सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मिर्गौला फेर्ने मनिस्थितिमा प्रधानमन्त्री ओली

मिर्गौलाले एकाएक काम गर्न छाडेपछि अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते दुईपटक डायलसिस गराएर सरकारी निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसयता सक्रियता ह्वात्तै बढाएका छन् ।

बालुवाटारमा बैठक बाक्लिएका छन्, निर्णयहरू धमाधम हुँदैछन् । प्रधानमन्त्री ओलीले छलफल र भेटघाटको शैली पनि परिवर्तन गरेका छन् । स्रोतका अनुसार उनले असन्तुष्ट पक्षको समेत कुरा सुन्दै गुनासो सम्बोधनमा प्रयास गर्ने वचन दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार झन्डै चार घण्टा छलफल गरेर करिब ३ महिनादेखिको संवादहीनता तोडेका ओलीले बिहीबार साँझ फेरि उनीसँग लामो कुराकानी गरेका छन् । करिब डेढ घण्टा भएको छलफल मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी नपाएका पार्टी नेताहरूको व्यवस्थापनमा केन्द्रित रहेको स्रोतले बताएको छ ।

नेताहरूको जिम्मेवारी बाँडफाँट लगभग सकिँदा नेपालनिकट केही स्थायी र केन्द्रीय समिति सदस्यहरू भूमिकाविहीन रहेकाले ती नेताबारे पनि उनीहरूबीच कुराकानी भएको नेपालनिकट स्रोतले जनाएको छ ।

नेता नेपालसँग भेट्नुअघि बिहीबार दिउँसो प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालसँग करिब ४ घण्टा कुराकानी गरेका थिए । अध्यक्षद्वयबीच पार्टी एकीकरणका बाँकी कामदेखि मन्त्रिपरिषद् गठनसम्मका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

नेकपाका एक सचिवालय सदस्यले भने–‘उहाँहरूबीच पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपचुनाव लगायत विषयमा एकमुष्ट छलफल भइरहेको छ ।’

बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेटेका थिए । लगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र त्यसपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले दाहाल र नेपालपछि आफूनिकट नेताहरूसँग सरकार र पार्टी सञ्चालन लगायत विषयमा कुराकानी गरेका हुन् ।

KP Sharma Oli

नेकपाका ती सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारी गरेका छन् । तीन दिनयता ओली र दाहालबीच यिनै विषयमा घनिभूत छलफल भइरहेको उनको भनाइ छ ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेका नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले अहिलेको परिस्थितिका कारण पनि दुई अध्यक्षको छलफल बाक्लिएको बताए । ‘अहिले अवस्था नै त्यस्तो छ, धेरै काम गर्नु परिरहेको छ, त्यसैले उहाँ (प्रधानमन्त्री) को सक्रियता बढेको जस्तो देखिएको हो,’ उनले भने, ‘उहाँ सधैं सक्रिय हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीसँग बिहीबार दिउँसो बालुवाटारमा केहीबेर छलफल गरेका नेकपा महासचिव विष्णु पौडेलले प्रधानमन्त्री भएका हिसाबले उनको सक्रियता धेरै हुनु स्वाभाविक रहेको बताए । उनले प्रधानमन्त्रीसँग आफ्नो सामान्य भेटघाट मात्रै भएको जानकारी दिए ।

बिमारका कारण प्रधानमन्त्री ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरूले सुझाएका छन् । त्यसैले उनले बालुवाटारबाटै नियमित काममा सक्रियता बढाएका हुन् ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन् । यस विषयमा छलफल चलिरहेको छ । प्रत्यारोपणका लागि विदेश जानुअघि नै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको ती मन्त्रीले बताए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालय सञ्चालनमा कमजोर कार्यक्षमता देखाएका मन्त्रीलाई बिदाइ, केहीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको काम तत्काल टुंग्याउन चाहेका छन् ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको फेरि उपचार गर्नुपर्ने भए पनि ठ्याक्कै यही पद्धति अपनाउने भन्ने टुंगो लागिसकेको छैन । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो भने उनको लामो समय उपचारमा बित्न सक्छ । त्यसैले थप उपचार सुरु गर्नुअघि नै पार्टी र सरकार सञ्चालनका लागि आवश्यक निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री पुगेको स्रोतले जनाएको छ ।

पार्टीको पछिल्लो निर्णयका कारण असन्तुष्ट रहेका नेपाल पक्षधरलाई पनि समेटेर पार्टीबारे शीर्ष नेताहरूको एकैखाले धारणा बनाउन छलफल बाक्लिएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो । ओलीकै प्रस्तावमा गत साउनमै सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय नेकपाले गरिसकेको छ ।

ओलीले उक्त निर्णय अनुमोदन गर्न छिट्टै स्थायी समिति बैठक बोलाउने आश्वासन गौतमलाई दिइसकेका छन् । प्रधानमन्त्री ओलीनिकट एक मन्त्रीले भने–‘स्थायी समिति र केन्द्रीय कमिटीको बैठक डाक्नुअघि प्रधानमन्त्रीले शीर्ष तहमा देखिएका सबै समस्या समाधान गर्न चाहनुभएको छ ।’

पार्टी एकीकरणका मुख्य काम टुंगोमा पुगे पनि अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । पार्टी विधानमै ६–६ महिनामा केन्द्रीय समिति र ३–३ महिनामा स्थायी समिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । तर पार्टी एकीकरण घोषणापछिका १८ महिनामा स्थायी समिति बैठक पनि एक पटक मात्रै बसेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्