सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खुर्सिदको हत्या भारतीय सुरक्षाकर्मीले गरेको खुलासा

बिहीबार दिउँसो सुनसरीको हरिनगरा गाउँपालिका, भुटाहा बजारमा गोली हानी हत्या गरिएका खुर्सिद अन्सारी सामान्य व्यक्तिहरूबाट नभई भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट मारिएको हुन सक्ने नेपाल प्रहरीका उच्च अधिकारीले विश्लेषण गरेका छन् ।

स्थानीयबासीको आशंका पनि खुर्सिद भारतीय सुरक्षाकर्मीबाटै मारिएको हुन सक्ने भन्ने छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले खुर्सिदको हत्या भारतीय प्रतिआतंकवाद सेलको कारवाहीसँग मेल खाएको बताएका छन ।

‘जसरी टाउकोमा गोली हानिएको छ, त्यो यसअघिको घटनामा पनि देखिएको थियो’, नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भनेका छन–‘बाइक रोकेपछि भाग्न खोज्दा खुट्टामा गोली हानिएको हुनसक्छ । त्यसपछि सिधै टाउकोमा गोली हानेको देखिन्छ ।’

यो शैली यसअघि भारतीय प्रतिआतंकवाद सेलसँग जोडिएका घटनासँग मिल्दोजुल्दो भएको प्रहरी अधिकारी बताउँछन् । भारतीय नक्कली नोटको कारोबार र आतंकवादी गतिविधिमा संलग्न भएको दाबी गर्दै भारतीय पक्षबाट यसैगरी बारम्बार नेपाली नागरिकहरूको हत्या हुने गरेको छ ।

यस्ता घटना कसले गराएका थिए भन्ने जवाफ अहिलेसम्म प्रहरी प्रशासनले दिन सकेको छैन । इस्लामिक संघका तत्कालीन महासचिव फैजानको ९ असोज २०६८ मा राजधानीको घन्टाघरमा यसैगरी गोली हानेर हत्या भएको थियो ।

‘यो केश पूर्णतः फैजान अहमदको केशमा प्रयोग भएको अपराध शैलीसँग मिल्दोजुल्दो छ’, प्रहरी स्रोतको दाबी छ, ‘लखनउको काउन्टर टेरोरिजम सेलसँग यो घटना जोडिएको मेरो अनुमान छ ।’

भुटाहाका स्थानीयबासीले पनि प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै आन्दोलन थालेका छन् । उनीहरुले खुर्सिदको शव उठाएका छैनन् भने प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीसहित स्थानीय बसेर छलफल भइरहे पनि निष्कर्षमा निस्कीएको छैन । गृहमन्त्री स्वयम् आएर सत्य, तथ्य, छानबिनको ग्यारेन्टी दिन सके मात्र शव उठाउने स्थानीयबासीले बताएका छन् ।

नेपाली नागरिक खुर्सिद अन्सारी धेरै पहिलेदेखि नै भारतीयहरूको टार्गेटमा थिए । उनी भारतीयहरूको खोजीको सूचीमा रहेको नेपाल सरकारको समेत जानकारीमा थियो । तर, सरकारले आफ्नो नागरिकको सुरक्षा गर्न सकेन ।

भारतीय खुफिया एजेन्सीले नेपालभित्र प्रवेश गरेर जति पनि नेपालीहरूको हत्या गर्छ, उसले नक्कली नोट वा आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउने गरेको छ । खुर्सिद अन्सारीमाथि पनि उनीहरूको यस्तै आरोप थियो ।

र, यो आरोपको पृष्ठभूमिले पनि उनको हत्या भारतको सरकारी तहबाटै भएको अनुमान लगाउन सकिने प्रहरीका एक उच्च अधिकारीको तर्क छ । सुनसरीमा रैयाब बोर्डिङ स्कुलका सञ्चालकका रुपमा रहेका अन्सारीलाई भारतले यसअघि ‘आतंकवादी’ को आरोपमा खोजी गरिरहेको स्रोत बताउँछ ।

तत्कालीन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार समेत रहेका उनका एक समकक्षीले अन्सारी यसअघि भारतीय प्रहरीको टार्गेटमा रहेको बताएका छन । अन्सारीका समकक्षिले भने–‘करिब १० वर्षअघि उनलाई भारतीय प्रहरीको जिम्मा लगाइदिन आग्रह गर्दै सादा पोशाकका भारतीय प्रहरी नै सुनसरीसम्म आइपुगेका थिए । त्यसवेला उनी सुनसरी जिल्ला विकास समितिको मनोनित सदस्य थिए ।’

