सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

शुभकामना तिहारको ! टिकाको शुभसाईत ११ः५५ मा

आज भाईटिका । तिहारको अन्तिम दिन । कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ । यो साल भाईटिकाको उत्तम साईत ११ बजेर ५५ मिनेट जाँदा छ । यो पर्वमा दिदिबहिनिले दाजुभाईलाई विधिपूर्वक पुजापाठ गरी टिका लगाईदिने र मिष्ठान्न भोजन खुवाउने चलन छ ।

त्यसैगरी दाजुभाईले दिदिबहिनिलाई दान–दक्षिणा एवं वस्त्र आदि उपहार दिने परम्परा छ । आजको दिन खासगरी दाजुभाईको पुजा गरी दिर्घायु र सु–स्वास्थ्यको कामना गर्ने दिन भएकाले दिदिबहिनिले दाजुभाईलाई बिभिन्न उपहार दिने प्रचलन पनि रहिआएको छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

धर्मशास्त्रका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बसेको हुँदा तिहारलाई यमपञ्चक भनिएको हो ।

यि पाँच दिन बहिनि यमुनाको घरमा रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागेको भन्ने कथन रहेको छ ।

यमराजले पनि तथास्तु भन्दै वाचा, कर्मणा र शुद्धचित्तले सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अविच्छिन्न रूपले दाजुभाई र दिदिबहिनिको प्रेम बन्धनका रुपमा तिहार मनाउने चलन रहिआएको छ ।

यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको माला, कटुस आदिले बिधिपुर्वक दिदी बहिनीले दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गरेमा पुरा हुने कथन छ ।

यस्तो छ भाईटिका लगाउने बिधि र कथन
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाई धुमधामसँग मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

गौतमले भने–‘भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो ।’

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिएका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS