नेपालमा पुरुष भन्दा किन धेरै महिलाको संख्या ?
केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्यो । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यस्तै जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८ पछिको सबैभन्दा न्यून वृद्धिदर हो ।
जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ । नेपालमा पुरूषभन्दा महिलाको संख्या ६ लाखले बढी छ । २०६८ सालको जनगणनामा जस्तै अहिले पनि महिलाको संख्या बढी देखिएको छ ।
त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापक महेन्द्रप्रसाद शर्मा दक्षिण कोरिया, चीन र भारतमा जस्तो लैंगिक असन्तुलन नेपालमा नदेखिएकाले आत्तिहाल्नु नपर्ने बताउँछन् ।
‘लिंग पहिचान गरेर गर्भपतन गराउने, लैगिंक विभेदजस्ता कुरा समाजमा देखिएपनि जनसंख्याको परिणाममा त्यसले कुनै प्रभाव पारेको देखिएन,’ उनी भन्छन् । पछिल्लो दशकमा छोरा र छोरीप्रतिको दृष्टिकोण समान हुँदै गएको शर्माको बुझाइ छ ।
शर्माले भने–‘पहिला छोरा पाउने रहर गर्ने गर्थे, अहिले यो घट्दै गएको छ । सन्तान जुन लिंगको भएपनि समान व्यवहार गर्ने मानसिकता विकास भएको देखिएको छ ।’ लिंग पहिचान गरेर गर्भपतन गराउने गैरकानूनी कार्य अहिलेको जनगणनाको तथ्यांकबाट प्राप्त नभएको उनले बताएका छन् ।
मानवशास्त्री डम्बर चेम्जोङ पनि लिंग पहिचान गरेर गरिने गर्भपतनसँग यसको सम्बन्ध नरहेको बताउँछन् । ‘छोरीको सख्ंया बढ्नुमा लिंग पहिचान गरेर गरिने गर्भपतनसँग सम्बन्ध छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छन्, ‘यसलाई आलोचनात्मक रुपमा भन्ने गरिएपनि यसको असर न्यून नै रहेको पाइन्छ ।’
पहाडमा भन्दा तराईमा यस्तो संख्या धेरै रहेको अध्ययनले देखाएको छ । दाइजोप्रथाका कारण पनि पहाडमा भन्दा तराईमा छोरीलाई बोझिलो मान्ने प्रचलन रहेको उनी बताउँछिन् । जनसंख्याको सिद्धान्तअनुसार पनि महिलाको संख्या धेरै देखिनु स्वभाविक नै भएको चेम्जोङ बताउँछन् ।
जन्मिने बेलामा छोरा धेरै जन्मिए पनि छोराको मुत्युदर छोरीको भन्दा धेरै हुन्छ । छोराभन्दा छोरी प्राकृतिक रुपमै अनुशासित र शान्त हुन्छन् । पानीमा डुबेर, युद्धमा मृत्यु हुनु, सवारी दुर्घटना, लागूपदार्थको दुव्र्यसनी जस्ता धेरै माध्यमबाट पुरुषकै बढी मृत्यु हुने गरेको उनी बताउँछन् ।
यसैगरी विश्वभरि नै घर छाडेर जानेमा पुरुषको संख्या बढी हुन्छ, जुन नेपालमा पनि छ । अहिले जीवन निर्वाहका पद्धति, उत्पादन प्रणाली र सम्बन्धका आयाम पनि परिर्वतन भएका छन् । विदेशिनेको संख्या दिन प्रतिदिन बढ्दो छ । जसकारण जनगणना गर्दा यो छुटेको पनि हुनसक्ने चेम्जोङ बताउँछन् ।
‘थोरै मात्र फरक हुनुपर्ने हो तर अहिले धेरै नै फरक देखिएको छ । छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको संख्या पनि ठूलो छ । उनीहरु पनि छुट्न सक्छन्,’ चेम्जोङ थप्छन्, ‘यही राजधानीमै पनि कति घरमा जनगणना गरिएको छैन । अझ सुदूरको त कुरै छोडौं ।’
नेपालमा पहिलेदेखि नै महिलाको जनसंख्या पुरुषको भन्दा बढी देखिँदै आएको छ । औसत आयु महिलाको बढी छ । विश्वमा महिलाको औसत आयु पुरुषको तुलनामा पाँच वर्ष बढी छ भने नेपालको तीन वर्ष बढी छ । महिलाको रोग प्रतिरोधात्मक क्षमता पनि पुरुषको भन्दा उच्च हुन्छ ।
यता, समाजशास्त्री डा. मीना उप्रेती शहरमा लिंग पहिचान गरेर गरिने गर्भपतन र गाउँमा भएका जन्मले जनसंख्यामा सन्तुलन ल्याएको बताउँछिन् । ‘गाउँमा भ्रुण पहिचान गरेर गरिने गर्भपतन ठूलो मात्रामा पुगिसकेको त छैन,’ उनी भन्छिन्, ‘उनीहरुले प्राकृतिक रुपमै छोराछोरी जन्माएका हुन्छन् । तर छोराको आशमा छोरीछोरी जन्मिँदा संख्या बढ्न पुग्छ ।’
तर लिंग पहिचान गरेर भ्रुण हत्या गर्ने क्रम भने निक्कै बढेको हुनसक्ने उनी बताउँछिन् । पहाडमा भन्दा तराईमा यस्तो संख्या धेरै रहेको अध्ययनले देखाएको छ । दाइजोप्रथाका कारण पनि पहाडमा भन्दा तराईमा छोरीलाई बोझिलो मान्ने प्रचलन रहेको उनी बताउँछिन् ।
