धरहराको टुप्पोबाट काठमाण्डौ हेर्ने ओलीको सपना
वि.स. २०७२ साल बैशाख १२ गतेको भुकम्पबाट ढलेको धरहराको पुर्ननिर्माण प्रारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सुनधरामा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।
धरहराको शिलान्यास गर्दै ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने आफ्नो इच्छा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्–‘हामी फेरि हाम्रो गौरवपूर्ण धरहरा हाम्रा आँखा अगाडि देख्नेछौं । हामी वातावरण सुधारिएको, बाटाहरु सुधारिएको, हरियाली अलि बढाइएको काठमाडौं धरहराको टुप्पाबाट हेर्नेछौं ।’
पहिलेको धरहरा चढ्न ज्येष्ठ नागरिकहरुलाई अप्ठ्यारो हुने भए पनि अब बन्ने धरहरा सजिलै चढ्न सक्ने बन्ने प्रधानमन्त्रीले बताए । एकपटक आफू धरहरा चढ्दा गाह्रो भएको स्मरण गर्दै उनले भने–‘यसपल्ट धरहराको टुप्पामा जवानहरु मात्र चढ्नसक्ने होइन बुढापाकाहरु पनि चढ्न सक्नेछन् ।’
उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको बताएका छन् । यसलाई उनले ऐतिहासिक कामको शुभारम्भ भएको बताए । २०७२ को भूकम्पले भत्काएका धेरै संरचना पुननिर्माण भइसकेको दाबी गर्दै प्रधानमन्त्री ओलीले केही पुनर्निर्माणको क्रममा रहेको पनि बताए ।
‘मै बनाउँछु मेरो धरहरा’ नारा दिएर पुनर्निर्माणको अभियानलाई केही फरक ढंगले अगाडि बढाउन खोजे पनि त्यसमा ब्रेक लागेको उनले बताए । अहिले नयाँ संकल्पका साथ आफूहरु अगाडि बढेको उनले बताए । ‘अलिकति फरक ढाँचामा सोचेको थिएँ मै बनाउँछु मेरो धरहरा, सरकारी खर्चमा पनि होइन जनताकै खर्चमा । तर त्यो अभियानमा ब्रेक लाग्न पुग्यो र त्यसअनुसार अगाडि जान सकेन ।’
प्रधानमन्त्री ओलीले भनेका छन्–‘२०७२ फागुन ४ गते यसै ठाउँमा आएर मैले मै बनाउँछु मेरो धरहरा भन्ने हरेक नेपालीको मनको भावना र संकल्प व्यक्त गरेको थिएँ, त्यसले तीव्रता नपाए पनि एउटा फरक ढंगले नयाँ संकल्पलाई अगाडि बढाएका छौं ।’
शिलान्यास कार्यक्रमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उप–प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रय पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतको उपस्थित थियो ।
नयाँ बन्ने धरहरा हेर्दा नौतले देखिने भएपनि प्राविधिक हिसाबमा २१ तलाको हुनेछ । अन्डरग्राउन्डबाट धरहराको टुप्पोसम्म पुग्न लिफ्टमा चढ्नुपर्नेछ भने ओर्लन अर्को लिफ्ट हुनेछ । सरकारले पुरानै शैलीमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो । ठेकेदारले २ बर्षमा धरहरा बनाईसक्ने प्रधानमन्त्रीको विश्वास छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्