सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्व माओवादी लडाकु विष बोकेर मन्त्रिनिवास

सशस्त्र द्वन्द्वका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । प्रहरीले उनका साथबाट ‘सुसाइड नोट’ समेत फेला पारेको छ ।

सरकारले घाइतेको उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकाले विरोधस्वरूप विष सेवन गर्न लागेको उनले बताएका छन् । गत मंसिर ५ गते उनले गृह मन्त्रालयमा गृहमन्त्रीकै सामुन्ने विष सेवन गरेका थिए ।

उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । चार दिनको उपचारपछि महाराजगन्जस्थित प्रहरी अस्पतालबाट डिस्चार्ज गरियो । त्यसपछि उनी रत्नपार्कको शान्तिवाटिकामा अनशन बसे । प्रहरीले उनलाई पक्रेर एक रात राखेको थियो । उनी भोलिपल्टै सशस्त्र द्वन्द्वका अन्य घाइतेसहित गृह मन्त्रालय पुगे ।


राजधानीको माइतीघर मण्डलामा बिहीबारदेखि जनयुद्धका घाइते तथा अपांग संघर्ष समितिले सुरु गरेको अनशनमा सहभागीहरु ।

गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीको उपस्थितिमा लिखित सम्झौता गरे । उनले भने–‘सरकारले जनयुद्धका म जस्ता घाइतेको पीडा सुन्दैन भने बाँचेर के अर्थ ? सरकारले झूटो आश्वासन दियो, त्यही भएर मर्न खोजेको हुँ ।’

गृहमन्त्रीका सल्लाहकार सुवेदीले घाइतेको उपचार र जीविकोपार्जनका विषयमा लिखित सम्झौता गरिएको स्विकारेका छन् । उनले भनेका छन्–‘उक्त सम्झौता कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी छ ।’ बिहीबारको घटनाबारे भने उनले अनभिज्ञता दर्शाएका छन् ।

प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएलगत्तै गृहमन्त्री थापाकहाँ सूचना पुगेको थियो । स्रोतका अनुसार उनले भट्टराईलाई निगरानी गर्न प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए । दिनभर प्रहरी परिसरमा राखिएका सुवेदीलाई दिउँसो गृह मन्त्रालय लगिएको थियो । गृहमन्त्रीको कार्यकक्ष नजिकैको एक कोठामा दुई घण्टा राखेर फर्काइयो ।

१३ वर्षको उमेरमा २०५८ असोजमा माओवादीमा प्रवेश गरेका भट्टराई म्याग्दीका बेनी, कालिकोटको पिली र बर्दियाको गणेशपुर आक्रमणमा संलग्न थिए । २०६० चैतमा बेनी आक्रमणमा उनलाई गोलीको छर्रा लाग्न पुग्यो । केही महिनाअघि दाहिने करङबाट तीन छर्रा निकालिएको थियो ।

अहिले पनि टाउकोको अघिल्लो भागमा छर्रा छन् । भट्टराईले भनेका छन्–‘अहिलेसम्म औषधिमा मात्रै साढे दुई लाख खर्च भइसक्यो । त्यो सबै ऋण काढेर गरेको हुँ । देशका लागि लडेको तर राज्यले नै केही गर्दैन भने किन बाँच्नु ?’

शान्ति प्रक्रियापछि नवलपरासीको झ्यालटुङडाँडास्थित माओवादी लडाकुको चौथो डिभिजन शिविरमा बसेका भट्टराई उपचारका लागि भारत बस्नुपरेपछि प्रमाणीकरण हुनबाट छुटेका थिए । सरकारले सशस्त्र द्वन्द्वका घाइतेलाई दुई वर्गमा बाँडेर जीवन निर्वाह भत्ता दिँदै आएको छ ।

प्रथम श्रेणीका घाइतेले १२ हजार ५ सय, दोस्रो श्रेणीकाले ६२ सय मासिक भत्ता पाउँदै आएका छन् । प्रमाणीकरणबाट छुटेका र सरकारबाट औषधि–उपचार नपाएका पूर्वमाओवादी लडाकु भने आक्रोशित बनेका छन् ।

पूर्वलडाकुले जनयुद्धका घाइते तथा अपांग संघर्ष समिति नै गठन गरेका छन् । बिहीबारदेखि नै उनीहरूको एउटा समूहले माइतीघर मण्डलामा अनशन सुरु गरेको छ । घाइते तथा अपांगता भएका र उपचारका क्रममा रहेका व्यक्तिलाई तत्काल आर्थिक सहयोग व्यवस्था गर्नुपर्ने, घाइते तथा अपांगता भएकाहरुका छोराछोरीलाई निस्शुल्क उच्च शिक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको माग छ ।

कालिकोट सानी त्रिवेणी गाउँपालिकाका मोहन परियार उर्फ सुशीलले सशस्त्र द्वन्द्वका घाइतेको बेहाल अवस्थाबाट सरकार पन्छिन नमिल्ने बताए । जुम्ला सदरमुकाम खलंगास्थित प्रहरी चौकी आक्रमणका बेला गोलीको छर्रा लागेर घाइते भएका माओवादी सशस्त्र द्वन्द्वताका प्लाटुन कमान्डर हुँदै कम्पनी सहकमान्डरसम्म भएका थिए ।

उनको घुँडामा रहेको गोलीको तीन छर्रा अप्रेसन गरेर निकालिएको थियो । उनले भने, ‘जनयुद्धकै कारण मेरो छातीमा समेत समस्या थियो । खोक्दा मुखबाट रगत आउँथ्यो । केही महिनाअघि वीर अस्पतालमा निशुल्क उपचार गरेँ । तर पैसाको अभावमा नियमित औषधि सेवन गर्न सकेको छैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्