नेकपा नेता वामदेव गौतम गृहमन्त्री भएका वेला पनि उनलाई भारतीय प्रहरीको जिम्मा लगाउन आग्रह गरिएको थियो । यद्यपि, उनलाई भारतीय प्रहरीसमक्ष हस्तान्तरण गरिएको थिएन ।

२०७१ साल चैतमा भारतको मुस्लिम आतंकवादी संगठन (इण्डियन मुजाहिद्दिन) का ४ जना सदस्यले नेपाली नागरिकता र पासपोर्ट लिएको भारतीय प्रहरीको आरोप थियो । भारतीय पक्षको दाबी अनुसार त्यसरी नेपाली नागरिकता र पासपोर्ट लिनेमा डा. सहनवाज, अबु रसिद, मोहम्मद खनिद र सलमान शेख थिए ।

सहनवाजले ९ जुन २००९ मा ४४८५७०० नम्बरको नेपाली राहदानी लिएका थिए । उनले सटुनवाज मियाँ नाममा नेपाली नगारिकता लिएको भारतीय प्रहरीको दाबी थियो ।

त्यस्तै अबुले मोहम्मद अहुमद दुर्मन मियाँ, खनिदले इसादी आतम र शेखले मोहम्मद भट्टु अन्सारी नाममा नेपाली नागरिकता लिएको र उनीहरुले नेपाली राहदानी पनि बनाएको सूचना भारतीय प्रहरीले नेपाललाई दिएको थियो ।

अबुले ४५२२४५६, खलिदले ४५२२८५४ र सलमानले ४४२२०८५५ नम्बरको नेपाली राहदानी बनाएको भारतीय भनाइ थियो । भारतका विभिन्न सहरमा बम विष्फोट गराएर उनीहरु नेपालमा नागरिकता लिई लुकीछिपी बसेको सूचना भारतीय सुरक्षा निकायले नेपाललाई दिएको थियो ।

उनीहरु सन् २००० मा बनारस, गोरखपुर, अहमवाद, लखनउ, दिल्ली लगायतका स्थानमा भएको श्रृङ्खलाबद्ध बम विष्फोटको घटनामा समेत संलग्न भएको भारतको दाबी थियो ।

भारतीय गुप्चर संस्थाले यो सूचना नेपाललाई समेत उपलब्ध गराउने क्रममा उसको अर्को दाबी पनि थियो, उनीहरु ४ जना बिहीबार गोली हानेर हत्या गरिएका खुर्सिद अन्सारीकै सहयोगमा सुनसरीमा बसेका थिए ।

नागरिकता र राहदानी दिलाउन पनि खुर्सिदले नै सहयोग गरेको भन्दै भारतीय पक्षले वामदेव गृहमन्त्री भएका बेला खुर्सिद भारतलाई बुझाउन भनेको थियो । आतंकवादी संगठनका सदस्यलाई सेल्टर दिएको त्यसवेला भारतको दाबी थियो ।

उनीहरु खुर्सिदकै घरमा बसेको र विद्यालयमा शिक्षकको रुपमा ४ जनाले आश्रय लिएको भारतीय दाबी रहेको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार चारै जना २००९ मा नेपाली राहदानी लिएर यूएई पुगेको पाइएको समेत भारतको दाबी छ ।

भारतले यसरी आतंकवादीलाई संरक्षण गरेको आरोप लगाउँदै आफूसमक्ष बुझाउन माग गरेको पृष्ठभूमिमा भारतबाटै मोटरसाइकल चढेर आएका व्यक्तिले खुर्सिदको हत्या गर्नु र उनीहरू भारततिरै भाग्नुले यो हत्यामा भारतको सरकारी तहकै मानिसहरूको संलग्नता पुष्टि हुने उच्च प्रहरी अधिकारीको तर्क छ ।

तर, यसरी नेपालमा पसेर भारतीयहरूले गर्दै आएको जघन्य एवं गैरन्यायिक हत्यामा नेपाल सरकारले अब भारतसँग कस्तो व्यवहार देखाउँछ, त्यो स्पष्ट हुन सकेको छैन । नेपाल सरकारले सुनसरीबासीलाई यसबारे चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।

यसरी कुनै पनि बाहनामा विदेशबाट आएर नेपालीको हत्या हुने हो भने कोही पनि नेपालीहरू सुरक्षित हुन सक्दैनन् । त्यसैले आफ्ना जनताको जिउधनको सुरक्षा गर्नु नेपाल सरकारको दायित्व हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्