सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिरिन्ज अभाबमा कोरोना खोप कार्यक्रम स्थगित

खोपका लागि आवश्यक सिरिन्ज उपलब्ध नभएपछि मंगलबारदेखि सुरु गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । उपत्यकाका तीनसहित आठ जिल्लामा ११ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने सरकारको लक्ष्य थियो ।

कोभाक्स सुविधाअन्तर्गत प्राप्त ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोपसँगै सिरिन्ज आउनुपर्ने थियो । तर सिरिन्ज नआएपछि अभियान केही दिनका लागि पछि धकेलिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्राविधिक कारणले सिरिन्ज नआएको र आउनासाथ खोप अभियान सुरु हुने बताए । अधिकारीले भनेका छन्–‘फाइजर खोपसँगै आउनुपर्ने सिरिन्ज प्राविधिक कारणले आएन, अभियान एक–दुई दिनपछि सुरु गरिनेछ । सिरिन्ज आउनासाथ आठै जिल्लामा खोप अभियान सञ्चालन हुन्छ ।’

स्वास्थ्य मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप अभियान सुरु गर्ने जनाएको थियो । फाइजरको पहिलो डोज पुस १३ देखि २२ सम्म र दोस्रो डोज माघ ४ देखि १३ गतेसम्म दिइने मिति तय भएको थियो ।

हालसम्म खरिद र अनुदान सहयोगअन्तर्गत ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप प्राप्त भएको छ । खोप अभियान सुरु भएको ३३५ औं दिन अर्थात् सोमबारसम्म २ करोड ३७ लाख ४० हजार २ सय ९६ डोज खोप लगाइएको छ । यस हिसाबले भण्डारणमा १ करोड ५४ लाख ६३ हजार ६ सय ३१ डोज खोप अझै बाँकी छन् ।

Corona vaccine

करिब १ करोड ७५ लाख डोज थप खोप २०२२ को मार्चभित्र आइसक्नेछ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार अक्सफोर्ड÷अस्ट्राजेनेका–कोभिसिल्ड, सिनोफार्म, भेरोसेल, जान्सेन, फाइजर, मोडर्ना गरी ६ प्रकारका खोप विभिन्न प्रक्रियाबाट भित्रिएका छन् ।

नेपालमा २ करोड ५० लाख ५४ हजार १ सय ७ डोज खोप विश्व स्वास्थ्य संगठनअन्तर्गत ‘कोभाक्स’ कार्यक्रमबाट भित्रिएको छ । कुल खोपमध्ये ६३.९० प्रतिशत कोभाक्सअन्तर्गतको हो । कोभाक्सअन्तर्गतकै एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको जान्सेन खोप ३७ लाख ११ हजार ५ सय डोज खोप अमेरिका र जर्मनीले अनुदानमा दिएका हुन् । भारतले ११ लाख र चीनले ३८ लाख डोज सहयोग स्वरूप प्रदान गरिसकेका छन् ।

सबैभन्दा बढी खोप चीनबाट भित्रिएको छ । भित्रिएका खोपको ४७.३२ प्रतिशत हिस्सा चीनमा निर्मित भेरोसेल र सिनोफार्मको छ । चीनबाट हालसम्म १ करोड ८५ लाख १ हजार ४८७ डोज खोप भित्रिएको छ । त्यसमध्ये ३८ लाख डोज अनुदानमा प्राप्त भएको हो । नेपाललाई प्राप्त खोपमध्ये दोस्रो बढी ३१.९४ प्रतिशत ‘अक्सफोर्ड÷अस्ट्राजेनेका–कोभिसिल्ड’ छ भने सबैभन्दा कम अर्थात् १.९५ प्रतिशत फाइजरको खोप छ ।

कुल खोपमध्ये ३०.७० प्रतिशत अर्थात् १ करोड २० लाख मात्रा खोप खरिदको रहेको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार भित्रिएको कुल खोपमध्ये २५.५० प्रतिशत अर्थात् १ करोड मात्रा चीनबाट र ५.१० प्रतिशत अर्थात् २० लाख मात्रा भारतबाट खरिद गरिएको हो ।

कुल जनसंख्याको ३३.५ प्रतिशत अर्थात् १ करोड १ लाख ६६ हजार ५ सय ४ जनाले पूर्ण र ४४.७ प्रतिशत अर्थात् १ करोड ३५ लाख ७३ हजार ७ सय ९२ जनाले एक डोज खोप लगाइसकेका छन् । गत वर्ष माघ १४ मा भारत सरकारबाट अनुदानमा उपलब्ध गराइएको कोभिसिल्ड खोप स्वास्थ्यकर्मीलगायत फ्रन्टलाइनरलाई लगाएर खोप अभियान सुरु गरिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्