सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विश्व सुन्दरी प्रतियोगितामा श्रंखलामाथी ‘अन्याय’

मिस वर्ल्ड २०१८ आम नेपालीको लागी बहस र चर्चाको बिषय मात्र होईन आशा र सपनाको ताज पनि थियो । जहाँ नेपाल सुन्दरी श्रृंखला खतिवडा बलियो दाबेदारका रुपमा प्रतिस्पर्धामा थिईन ।

नेपाली समर्थकहरूको उर्लिंदो भीडको अपेक्षा थियो कि, भारतीय विश्व सुन्दरी मानुसी छिल्लारले मुस्कुराउँदै शृङ्खलाको शिरमा विश्व सुन्दरीको चम्किलो ताज पहिराउन् । अन्तिम समयसम्म पनि श्रृंखलाप्रति आम नेपालीको आशा यही थियो ।

दुखःको कुरा मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डे लियोनलाई पर्हियाउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी सुन्दरी श्रृंखला खतिवडा प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड जित्दै टप १२ सम्म पुगिन् ।

सम्भवतः पहिलोपटक नेपाललाई अन्तरराष्ट्रिय सौन्दर्य विज्ञहरुले समेत उपाधिको दावेदारका रुपमा लिएका थिए । उसो त श्रृंखलाको फ्यान फलोइङ पनि नेपालमा अभूतपूर्व देखियो ।

उनलाई मिस वर्ल्डका रुपमा हेर्न नेपालीहरु आतुर थिए । र हरतरह सहयोग पनि गरेका थिए । जसका कारण उनका फ्यानहरुले टप १२ मा चित्त बुझाउन सकिरहेका छैनन् ।

तर, मिस वर्ल्ड एउटा यस्तो प्रतिस्पर्धा हो, जसको कहिल्यै पूर्वानुमान गर्न सकिन्न । पूर्व मिस नेपाल माल्भिका सुब्बाको भनाइमा प्रायः अनुमान नगरिएकाले उपाधि जित्ने गरेका छन् ।

श्रृंखला मिस वर्ल्डको ताज पहिरिन योग्य थिइन्, तर सबै कुरा उनका हातमा हुँदैनन् । यद्यपि, मिस वर्ल्डको उपाधिपछिको महत्वपूर्ण मानिने ‘ब्यूटी विथ पर्पस अवार्ड’ र भोटमा आधारित मल्टिमिडिया अवार्ड जित्न श्रृंखला सफल भइन् ।

यस हिसाबले यसपटक मिस वर्ल्डमा नेपालले अहिलेसम्मको ठूलो सफलता पाएको मान्न सकिन्छ । सन् २०१३ मा ईशानी श्रेष्ठले पनि ‘ब्यूटी विथ पर्पस अवार्ड’ जितेकी थिइन् । उनी टप १० मा पनि पुगेकी थिइन् ।

त्यतिबेला यो अवार्ड जितेपछि ईशानीलाई सोझै टप १० मा र्पुयाइएको थियो भने यसपालि श्रृंखलालाई टप ३० मा सीमित राखिएको थियो । मिस वर्ल्डको फम्र्याट हरेक वर्ष परिवर्तन भइराख्छ । यसपालि सुन्दरीहरुलाई उनीहरुले प्रतिनिधित्व गर्ने महादेशका आधारमा विभाजन गरिएको थियो ।

टप ३० बाट टप १२ मा पुग्ने क्रममा श्रृंखलाले एसियाका १२ सुन्दरीहरुसँग ३ वटा स्थानका लागि भिड्नुपर्यो । यसमा उनी सफल भइन् । आफ्नो महादेशका बलिया भारत र चीनलाई समेत पछि पार्दै उनले टप १२ मा स्थान बनाइन् ।

टप ३० का सुन्दरीहरुको सानो परिचयात्मक जस्तो भिडियो प्रस्तुत गरिएको थियो । त्यसपछि सोझै टप १२ को घोषणा गरियो । एसियाबाट श्रृंखलासँगै अन्य २ सुन्दरी टप १२ मा पुगे ।

टप १२ का प्रतिस्पर्धीहरुलाई निर्णायकहरुले प्रश्न सोध्ने अपेक्षा थियो । तर, त्यस्तो केही भएन । उद्घोषकले उनीहरुसँग छोटो कुरा गरिन् । र, एकाएक टप ५ घोषणा भयो । एसियाबाट एकजना मात्र छानिने भए ।

श्रृंखलालाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी टप ५ मा परिन् । टेलिभिजन र इन्टरनेटमा मिस वर्ल्ड लाइभ हेर्न झुम्मिएका नेपालीले श्रृंखला के आधारमा आउट भइन् भन्ने बुझ्न सकेनन् ।

केही अनलाईन र सामाजिक सञ्जालमा मिस वर्ल्डले आफ्नो अफिसियल फेसबुक पेजमा पहिले नेपालको नाम राखेको र पछी घोषणा गर्दा सच्याएर थाइल्याण्डको नाम राखेको भनेर झुटो (स्प्याम) जानकारी पनि प्रस्तुत गरे । तर वास्तवमा त्यो चाहीँ भएको थिएन । यद्दपी श्रृंखला खतिवडाप्रति न्याय भएन भन्ने चाहीँ चासो राख्ने सबैलाई लागेकै हो ।

पूर्व मिस नेपाल माल्भिका सुब्बा मिस वर्ल्डमा श्रृंखलामाथि अन्याय भएको बताउँछिन् । उनी भन्छिन्–‘टप १२ मा कुनै प्रश्नोत्तर भएको थिएन । सम्भवतः ट्रयाक रेकर्डका आधारमा टप ५ छनोट गरिएको हुनुपर्छ । यसरी हेर्दा श्रृंखला टप ५ को पहिलो हकदार थिइन्, किनकि उनले ‘ब्यूटी विथ द प्रपोज’ जस्तो महत्वपूर्ण अवार्ड र ‘मल्टिमिडिया अवार्ड’ पनि जितेकी थिइन् ।’

उनी अगाडी भन्छिन–‘प्रतियोगितापूर्व दुई अवार्ड जित्ने उनी मात्रै थिइन् । उनको फ्यान फलोइङ सबैभन्दा बढि थियो । सौन्दर्य र बौद्धिकतामा पनि अगाडि थिइन् । तर, के कारणले उनलाई फ्याँकियो, मैले पनि बुझ्न सकिनँ ।’

श्रृंखला कम्तिमा टप ५ मा पुग्ने पहिलेदेखि नै आफूले अपेक्षा राखेकाले टप १२ मा चित्त बुझाउन नसकेको उनले बताइन् । माल्भिकाले भनिन्–‘दुई वटा अवार्ड जितिसकेपछि मैले सोचेकी थिएँ कि उनी सहजै टप ५ मा पुग्नेछिन् र त्यहाँ आउने प्रश्नको सहज उत्तर दिइन् भने मिस वर्ल्ड नै जित्न सक्छिन् । तर, उनले प्रश्नको सामना गर्ने मौका नै पाइनन् ।’

‘मिस वर्ल्डलाई सौन्दर्यको मात्र नभएर बौद्धिकताको पनि प्रतिस्पर्धा मानिन्छ । तर, हिजोको प्रतियोगिता हेर्दा बौद्धिकताको कुनै मापन भएको देखिएन । अन्तिम ५ मा परेका सुन्दरीहरुलाई पूर्वमिस वर्ल्डहरुले बेग्लाबेग्लै प्रश्न सोधेका थिए । ती प्रश्नहरु कत्ति पनि नौला र दमदार थिएनन् ।

जस्तै उपाधि जित्ने मेक्सिकोकी सुन्दरीलाई सोधिएको थियो, ‘(मिस वर्ल्ड हुनुभयो भने) तपाईं अरुलाई सहयोग गर्न कसरी आफ्नो प्रभाव उपयोग गर्नुहुन्छ ?’ यो कुनै बौद्धिकस्तर नापिने प्रश्न थिएन । न त मेक्सिकोकी सुन्दरी भेनेसा पोन्सले दिएको जवाफ नै असाधारण थियो ।

उनको जवाफ थियो–‘मैले विगत ३ वर्षदेखि जसरी काम गरिरहेकी छु त्यसैगरी गर्नेछु । म आफूलाई उदाहरणका रुपमा पेश गर्नेछु । हामी सबै संसारमा राम्रो कुराको उदाहरण बन्न सक्छौं । हामी सबैले केयर गर्नुपर्छ, हामी सबैले माया गर्नुपर्छ, हामी सबै दयालु हुनुपर्छ । यो कुनै गाह्रो काम पनि होइन र कुनै खर्च लाग्दैन । तपाईं अगाडि बढ्नुस, किनकी तपाईंको सहयोगको धेरैलाई खाँचो छ । अरुलाई सकेको सहयोग गरौं ।’

भेनेसाको यो जवाफ सटिक नभएर ‘घोकन्ते’ थियो । तर, अन्त्यमा उनले नै ताज जितिन् । पूर्वमिस नेपाल मलिना जोशी भन्छिन्–‘पहिले मैले मिस वर्ल्डको बारेमा जस्तो धारणा बनाएकी थिएँ, आफैले भाग लिएपछि त्यस्तो पाइनँ । त्यहाँ हरेक वर्ष फम्र्याट चेन्ज भइराख्दो रहेछ । आफूले तयारी गरेअनुसार प्रस्तुत हुन पनि नपाइने ।’

गत वर्षदेखि मिस वर्ल्डलाई पनि कोटा प्रणालीमा लगिएको छ । यस अनुसार टप पाँचमा पर्नेहरु फरक–फरक महादेशका हुन्छन् । यदि एउटै महादेशका दुई–तीन सुन्दरी ‘काबिल’ छन् भने पनि उनीहरुमध्ये एकजना मात्र माथि पुग्छन् ।

कुनै महादेशका सबै कमजोर छन् भने उनीहरुबाट पनि एकजना उक्लिन्छन् । यसले प्रतियोगिताको स्तर पक्कै पनि घटाउँछ । यस्तो कोटाको कारण पनि श्रृंखलालाई घाटा लागेको माल्भिका बताउँछिन् ।

मिस वर्ल्डमा समेत भाग लिएकी पूर्वमिस नेपाल मलिना भन्छिन्–‘मिस वर्ल्ड सँधै यस्तै अपारदर्शी हुने गरेको बताउँछन् । मैले पनि बुझ्न सकिनँ कि श्रृंखला के आधारमा आउट भइन् ।’ उनी मिस वर्ल्डमा विजेताको चयन पहिल्यै भित्री रुपमा भइसकेको हुनसक्ने आशंका व्यक्त गर्छिन् ।

मलिना भन्छिन्–‘यो आशंका धेरैले गर्छन् कि मिस वर्ल्ड कसलाई बनाउने भनेर मुख्य इभेन्टभन्दा पहिले नै तय भइसकेको हुन्छ । आखिरमा एउटा प्रश्नको जवाफ सुनेर मात्रै जजमेन्ट पक्कै गरिदैन जस्तो लाग्छ मलाई पनि ।’

यद्यपि, मेक्सिकोकी सुन्दरी मिस वर्ल्डको हकदार नै भएको उनको तर्क छ । मलिनाले भनिन्–‘अरु डराएका थिए तर उनी सुरुदेखि नै आत्मविश्वासी देखिएकी थिइन् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्