म त सकिएँ, गएँ भन्ने लागेको थियोः नम्रता श्रेष्ठ
अभिनेत्री नम्रता श्रेष्ठ सगरमाथा आधार शिविर जान हिँडेकी थिइन् । उनी ६ हजार १ सय १९ मिटर अग्लो चुचुरो आरोहण गरेर फर्किइन् । कलाकारको व्यस्त जीवनमा ’ब्रेक’ हान्दै आधार शिविर हानिएकी नम्रताले अप्रिल २५ मा सगरमाथाको ‘लोबुचे इस्ट पिक’ आरोहण गरिन् ।
उचाइदेखि डराउने नम्रतालाई चुचुरोमा पुग्न सहज भएन । आधार शिविरमा पाएको हौसलाले नै उनलाई र्पुयायो । बाटाभरि हिमाल चढ्न हिँडेका मान्छेहरू भेटिएपछि उनको जोश बढेको थियो ।
‘भारी बोकेर हिँडेको देख्दा त कसरी हिँडेको होला भन्ने लाग्थ्यो, तर त्यसले जोश भर्ने रहेछ । आत्मविश्वास दिने रहेछ ।’ अप्रिल २४ को रात नम्रता लोबुचे हाइक्याम्पमा बसिन् । त्यतिञ्जेल उनले काठमाडौं छाडेर हिँडेको चौध दिन बितिसकेको थियो । साथमा थिए प्रेमी–दावा स्टेभेन शेर्पा ।
दुईपटक सगरमाथा चढिसकेका दावाको साथले नम्रतालाई आत्मविश्वास दिएको थियो । हौसला दिएको थियो । साथ दिएको थियो । राति १२ बजे दावाले नम्रतालाई उठाए र आरोहणका लागि तयार हुन भने । एक बजे उनीहरूले सँगै खाना खाए ।
त्यतिञ्जेल नम्रतालाई हिमाल आरोहणका क्रममा राति हिँड्नुपर्छ भन्ने थाहा थिएन । ‘राति बाह्र बजे उठेर खानुपर्ने रहेछ । निद्राकै तालमा खाएँ,’ नम्रताले त्यो दिनको स्मरण सुनाउँदै भनिन्, ’झोलामा इनर्जी दिने खानेकुरा बोक्नुपर्ने रहेछ ।’
उनले हिमाल चढ्ने बुट कसिन् । ‘हावा कम लाग्ने भएकाले राति नै हिँड्नुपर्ने रहेछ । हिमाली क्षेत्रमा बिहान साढे ११ बजेपछि एकदमै धेरै हावा चल्न सुरु हुने रहेछ । दिउँसो घामले पोल्ने र शरीरको शक्ति घट्ने रहेछ । त्यसैले राति दुई बजे चुचुरोतर्फ पाइला अगाडि बढायौं ।’
हिँड्न सहज थिएन । जति उचाइमा पुग्थिन्, मन उति काम्थ्यो । ‘एउटा विन्दुमा पुगेपछि धेरै डर लाग्यो । एकदमै चकमन्न । कुनै आवाज नआउने । फेरि छिनछिनमा कोही बोलिरहेको जस्तो लाग्यो । को बोल्छ भन्दै पछाडि फर्किँदै हेरेँ । कोही थिएन । एकोहोरो हावा कानमा ठोक्किएर आवाज आउने रहेछ ।’
नम्रता बारम्बार पछाडि फर्किएपछि दावाले सम्झाए, ‘यहाँ यस्तै हुन्छ ।’ उचाइसँग डराउने नम्रतालाई डोरी समाएर माथितिर उक्लन थप मुश्किल भयो । ‘हिउँमा टेक्न क्रयामबल्स लगाउनुपर्ने रहेछ । त्यसले खुट्टा भारी बनायो । तलतिर यसो हेरेकी थिएँ, खुट्टा थररर काम्न थाले । लल्याकुलुलुक भइहालेँ । ओहो म त सक्दिन भनेँ,’ नम्रताले डर अनुभव सुनाइन् ।
उनले सक्दिनँ भने पनि दावाले आँट र भरोसा दिइरहेका हुन्थे । ‘उचाइ देखेपछि नर्भसै भएँ । दस मिनेट एउटै बिन्दुमा होल्ड भएर बसेँ । म त सकिएँ, म त गएँ भन्ने अनुभव भयो ।’
दावाले सम्झाए, ‘केही हुँदैन सक्छौ, आऊ ।’ नम्रता भित्रको डरले छेउ लाग्यो, आँट अघि बढ्यो । ‘यति धेरै त आइसकेँ, अब के होला र भन्ने भयो,’ नम्रताले भनिन्, ‘जहाँसम्म सक्छु, त्यहाँसम्म जान्छु भनेर अघि बढेँ ।’
अड्किएको दस मिनेटमा नम्रताको मनमा धेरै कुरा खेले । नम्रताले हाइ अल्टिच्युडको सामना भने गर्नुपरेन । मान्छे बोल्न–चल्न नसक्नेसम्म भएर काठमाडौं फर्काएको उनले देखिन् । ती सब देख्दा उनको डरले सीमा नाघ्थ्यो ।
जस्तै डरमा पनि साथी दावाले सम्झाइहरन्थे । बानी नपरेकाहरूलाई उचाइमा असहज हुन्छ । दिमागले कम काम गर्ने गरेको अनुभव नम्रताको छ । यस्ता सबै अप्ठ्यारा परिस्थितिमा दावाले व्यवस्थापन गरेका उनले सुनाइन् ।
‘मलाई उसले हौसला दिइरह्यो । हिमालमा त ऊ सुपर हिरो नै रहेछ,’ उनले हाँस्दै भनिन, ‘मैले त्यहीँ पुगेर उसको काम थाहा पाएँ । उसलाई हिमालमा ‘मेडिसिन’ भन्दा रहेछन् । समस्या समाधान गर्न सधैं अग्रसर दावालाई देखेर मान्छेहरू खुसी हुनेरहेछन् । मलाई उसको साथले ढुक्क बनायो ।’
‘जति हिँडे पनि पुगिँदैन भन्ने लाग्थ्यो । एकपटक त किन चढिराख्या हुँला भन्ने भयो,’ नम्रताले ती क्षण सम्झँदै भनिन्, ’म साथीहरूलाई हेलिकप्टर बोलाउन मिल्छ भनेर सोधिरहन्थेँ ? फर्किऊँ जस्तो हुन्थ्यो । फेरि सोच्थेँ यही अनुभव गर्न त आएको ।’
लगातार हिँडिरहँदा उनी निकै थाकिसकेकी थिइन् । कहिले पुगिएला जस्तो भइसकेको थियो । नम्रता सम्झिन्छन्, ‘जब चुचुरो देखियो, त्यसपछि मात्र सास आयो ।’ लोबुचे इस्ट चुचुरोमा पुगेपछि उनका सबै थकान हराए । अलि अगाडिका डर र दिक्दारी भुलिन् । अनुहार खुसीले उज्यालो भयो । आँखा भरिए ।
‘पुगेपछि त मनै थामिएन । रुन आयो । आखिरमा सकेँ भन्ने लाग्यो,’ उनले भनिन्न् ‘त्यहाँबाट देखिने दृश्यले मनै लोभ्यायो । लोबुचेबाट आमादब्लम, पुमरी, सगरमाथा ठ्याक्कै आँखा अगाडि देखियो । मेरो गला अवरूद्ध भयो । शब्दै निस्केनन् । मेरो सबभन्दा ठूलो डर नै उचाइको थियो, अब मैले जितेँ भन्ने लाग्यो ।’
सगरमाथा चढ्नेहरू लोबुचे पिकमा आरोहण तालिम गर्छन् । उनीहरूका लागि यो सामान्यै हुनसक्छ । ‘मेरा लागि भने आठ हजार मिटर अग्लो हिमाल चढ्नुभन्दा कम थिएन,’ उनी भन्छिन् ।
लोबुचे पिकबाट फर्कन नम्रता लगातार १५ घण्टा हिँडिन् । उक्लिनभन्दा ओर्लिन सहज भयो । सगरमाथा आधार शिविर पुगेर फर्किने सोचले हिँडेकी नम्रता लोबुचे पिकसम्म पुगिन् ।
आधार शिविरमा उनलाई नेपाली–विदेशीहरू घुलमिल भएको देख्दा एकदमै खुसी लागेको सुनाइन् । अग्ला हिमालको प्राकृतिक सुन्दरतासँगै उनले सामाजिक सुन्दरता पनि अनुभव गरेको उनी बताउँछिन् । अग्ला हिमालका अगाडि सबै बराबर । कुनै भेदभाव नभएको । एकअर्कालाई सहयोग गर्ने । हाँसी रहने । निस्फिक्री हुन पाइने ।
‘न मेकअपको चिन्ता, न कपडाको । एउटै ज्याकेट तीन चार दिन लगाए पनि हुने ।’ सेलेब्रेटीको व्यस्त जीवनमा यी सबै कुरा एकदमै ध्यानमा राख्नुपर्ने बाध्यता रहेको उनले बताइन् । नम्रता सगरमाथा क्षेत्रमा दोस्रोपटक पुगेकी हुन् । उनी बेलाबेलामा ट्रेकिङ जान्छिन् । यसले आफूमा ऊर्जा थप्ने उनी बताउँछिन् ।
‘ट्रेकिङ जाँदा आफ्नो स्पेश पाउँछु,’ उनले भनिन्, ‘सहरको भिडभाडमा दिमाग भरिएको हुन्छ । मान्छे भेट्नुपर्छ, फोनमा बोल्नुपर्छ, आफूले आफूलाई समय दिन सकिन्न । हिमाल र पहाडमा आफूलाई भेट्न सक्नुहुन्छ ।’ यसपटकको यात्रामा आफूलाई समय दिनु कति महत्वपूर्ण छ भन्ने बुझ्ने मौका मिलेको उनले बताइन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्