सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

के रुकुमको सोतीगाउँ घटना जातीय बिभेद नै हो ?

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा गत शनिबार साँझ भएको घटना अहिले देशभरी चर्चा र चासोको विषय भएको छ । सडक देखी संसदसम्म ब्यापक बहस भइरहेको छ भने स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा यससँग सम्बन्धित सामाग्रीहरु प्रकासन तथा प्रशारण भइरहेको छन् ।

यसबिचमा घटनाबारे कति सत्य कुराहरु आए, कतिपय समाचार तथ्यभन्दा बाहिर पनि देखिए । घटनापछि जाजरकोटमा दर्जनौं युट्युवरहरु पुगेर मृतकका परिवारहरुलाई थप पीडा दिने काम भएको भन्दै सामाजिक संजालमा आलोचनाहरु समेत भैरहेका छन् । आजको यो सामाग्री रुकुमको चौरजहारी घटनाका विषयमा उठेका केही प्रश्न र केही भ्रमबारे हामीले बुझेको यथार्थ र अनुसन्धान प्रकृयाका विषयमा केही उजागर गर्ने प्रयास गरिएको छ ।

रुकुमको चौरजहारीमा भएको सामुहिक हत्याको घटना एउटा दुःखद र जघन्य घटना हो र यो अपराध हो । चाहे त्यो जुनसुकै बहानामा भएको किन नहोस् । कारण जे सुकै भएपनि सारा गाउँले एकजुट भएर लखेटी लखेटी कुटीकुटी मार्नु भनेको अमानवियताको यो भन्दा ठुलो पराकाष्ठा अरु हुनै सक्दैन । यो सामाग्री पढ्दै जाँदा तपाईलाई तल तपाईलाई कतै एकपटक यो बाक्य फेरी पढ्नुहोला ।

यो हामीले किन भनिरहेका छौँ भने घटनाका घाईते जो कुटिए उनीहरु स्वयंले खुद यो भनिरहेका छन् । भलै घटनामा कुटिनेहरुले बोलेको कुरा झुट नै होस्, मानौ गाउँलेहरुले नै भने झैँ गाउँलेहरुले लखेट्ने क्रममा बच्नका लागी नदिमा हाम फाल्ने क्रममा पौडी खेल्न नजानेर नरवराजसहितका ६ जनाको बगेरै ज्यान गएको किन नहोस् । यो भन्दा निर्मम अपराध अरु कुनै हुनै सक्दैन ।

घटना घटिसक्यो, अमानविय अपराध जुन नहुन पर्ने थियो त्यो भइसक्यो । तर कानुनी राज र सामाजिक न्यायको पहिलो सर्त, त्यो घटनाको खास कारण के हो ? अर्थात के कारणले त्यसरी निर्ममतापुर्वक मारिनुपर्यो भन्ने कुराको सत्य तथ्य पत्ता लगाइनु र सार्बजनिक गरिनु पिडितले न्याय पाउने पहिलो आधार हो ।

प्रत्यक्षदर्शी र घटना हुनुपूर्वका दुबै पक्षका विभिन्न कमीकमजोरी, घटनाक्रमहरु बाहिरिएका छन् । तर यस अवस्थामा ती सबै बिषयहरु सहायक विषय भएका छन् । किनकी ५ जना मान्छेको ज्यान गएको छ, एक जना बेपत्ता छन् । सम्भवतः बेपत्ता भनिएका छैठौँ व्यक्ति गोविन्द शाही पनि जिउँदो छैनन् । उनको लास भेटिएको छैन त्यति मात्रै हो । यसअर्थमा पीडितले न्याय पाउनुपर्छ, दोषीलाई हदैसम्मको सजाय हुनुपर्छ । यसका लागि उक्त घटना कानुनी प्रकृयामा प्रवेश गरेको छ । मृतक परिवारका तर्फबाट किटानी जाहेरी दर्ता भैसकेको छ । जसअनुसार १८ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरि अदालतबाट समेत १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

Nabaraj BK Kanda

घटनाको भित्रि कारण र विषयमा आधिकारिक रुपमा प्रहरीले कुनै पनि कुराहरु सार्वजनिक गरेको छैन । अहिलेसम्म सार्वजनिक भएको छ त केवल बिहे र प्रेम समन्धका विषयमा उक्त घटना घटेको, केटा पक्षका ५ जनाको शव फेला परेको, एक जना बेपत्ता भएको, घटनाको आशंका र किटानी दर्ताको आधारमा केटी पक्षका १८ जना पक्राउ परेको र अन्य कारणहरुको बिषयमा रुकुम पश्चिम र जाजरकोट प्रहरी लगायतका निकायहरुबाट अनुसन्धान भैरहेको । यही हो अहिलेसम्म प्रहरीले खोलेको तथ्य ।

