सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कपाल काटेरै महिनामा लाख कमाउँछन् श्रीराम

देशका हरेक बजार क्षेत्र र चोकमा सैलुन देखिन्छन् । तिनका अधिकांश सञ्चालक भारतीय र केही तराई मूलका नेपाली छन् । यो पेसामा पहाडी युवाहरुको खासै रुचि देखिँदैन । बरु, खाडी मुलुकको चर्को गर्मीमा काम गर्न जान तयार हुने तर, पंखाको हावा खाँदै सैलुन व्यवसाय चलाउन नचाहने युवा जमात ठूलो छ ।

ठूलो लगानी नचाहिने, आम्दानी राम्रो हुने यो पेसाप्रति पहाडी युवाको धारणा नै नकारात्मक छ । यस्तो युवा जमातमा सैलुन व्यावसायको शक्ति बुझ्नेहरु पनि देखिन थालेका छन् । तिनैमध्येका एक भरतपुर महानगरपालिका–२१ का श्रीराम सिग्देल यो पेसामा जमिसकेका छन् ।

भरतपुरको चौबीसकोठीमा ‘पपुलर जेन्ट्स एण्ड लेडिज सैलुन’ चलाएका उनको मासिक आय एक लाख रुपैयाँभन्दा बढी छ । आरामले आधुनिक सैलुन चलाएका सिग्देलले पाँचजनालाई रोजगारी दिएका छन्, पसलको भाडा नै मासिक ५० हजार तिर्छन् । उनका नियमित ग्राहक छन् ।

कपाल काटेको २५० र दारी काटेको १५० रुपैयाँ लिन्छन् । यो शुल्क अन्यत्र भन्दा महँगो भए पनि आरामदायी सेवाका कारण ग्राहकको कमी नभएको सिग्देल बताउँछन् । सैलुनमा श्रीमती सुष्मिता सिग्देल पनि व्यस्त रहन्छिन् ।

व्युटिसियन तालिम लिएकी उनी कपाल काट्ने, कलर गर्ने र फेसियल देखि बेहुला र बेहुली श्रृङ्गारपटारसम्ममा सिद्वहस्त छिन् । सिग्देलले भन्छन्–‘सैलुन व्यवसायबाट नेपालमै परिवारसँग रमाएर दैनिक तीन–चार हजार आरामले कमाउन सकिन्छ, मासिक २०–२२ हजारका लागि किन जाने विदेश ?’

Shreeram Sigdel Hair sailoon

२०७० सालदेखि यो पेशा अपनाएका सिग्देल दम्पत्तिले सैलुनसँगै विभिन्न तालिम कार्यक्रम चलाएका छन् । १२ कक्षामा पुगेको बेला घरको आर्थिक अवस्थाले गर्दा कतार पुगेका सिग्देलले त्यहाँ दुईवर्ष तातो हावा खाए । त्यहाँको उद्योगमा कामदार बन्दा कमाइ भएन, जाँदा लागेको ऋणसम्म तिरे ।

‘दुई वर्ष बुढो भएर देश फर्किएपछि के काम गरेर जीविका चलाउने भन्ने भयो’, उनी भन्छन्, ‘अनि मैले रातदिन गमेर एकदमै नगदमा काम हुने सजिलो पेसा छानेँ ।’ त्यसका लागि हातमा सीप नभएकाले उनी सैलुनसम्बन्धी तालिम लिन ६ महिना काठमाडौं बसे । त्यो अवधिमा अभ्यास महत्त्वपूर्ण थियो ।

सिग्देलले पढ्न र जागिर खान काठमाडौं बसेका परिचितहरुको नाम र फोन नम्बरको सूची बनाएर उनीहरुलाई पालैपालो बोलाउँथे । परिचितले सित्तैमा कपाल काट्न पाए भने सिग्देलले सिक्न पाए ।

काठमाडौंमा सीप सिकेर भरतपुरमा सैलुन खोल्न खोज्दा घरमा कोही खुशी भएनन् । छिमेकी र नातेदारहरुले पनि बाहुनको छोरो भएर दुनियाँको कपाल काट्न बस्ने भन्दै जिस्काउन थाले । तर, अडिग भएर सिग्देलले चौबीसकोठीमा सैलुन खोले । त्यसरी यो पेसामा जमेका उनी भन्छन–‘कपाल र दारी–जुँगा काट्ने जस्तो सजिलो पेसा अरु हुँदैन, सानो लगानीबाट नियमित रुपमा धेरै आम्दानी गर्न सकिन्छ ।’

पपुलरबाट ‘पपुलर’ बनेका सिग्देल दम्पत्तीले गत साउनबाट भरतपुरकै सिजी ल्याण्डमार्कमा पपुलर युनिसेक्स सैलुन खोलेका छन् । त्यहाँ ६ जनाले रोजगारी पाएका छन् । निकट भविष्यमा नवलपरासीको कावासोती र पूर्वी चितवनको पर्सामा पनि शाखा खोल्ने योजना छ ।

सिग्देल दम्पत्तिले पपुलर जेन्ट्स एण्ड लेडिज सैलुन र ब्यूटीपार्लरलाई सीप सिक्ने थलो बनाएका छन् । लेडिज र जेन्स दुवै हेयर कटिङ सिकाउने गरेका छन् । यसका लागि तीन महिनादेखि छ महिनासम्मको कोर्ष गराइन्छ ।

सिकारुहरुलाई पहिला ‘डमी’मा सिकाइन्छ । त्यसपछि उनीहरु साथीभाइ बोलाएर कपाल काट्छन् । अहिलेसम्म करिब दुईसय जनालाई तालिम दिएको सिग्देलले बताए । तीमध्ये ९ जनाले भरतपुरमै सैलुन खोलेका छन् ।

अनलाईनखबरबाट साभार

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS