मृग बर्षको शुभकामना, आज गण्डकी प्रदेशमा बिदा
ल्होछार नेपालमा विभिन्न जाति र समुदायले मनाउँदै आएको पर्व हो । यस पर्वले आफ्नै किसिमको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको छ । तर ल्होछार मान्ने जाति र समुदायमा भने एकरूपता नभई फरक–फरक समय र नामले ल्होछार पर्व मनाउँदै आएका छन् ।
तीमध्ये गुरुङ जातिले पुस १५ गतेको दिन ‘तमु ल्होछार’ मनाउँछ भने तामाङ जातिले माघ शुक्ल प्रतिप्रदाको दिन ‘सोनाम ल्होछार’ मनाउँछ । हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाको दिन ‘ग्याल्बो ल्होछार’ मनाउँछन् ।
तमु ल्होछार गुरुङ जातिको मूख्य पर्व हो । ल्होछार शब्द ल्हों र छार मिलेर बनेको शब्द हो, जसको शाब्दिक अर्थ केलाउँदा तमु भाषामा ल्होको अर्थ वर्ष र छारको अर्थ नयाँ हो । यसलाई नयाँ वर्ष फेरिने दिन तथा नयाँ वर्षको रूपमा हेरिन्छ । यही ल्होछार शब्दलाई तिब्बती भाषामा ‘ल्होसार’ भनिन्छ ।
त्यसैले नेपालमा पनि तिब्बती भाषाको निकट रहेको शेर्पा जातिले ल्होछारलाई ल्होसार नै भन्छ । अन्य जातिले पनि हिजोआज ल्होछारलाई कतै ल्होछार त कतै ल्होसार भनेको पाइन्छ । ल्होछार र ल्होसार जे भने पनि यसको अर्थ नयाँ वर्ष नै हो ।
तमु ची (ज्योतिषशास्त्र) अनुसार एउटा ल्होकोर (वर्ष चक्र) मा १२ वटा वर्षहरू हुन्छन् । तिनलाई विभिन्न पशुपक्षी र जीवजन्तुहरूको नामबाट नामाकरण गरिएको हुन्छ । यही ल्होकोरका अनुसार गुरुङहरूले तमु ल्होछार प्रत्येक वर्षको पुस १५ मा मनाउँछन् । यस दिनमा चालु वर्षको अन्त्य र नयाँ वर्षको सुरुवात भएको हुन्छ ।
![](https://everestwall.com/wp-content/uploads/2018/12/tamu-losar-1024x611.jpg)
अहिले चालु वर्ष कुकुर वर्ष हो भने अब आउने मृग वर्ष हो। यसै दिनलाई गुरुङहरू चालु वर्षलाई बिदाइ र नयाँ वर्षको आगमनलाई स्वागत गर्दै तमु ल्होछार मनाउँछन् । त्यो दिन तमुहरू आपसमा शुभकामना आदानप्रदान गर्दै आफूभन्दा ठूला अभिभावक, गुरु र मान्यजनबाट आशीर्वाद थाप्दै रिपु (बेसार रंगाएकोे पहेंलो धागो) गाँठो पारेर लगाउँछन् । साथै साथीसंगीबीच नाचगान गरी मनोरञ्जन गर्छन् ।
ल्होछारको दिन सामाजिक रूपमा सबै साथीसंगी स्योर (चामल उठाएर) स्यौ कै खान्छन् । धार्मिक रूपमा सो दिन धर्मगुरुहरू लामा पच्यु र ग्याब्रीहरूमार्फत आशीर्वाद थाप्ने र धार्मिक आस्थाको केन्द्र मानिने मन्दिर वा गुम्बाहरूमा गई आफ्नो ग्रह शान्ति र कुशलमंगलको कामना गर्दै पूजापाठ गर्छन् । साथै आर्थिक रूपमा व्यक्ति वा संघसंस्थासँग वर्षभरिको आर्थिक कारोबारको हिसाबकिताब मिलान गर्न पनि यसै पुस १५ लाई नै भाका राखेको हुन्छ ।
यसैगरी सांस्कृतिक रूपमा विभिन्न शुभअशुभ कार्यहरू जस्तै–विवाह, छेवार, पुटपुटे, अर्घौ आदि जन्मदेखि मृत्यसम्मका सबै संस्कार र कार्यहरू गर्नका लागि यसै ल्हो (वर्ष) लाई नै आधार मानेर गरिएको हुन्छ। त्यसैले ल्होछार पर्व गुरुङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व हो । त्यसैले गुरुङ समुदायमा तमु ल्होछार पव महत्वपूर्ण रहेको छ ।
वर्ष (ल्हो) को रूपमा गणना गरिने १२ वटा वर्ष चक्रलाई समग्रमा ल्होकोर भनिन्छ । यही ल्होकोर (वर्ष चक्र) मा समावेश भएका पशुपक्षी र जीवजन्तुहरूको नाम यस प्रकारका छन्– १. तल्हो (घोडा) २. ल्हुल्हो (भेडा) ३. प्रल्हो (बाँदर) ४. च्यल्हो (चरा) ५. खिल्हो (कुकुर) ६. फोल्हो (मृग) ७. च्युल्हो (मुसा) ८. ल्वोंल्हो (गाई) ९. तोल्हो (बाघ) १०. हिंल्हो (बिरालो) ११. सप्ह्रील्हो (सर्प) १२. मुप्ह्रील्हो (गरुड) आदि हन् ।
१२ वटा वर्षहरू क्रमशः १२ वर्षसम्म लगातार र प्रत्येक १२ वर्षपछि पुनः त्यही वर्ष दोहोरिन्छ । यिनै वर्षलाई आधार मानेर मानिसको उमेर गणना गरिन्छ । यसरी एउटा वर्षको समाप्तिपछि अर्काे वर्षको आगमन हुने दिनलाई नै ल्होछार पर्वको रूपमा मनाइन्छ । तमुहरूको ची (ज्योतिषशास्त्र) अनुसार नौवटा मेवा र आठवटा पार्क हुन्छन् । ल्हो र मेवाका आधारमा मानिसको प्रकृति वा लक्षण थाहा पाउन सकिन्छ भने ल्हो र पार्कका आधारमा शुभअशुभ फल थाहा पाउन सकिन्छ ।
हिजोआज ल्होछार पर्व मौलिक रूप हराउँदै गएको छ । पश्चिमा संस्कृतिको प्रभावले भविष्यमा यो संस्कृति नै धरापमा पर्ने हो कि भन्ने आम चिन्ता छ । त्यसैले गुरुङ समदायको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिकरूपले प्रतिनिधित्व गर्ने यस पर्वलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवा पुस्ताको काँधमा आएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्