सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डिपिआर नबन्दै ६ अर्ब सक्यो नलगाड योजनाले

नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ६ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । डीपीआरका लागि अहिलेसम्म झन्डै ६ अर्ब रुपैयाँ सकिएको छ । डीपीआरको काम अस्ट्रेलियन कम्पनी स्मेक, अमेरिकन एमडब्लूएच र नेपालको उदय जेभीले संयुक्त रूपमा गरिरहेका छन् । सन् २०१६ मा ३१ महिनामा डीपीआरको काम सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र सम्बद्ध परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो ।

यसअघि डीपीआरकर्ताको मागअनुसार अगस्ट २०१९ मा पहिलो पटक ३ महिना र अगस्टदेखि मे २०२० सम्म ९ महिना दोस्रो पटक गरी डीपीआरको म्याद थपिएको थियो । डीपीआर नभएका कारण नलगाड जलविद्युत् आयोजनाका अन्य गतिविधि अघि बढ्न नसकेको इन्जिनियर पदमबहादुर थापाले जनाए । ०६९ सालदेखि हाइड्रोपावर निर्माणका लागि मन्त्रिपरिषद्मा छलफल भएको थियो । फिल्डको काम भने सकिएको उनको भनाइ छ । फिल्डअन्तर्गत सर्भे, सुरुङ टेस्ट र पावर हाउसमा सुरुङ निर्माण भइसकेको छ ।

सम्झौता भएको २ वर्षभित्र बुझाएर स्वीकृत गराइसक्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन गत शुक्रबार मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाइएको छ । गृह जिल्लाका मन्त्री बस्नेतले उक्त प्रतिवेदन स्वीकृतिका लागि वन मन्त्रालयमा पठाएका छन् । अहिलेसम्म आयोजनामा मुआब्जा वितरणमा ३ अर्ब, डीपीआरमा डेढ अर्ब, बाटो, पुल, आर्मी क्याम्प र अफिस भवन निर्माणमा २ अर्ब गरी करिब ६ अर्ब रुपैयाँ खर्च भएको इन्जिनियर थापाले बताए । अहिलेसम्म बाँधस्थल बारेकोट–८ मा ४ वटा ६०/६० मिटरका सुरुङ बनिसकेका छन् । त्यस्तै पावरहाउस दल्लीमा ३ सय ५५ मिटर लामो सुरुङ बनेको छ ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आयोजनामा लगानी गर्ने इच्छा राखेको छ । त्यसबारे पूर्वमन्त्री, सचिव र सहसचिवस्तरमा पटकपटक छलफल भइरहेको छ । आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट लागत ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ । आयोजनाका लागि नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछ । आयोजनाबाट एक वर्षमा १ हजार २ सय ३२ मेगावाट (घण्टा) ऊर्जा उत्पादन हुने इन्जिनियर थापाले जनाए ।

आयोजनाबाट उत्पादित विद्युत् ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सबस्टेसनमा जोडिनेछ । नलगाडकै दानीपीपलमा ४०० केभी प्रसारण लाइनको सबस्टेसन निर्माण जारी छ । नलगाड निर्माणकै लागि ४ मेगावाटको ताँसुगाड जलविद्युत् आयोजनाको डीपीआरको काम जारी रहेको उनको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्