सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेलमा भारत

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजेको दाबी गरेका छन् । भारतको यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटारमा गरेको कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले हप्ता–१५ दिनमा प्रधानमन्त्री परिर्वतन हुन्छ भन्न थालिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्–‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता–१५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनिँदैछ । भारतका मिडिया सुन्नु भएको होला, भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ।’

KP Sharma Oli

अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरे लगतै आफ्नो सरकार ढलेको उनले स्मरण गरेका छन् । नेपालले १४६ वर्ष उपभोग गरेको तर ५८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताएका छन् ।

‘यहाँहरुलाई सम्झना होस्, चीनतिर पनि ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्याथ्यो, किनभने हामीसँग बहुमत थिएन’ उनले भने, अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ केके भैराख्या छ ।’

‘यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।’ नेपालको नक्सा छापेरे कुनै गल्ती नगरेको भन्दै उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना पूरा नहुने बताएका छन् ।

म तपाईहरुलाई यत्ति भन्दिन्छु–‘नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचे पनि हुन्छ ।’

आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने उनले बताएका छन् । उनले भनेका छन्–‘कोसिस गर्नेलाई त गर्न दिनू, तर हिजोको जस्तो होइन । कसैले हतारो नगरे पनि हुन्छ । र, कसैले विभिन्न आग्रहहरु नपाले पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको पनि बताएका छन् । तर यतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘किनकि भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि ।’

नयाँ नक्सा छापेपछि कतिपयले गाह्रो हुन्छ, ‘प्वाइन्ट अफ नो रिटर्न’ अर्थात पछाडि फर्किने ठाउँ नै नभएको भनेको उनले सुनाएका छन् । उनले भनेका छन्–‘मैले भन्ने ग¥या छु पोइन्ट अफ नो रिटर्न नै ग¥या हो । हामीलाई हाम्रो भूमि चाहियो । फिर्ता नलिइकन छोड्दैनौं । पोइन्ट अफ रिटर्न छैन । पोइन्ट अफ नो रिटर्न नै हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्