विवाहेत्तर सम्बन्ध महिला र पुरुषका लागी समान
भारतको सर्वोच्च अदालतले विवाहेत्तर सम्बन्धलाई अपराध मान्ने पुरानो कानुन असंवैधानिक ठहर गरेको छ । १५८ वर्ष पुरानो अंग्रेजकालीन यो कानुनले बिहेपछि परस्त्री सम्बन्धलाई अवैध ठहर गरेको थियो ।
कुनै पुरुषले अर्काकी श्रीमतीसँग यौनसम्बन्ध राखे त्यसलाई परस्त्रीगमन भन्दै दण्डनीय मानिन्थ्यो । यो कानुन अन्तर्गत कति जना कारबाहीमा परे भन्ने अहिलेसम्म तथ्यांक छैन ।
अंग्रेजकालीन उक्त कानुनले महिला–पुरुषबीच विभेद गरेको भन्दै खारेज गर्न सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्च अदालतले यही महिना खारेज गरेको यो दोस्रो अंग्रेजकालीन कानुन हो । यसअघि समलिंगी सम्बन्धलाई अवैध ठहर गर्ने कानुन पनि खारेज गरेको थियो । समलिंगी कानुन ११७ वर्ष पुरानो थियो ।
विवाहेत्तर सम्बन्ध अवैध ठहर गर्ने कानुन खारेजीको फैसला गर्दै सर्वोच्चका मुख्य न्यायाधीश दीपक मिश्रले भने–‘यो भनेको नैतिकताको विषय हो । विवाहेतर सम्बन्धलाई लिएर पतिपत्नीबीच मनमुटाव भए उनीहरू सम्बन्ध विच्छेद गराउन सक्छन । यसलाई कानुनी अपराधका रुपमा लिनु पर्दैन ।’
यो कानुनविरुद्ध गत अगस्ट महिनामा जोशेफ साइन नामका भारतीय व्यापारीले मुद्दा दायर गरेका थिए । ४१ वर्षीय जोशेफ इटाली बस्दै आएका छन । यो कानुनले विवाहेतर सम्बन्ध राख्ने महिलाबारे भने कुनै उल्लेख गरेको छैन ।
महिलाहरू कुनै रुपमा पुरुषभन्दा भिन्न हुन्नन । त्यसैले यो विभेदपूर्ण छ, जोशेफको ४५ पाना लामो रिटमा भनिएको छ । सन् १८६० मा बनेको कानुनअनुसार विवाहेतर सम्बन्ध राख्नेलाई पाँच वर्ष जेल, जरिवाना वा दुवै सजाय हुन सक्थ्यो ।
अदालतले विवाहेतर सम्बन्ध पारपाचुकेका निम्ति आधार भए पनि अपराध नहुने प्रस्ट पारेको छ । यसका साथै कुनै पनि महिलाको शरीरमा उनको आफ्नो हक हुने र अरु कसैले कुनै सम्झौता गर्न नपाउने पनि प्रस्ट्याएको छ । कुनै महिलाको पति ‘स्वामी’ नहुने भन्दै अदालतले ‘पवित्रता’ भन्ने कुरा महिला र पुरुष दुवैमा लागू हुने पनि बताएको छ ।
(सेतोपाटीको सहयोगमा)
फेसबुकबाट कमेन्ट गर्नुहोस्