के जातिय बिभेद नै घटनाको मुख्य कारण हो त ?
घटनाको विषयमा केटा र केटी पक्षका विषयहरु लिएर आ–आफ्नै तर्क र धारणाहरु सार्वजनिक हुने क्रम रोकिएको छैन । अहिलेसम्म उक्त घटनाको विषयमा अधिकारकर्मीहरुले पनि अनुगमन त गरेका छन तर कुनै स्वतन्त्र अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छैनन् । जसका कारण दुबै पक्षका कुराहरु नै विश्लेषण भैरहेका हुन् ।

जसअनुसार केटा पक्षको आफन्तजन र नवराजसंगै गएका साथीहरुका अनुसार जाजरकोटबाट नवराज बिक आफ्नो १९ जना साथीहरु लिएर चौरजहारी नगरपालिका स्थित सोती गाउँमा १७ बर्षिया सुस्मा मल्ललाई भगाउन पुगेका थिए । केटा–केटीबीचको सम्बन्ध राम्रो थियो, केटीले नै केटालाई फोन गरेर आफूलाई लिन डाकेकी थिइन् । जब उनीहरु केटीको घरनजिक पुगे तब केटी (सुस्मा मल्ल)को आमाले कामी डुम भन्दै नवराजलाई कराईन र सुस्माको आमा कराएपछी जम्मा भएका गाउँलेद्वारा नवराजको समुहलाई लखेटियो, कुटियो र गाउँ नजिकैबाट बग्ने भेरि नदिमा बगाइयो ।

उता केटीपक्षका आफन्तको कुरा अनुसार साँझको समय थियो, लकडाउनको समय, जसका कारण जाजरकोटबाट १९/२० जनाको समूह गाउँमा आउँदा, केटीको घरनजिक पुगेर हो–हल्ला गर्दा कहाँ के भयो भनेर गाउँलेहरु जम्मा भएको र लकडाउनको समयमा किन यत्रो मान्छे बाहिरबाट आएको भनेर बादबिबादहरु र झगडा हुँदा भागदौड हुन पुगेको र यस क्रममा भेरी नदीमा बगेर उनीहरुको ज्यान गएको हुनसक्ने बताएका छन् ।

उनीहरु अन्तरजातीय भेदभावका कारण घटना घटेको भनाइप्रति सहमत छैनन् । जेजस्तो तर्क आएपनि प्रहरी प्रशासनको अनुसन्धानपछी घटनाको पक्कै पनि सत्यतथ्य बाहिर आउने छ र पीडितले न्याय पाउनेछन् । शवको पोष्र्टमार्टम रिपोर्ट आइसकेको छ । पोष्ट मार्टम रिपोर्टमा मृतकको टाउको लगायतका सम्वेदनशिलमा चोट लागेको र पेटमा पानि नभएको अर्थात पेट खालि भएको भनिएको छ । यसको अर्थ पानिमा डुबेर मृत्यु नभएको भन्ने बुझ्न सकिन्छ । सामान्यतया पानिमा डुबेर मृत्यु हुनेको पेट र शरिरमा पानि भरिएको हुन्छ ।

अहिलेसम्म प्रस्ट नखुलेको तथ्य, घटना हुनुको कारण के हो त ? किन उनीहरु मारिए भन्ने हो । समाचार र सामाजिक सञ्जालमा आएका सामाग्री अध्ययन गर्ने हो भने अन्र्तजातिय प्रेम नै घटनाको मुख्य कारण भएको देखिएको छ । यो घटना हुनुमा अन्तरजातीय प्रेमसम्बन्ध पनि एउटा कारण हुनसक्छ । तर जातीय विभेदमात्र घटनाको मुख्य कारण हो भन्ने अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भएको छैन । र सार्बजनिक भएका तथ्यहरुले पनि यही यथार्थलाई दर्शाउँछन् ।

जस्तो कि, उक्त घटनामा केटाको पक्षबाट केटि भगाउन भनेर आएका भनिएका १९ जना युवामा सबै दलित मात्र छैनन् । शाही, बुढा, मगर र अन्य जाती पनि छन् । केटा पक्षकै तर्फबाट आउने १८ जना मध्येका एक जना जाजरकोटकै गोबिन्द शाही जो ठकुरी हुन उनी पनि बेपत्ता नै छन् । जातिय बिभेदको मात्रै कुरा हुन्थ्यो भने गोबिन्द शाही, गणेश बुढाहरु नमारिनुपर्ने भन्ने एकखालेको तर्क छ ।

