केरुङ जान रसुवाका १० हजारले लिए ‘चाईना पास’
चीनसँग सिमाना जोडिएको रसुवाका बासिन्दा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन् । त्यसका लागि रसुवागढी अध्यागमन कार्यालयले नेपाल–चीन आगमन–प्रस्थान अनुमति पत्र (चाइना पास) उपलब्ध गराउँछ । यो एकपटक बनाएपछि एक वर्षसम्म त्यहीं (केरुङ)बस्न पाइन्छ ।
यस्तो पास अध्यागमन कार्यालयले २०७२ असोज २८ गतेदेखि दिन थालेको हो । त्यसयता करिब १० हजार रसुवालीले चाइना पास लिएका छन् । अहिलेसम्म कार्यालयबाट जिल्लाका ९ हजार ८ सय ४५ जनाले पास लिएको अध्यागमन अधिकृत विष्णु घर्तीले जानकारी दिए ।
त्यसअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था थियो । कम खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न राहदानी बनाइरहनु नपर्ने भएकाले पछिल्लो समय केरुङ जानेको संख्या बढेको कार्यालयले जनाएको छ ।
केरुङमा हाल करिब एक हजार नेपाली कार्यरत छन् । जसमध्ये धेरैजसो होटल, डान्सबार, ट्रान्सपोर्ट र ब्लक निर्माण लगायतका क्षेत्रमा काम गर्छन् । उनीहरू दसैं, तिहार तथा ल्होसारजस्ता पर्वमा घर फर्कने गर्छन् । खाडी मुलुक जान छाडेर केरुङ जाने नेपाली बढेको त्यहाँ कार्यरत रसुवाका पुरुषोत्तम पौडेलले बताएका छन् ।
केरुङका होटल तथा डान्सबारमा करिब पाँच सय नेपाली किशोरी कार्यरत छन् । जसमा तीन सयजति सुवाका छन् । ‘दिनभर होटलमा काम गरेर राति डान्सबारमा काम गर्ने पनि छन्,’ एक किशोरीले भनिन्, ‘यस्तो समस्याचाहिँ चिनियाँ होटलमा काम गर्ने बढी छ ।’
केरुङमा आधा दर्जन जति नेपाली होटल पनि छन् । चाइना पास बनाउने सबै जना रोजगारीकै लागि गएका हुँदैनन् । रसुवागढी नाका खुला भएपछि रोजगारीका लागि केरुङ जाने व्यापारी, व्यवसायी र चालक बढेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्