागि चुनाव गराएको बताएका छन । उनले जसले जिते पनि काम भने माओवादीकै गर्नुपर्ने बताए ।

‘गणतन्त्र, संघीयता, समावेशी, धर्मनिरपेक्षता लगायत सबै माओवादीका एजेन्डा हुन,’ उनले भने, ‘जसले जिते पनि माओवादीकै एजेण्डा कार्यान्वयन हुन्छ । उनीहरुले माओवादी कै काम गर्नुपर्छ ।’

पार्टी फुट हारको कारण, फुटेकासँग एकता गर्ने

उनले माओवादी एजेन्डाको जित हुँदा पनि पार्टी किन हार्यो भनेर यस बैठकले समिक्षा गरेको बताएका छन । उनले अब माओवादीबाट टुक्रिएर गएमा मोहन वैध, नेत्रविक्रम चन्द र बाबुराम भट्टराईसँग एकताको पहल गर्ने पनि बताए । त्यस्तै दाहालले अब फेरि पार्टी निर्माण गर्न गाउँ फर्कने उद्घोषसमेत गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्