हुनसक्छ, नवराजका साथीहरु को–कुन जातको भनेर युवतीतर्फकाले नचिनेका हुनसक्छन् अथवा चिने पनि नवराजलाई साथ दिएका कारण जो जुन जातको भएपनि सबै युवतीका आफन्तहरुको सिकार बनेका हुनसक्छन् भन्ने अर्को खाले तर्क छ । यदी यी दुबै तर्कहरुलाई मान्ने हो भने पनि केटीको तर्फबाट दलित, जनजाती र कथित ठुलो जात भनिने मल्ल ठकुरी लगायतका ठुलो संख्यामा गाउँलेहरु नै घटनामा संलग्न भएको भनेर घाईते भएका नवराजकै साथीहरुले भिडियो अन्र्तवार्ताहरुमै भनेका छन् ।

यदी जातीय बिभेदको कुरा मात्र हुन्थ्यो भने युवतीतर्फका तथाकतिथ ठुलो जातका मल्लहरु मात्र घटनामा संलग्न भएको हुनुपर्ने तर घटनामा गाउँमा भएका दलित, जनजाती लगायतको पनि संलग्नता भएको भनिएको छ । तर मृतकका परिवारले यो घटना घट्नुमा अन्तरजातीय प्रेम नै मुख्य कारण भएको भनेकाले अधिकांशको बुझाईमा त्यही छ । तर केटी पक्षका आफन्तहरुले अन्तरजातीय विभेदलाई स्वीकार गरेका छैनन् ।

उनीहरुले गाउँको लागि यो नौलो कुनै अन्तरजातीय प्रेम वा विवाहको विषय नै नभएको बताएका छन् । सोती गाउँमा नै दलितको छोरी मल्ल परिवारले र मल्ल परिवारको छोरी दलितले कुनै भेदभाव बिना सहज तरिकाले घरव्यवहार चलाएको तीनचार वटै उदारहणहरु छन् । त्यसकारण दलित र गैरदलित बिचको खाडल नै समस्याको मु्ल जड हो भन्ने हालसम्म कुनै आधिकारिक पुष्टि छैन ।

जसरी उक्त घटनामा वडा अध्यक्षले जातीय भेदभाव गरेको र उनकै नेतृत्वमा घटना घटाइएको भनिएको छ उनी आफैले पनि पुन मगरकी छोरी बिहे गरेका छन् । यसको मतलव वडा अध्यक्ष वा अन्यले गाउँमा अन्तरजातीय बिहे गर्दैमा ती व्यक्तिहरु अन्य अपराधमा संलग्न हुँदैनन् भन्ने तर्क त होइन । तर यसअघि अन्य तीनचार वटा अन्तरजातीय बिहे स्वीकारिसकेको समाजमा यसपटक कसरी अन्तरजातीय विभेद भयो, वा उक्त घटना घट्यो त्यो भने फरक पाटो र अनुसन्धानकै विषय छ, र बनाउनुपर्छ ।

के भेरीमा भेटिएको शव डोरीले बाँधिएको अवस्थामा थियो ?
घटनामा वेपत्ता भएका ६ जनामध्ये एक जनाको शव डोरीले बाँधिएको अवस्थामा भेरी नदीमा फेला परेको भनेर स्थानीय तथा राष्ट्रिय संचार माध्यमहरुमा पनि समाचार आयो । के भेरी नदीमा भेटिएको शव डोरीले बाँधिएको अवस्थामै भेटिएको हो त ? प्रहरीले त्यसलाई पुष्टि गरेको छ त ? अर्थात डोरी हात बाँधेको भनेर पुष्टि हुने आधार के त ? प्रहरीले यसको पुष्टि गरेको छैन ।

प्रहरीले उक्त शवको एउटा हातमा नदिमा माछा मार्न प्रयोग गरिने पासा मात्र बेरिएको बताएको छ । तर केही मिडियामा दुईओटै हात पछाडी बाँधीएको थियो भनेर समाचार बनाएपछी धेरैलाई मारेर हात बाँधेर फालिएको भन्ने लागेको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका भिडियो फुटेज र तस्विरहरुलाई हेर्ने हो भने पनि शवमा डोरी बाँधेको देखिन्छ । तर त्यो डोरी पहिले नै बाँधिएको नभई नदिबाट शव बाहिर निकाल्न सजिलोका लागी पछी बाँधिएको उद्धारमा संलग्नले बताएका छन् ।

