खेतवारीमै कक्षा, कुटोकोदालो देखी कम्प्युटरसम्म पढाईने
‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा…’ मुगुकी आङ्बु लामा गुन्गुनाइरहेकी थिइन । बाजुराका नरेश मल्ल देउडा गाउँदै थिए । उनीहरूसँगै रमाइरहेका थिए, धादिङकी सन्जिता चेपाङ, सर्लाहीका देव साह, बाजुराका धिरज मल्ल लगायतका बालबालिका ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित जनजागृति आधारभूत विद्यालयका बालबालिका यसैगरी रमाइरमाई पढिरहेका छन् । तीन वर्षअघि बन्द भएपछि स्थानीय अभिभावकको पहलमा सञ्चालनमा आएको विद्यालयमा पूर्वदेखि पश्चिमसम्मका विभिन्न जाति र भाषाका ९२ विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयको शिक्षणशैली फरक छ । पाठ्यपुस्तकमा एकोहोरो घोकाइँदैन, व्यवहारमा सिकाइन्छ । दैनिक जीवनमा आइपर्ने सबैखाले शिक्षा दिइन्छ । सरकारी पाठ्यक्रममा आधारित शिक्षाका साथै बालबालिकालाई अन्य शीर्षकमा पढाउने गरिएको प्रधानाध्यापक सविता ढकालले बताइन् ।
उनका अनुसार विद्यालयमा बोली (नेपाली, अंग्रेजी, हिन्दी, चाइनिज), खाना (उत्पादन गर्ने, बनाउने, खाने), प्रकृति (घाम, पानी, धरती, आकाश, हावा), प्रविधि (यन्त्र, उपकरण), लुगा (धागो उत्पादनदेखि सिलाउने, डिजाइन गर्ने), स्वास्थ्य, खेलकुद, मनोरन्जन लगायत विषय सिकाइन्छ ।
विद्यालयमा जीवनोपयोगी शिक्षा दिइएको व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले बताए । सबैखाले शिक्षा पाएकोमा विद्यार्थी पनि सन्तुष्ट छन् । कुटो–कोदालोदेखि कम्प्युटरसम्मको शिक्षा पाइरहेको धादिङकी चेपाङ विद्यार्थीले बताइन् ।
उनले भनिन्–‘पशु, कृषि, विज्ञान, निर्माणबारे सिकिरहेकी छु ।’ स–साना नानीबाबुलाई कोठामा थुनेर जबर्जस्ती दिइने शिक्षा सजाय जस्तो बन्ने भएकाले फिल्डमा लगेर सिकाउन थालिएको राईले सुनाए । उनले भने–‘यसले उनीहरूलाई सिक्ने प्रेरणा मिल्छ, रमाइरमाइ सिकेको प्रभावकारी हुन्छ ।’
यसका लागि एक कार्यालय सहयोगी र ११ शिक्षक कार्यरत छन् । बालबालिकाको शिक्षाका लागि कृषिविज्ञ मदन राईले सहयोग गरेका छन् । उनले जानेका ज्ञान र सीप पनि बाँडिरहेका छन् । बुढ्यौलीको सबै समय बालबालिकालाई दिने उनले बताए ।
११ शिक्षकमध्ये नौ जनालाई उनीसम्बद्ध शुभद्रा मदन फाउन्डेसनले तलब दिएको प्रधानाध्यापक ढकालले जानकारी दिइन् । उनका अनुसार दुई शिक्षक र एक कार्यालय सहयोगी भने सरकारी तलबका हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्