घटनालाई राजतितिक संरक्षण दिने चिन्ता
अर्को एउटा गम्भिर र चिन्ताको बिषय भनेको घटना घटेपछि राजनीतिक रंग दिने प्रयास समेत भएको छ । रुकुम पश्चिमका सांसद तथा पूर्वगृहमन्त्री जर्नादन शर्मा र जाजरकोटका सांसद तथा हालका बनमन्त्री शक्ति बस्नेतको बिरुद्धमा जसरी प्रचारबाजी भैरहेको छ यसले घटनालाई थप राजनीतिकरण गर्न मलजल गरेको छ । एउटा जघन्य अपराधको रुपमा देखिएको घटनालाई यही मौकामा एउटा पार्टीले अर्को पार्टीलाई र एक व्यक्तिले अर्को व्यक्तिलाई वा अन्य विषयमा हिलो छ्यापाछ्याप गर्नु पिडितमाथी अन्याय र अपराधमाथीको राजनिति हो । दुबै जिल्लामा सांसदहरुले पनि घटनालाई राजनीतिकरण हुन नदिएर सत्य, तथ्य छानबिन गरी मृतक परिवारलाई न्याय र राहत उपलब्ध गराउनमा नै केन्द्रित हुनुपर्छ ।

घटना घटेपछि केटा र केटी पक्षको तर्फबाट आएका कुराहरुलाई आ–आफ्नो धारणा बनाएर टिप्पणी र तर्कबितर्क बढेका छन् । उक्त घटनामा एउटा मुख्य कुरा त जातीय विभेद भनेर आएको छ नै संगसंगै अन्य केहि विषयहरु पनि बाहिरिएका छन् । त्यसबीचमा एउटा हो बालबिबाह । स्थानीय प्रहरी र संसदमा गृहमन्त्रीले दिएको जवाफमा पनि केटीको उमेर १७ बर्ष छ । के १७ बर्षकी बालिकालाई बिहे गर्न पाइन्छ ? जातीय भेदभाव जस्तै बालबिबाह पनि सामाजिक तथा कानुनी अपराध हो भन्ने पनि तर्कबितर्क र प्रश्न नउठेको होइन ।

त्यस्तै प्रेम नै भएको भए १९÷२० जनाको जमात नै लिएर जान आवश्यक थियो त ? नवराजकै आमाको भिडियो अन्तरवार्तालाई आधार मान्ने हो भने उनीहरुको नियमित सम्पर्क भइरहन्थ्यो । फोनमै एक्लै बोलाएर अरुले थाहा नपाउनेगरी भाग्न सक्ने सहज उपाय छँदै थियो । कोरोनाका कारण भएको लकडाउनले एक गाउँबाट अर्को गाउँ जान प्रतिबन्ध लागेको बेला लडाईँको मैदानमा जान लागेझैँ पल्टन नै बोकेर जानुपर्ने बाध्यता त थिएन होला । दुबैले एकअर्कोलाई मन पराउने, केटिको परिवारले स्वीकार नगर्ने र प्रेमिप्रेमिका बिहे गर्न राजी भइसकेको अवस्थामा सुस्माले नवराजलाई घरमै लिन किन बोलाईन ? त्यो पनि दलबल सहित ? यो चाँही शंका र अनुसन्धानको बिषय हो ।

अन्य कुनै यसअघिका विवादित घटनाक्रमले पनि उत्तेजित रुप लिएर यो घटना भयो कि ? केटीले नै आफूलाई लिन बोलाएको सत्य रहेछ भने पनि के उमेर नपुगेको बालिकाले गरेको निर्णय सही ठहर्छ ? के दुबै पक्षले सचेतना वा संवेदनशिलता अपनाउन नसक्दा यस्तो घटना घटेको हो ? यी र यस्तै थुपैं प्रश्न र प्रतिप्रश्न पनि नउब्जिएका होइनन् । यी सबै प्रश्न र प्रतिप्रश्नको जवाफ आउने गरी र त्यसपछि सृजित घटनालाई कसरी लिने भन्ने जस्ता कुराहरु थप अनुसन्धानका क्रममा आउने नै छन् । सँगसँगै कारण जे सुकै भए पनि नवराजसहितका ६ जना मारिनु कुनै पनि सर्तमा स्वीकार्य र क्षम्य हुँदै न । यदी यसमा कसैले घटनालाई कमजोर बनाउन, कुनै पनि दोषिलाई बचाउन खोज्छ भने कानुनी राजको उपहास र जनताको संघिय लोकतन्त्रको अपमान हो । यसमा स्वयं राज्य नै दोषि हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्