विवाह एकदमै खर्चिलो हुनु र दाइजोकै निहुँमा आफूले भोगेको पीडा छोरीले भोग्न नपरोस् भनेर गर्भपतन गराउने तराईमा धेरै बढेको पाइन्छ । यस्तै छोरीले अर्कै जातमा विवाह गर्ली, छोरीमाथि गरिएको लगानी उठ्दैन जस्ता मानसिकताले पनि गर्भपतन डरलाग्दो रुपमा बढिरहेको डा. उप्रेती बताउँछिन् ।
जनगणनाको पछिल्लो परिणामले समाजमा सकारात्मक प्रभाव पार्ने विश्लेषक हरि रोका बताउँछन् । छिमेकी मुलुक भारत र चीनमा जस्तो विषमता नदेखिएकाले यसमा चिन्तित हुन आवश्यक नरहेको उनी बताउँछन् । ‘महिलाहरु पनि पुरुष बराबर काम गर्न सक्छन्, गरेका पनि छन् । महिलाको जनसंख्याले अर्थतन्त्रमा नोक्सान हुँदैन, यो त समाजका लागि प्लस प्वाइन्ट हो,’ विश्लेषक रोका भन्छन् ।
महिलाको जनसंख्या बढ्दा अर्थतन्त्रमा पनि सहजता हुने उनको तर्क छ । ‘खर्च गर्ने मामिलामा छोरीभन्दा छोरा अगाडि हुन्छन्,’ उनी भन्छन्, ‘महिलाले पुरुषको तुलनामा बचत गर्छन् । यसले गर्दा राष्ट्रिय बचत बढाउन सहयोग पुग्छ ।’
कुनै पनि तरिकाले लिंग पहिचान गराउनु गैरकानूनी
नेपालमा लिंग पहिचान गरेर गर्भपतन गराउनु गैरकानूनी हो । मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ बालकृष्ण शाहका अनुसार लिंग पहिचान दुई तरिकाले गरिन्छ । पहिलो क्रोमोजोनल स्टडी हो भने अर्को रेडियोलोजी ।
‘क्रोमोजोनल स्टडी एकदमै आवश्यक परेको बेला जस्तै, प्रहरीले डीएनए परीक्षण गर्नु परेमा मात्र गर्न सकिन्छ । अरुबेला यो परीक्षण गर्न पाइँदैन,’ उनी भन्छन्, ‘पहिला भारत गएर यसका आधारमा लिंग पहिचान गर्ने गर्थे । अहिले भारतमा कडा कानून भएकाले कम छ ।’
चौधदेखि सोह्र हप्ताको गर्भलाई अल्ट्रासाउण्ड मार्फत लिंग पहिचान गर्न सकिन्छ । तर नेपालको कानूनले लिंग पहिचान गर्न दिँदैन । अहिले बेबी सावर गर्ने चलन पनि भित्रिएको छ । गर्भ रहेको सात महिनामा यो गर्ने प्रचलन छ । रेडियोलोजिष्टसँग सोधेर पनि बेबी सावर मनाउने गरेको देखिन्छ, तर त्यो पनि गैरकानूनी भएको डा. शाह बताउँछन् ।
नेपाली समाजमा छोरीलाई भन्दा छोरालाई बढी महत्व दिइन्छ । छोराले वंश विस्तार गर्ने र भविष्यको सहारा हुने गलत सोचले छोरालाई बढी नै महत्व दिने गर्छन् । छोराको आश गर्नेहरुले लिंग पहिचान गरेर छोरा भए राख्ने र छोरी भए गर्भपतन गराउने गर्दछन् । यसले लैंगिक विभेद तथा सामाजिक असन्तुलन बढाउने भएकाले सरकारले नियन्त्रणका लागि लिंग पहिचान गर्न निषेध गरेको हो ।
५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन
परोपकार तथा स्त्रीरोग अस्पतालका निर्देशक प्रा. डा. अमिरबाबु श्रेष्ठ दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा मात्र ९३० जनाले परोपकार तथा स्त्रीरोग अस्पतालमा सुरक्षित गर्भपतन गराएका छन् ।
परिवार कल्याण महाशाखा मातृ तथा नवशिशु शाखा प्रमुख डा. पुण्या पौडेलका कृपा गैरसरकारी संस्थाले सन् २०१४ मा गरेको अनुसन्धानमा तीन लाख २३ हजार महिलाले हरेक वर्ष गर्भपतन गराउँछन् ।
जसमा ५८ प्रतिशत महिलाले सरकारले तोकेको ठाँउमा नगएर असुरक्षित ठाँउमा गएर गर्भपतन गराउने गरेको पाइएको थियो । ४१ प्रतिशत महिलालाई मात्र सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएको भन्ने थाहा भएको र असुरक्षित गर्भपतनले मृत्यु हुनेको संख्या सात प्रतिशत रहेको छ ।
छोरीभन्दा छोरालाई महत्व दिने समाज
नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै छोरीलाई भन्दा छोरालाई बढी महत्व दिने गरिन्छ । सन्तान जन्माउँदा पहिलो प्राथमिकता छोरालाई दिने गर्दा लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढेको छ । आधुनिक जीवनशैलीसँगै परिवारको आकार पनि घट्दै गएको छ ।
हिजोआज एक वा बढीमा दुई सन्तान मात्र जन्माउने दम्पतीको संख्या बढ्दै गएको छ । यस्तोमा छोराको सोचमा धेरैले लिंग पहिचान गरेर गर्भपतन गराउने गरेको देखिएको छ । ग्रामीण क्षेत्रमा लिंग पहिचानको पहुँच धेरै नपुगेपनि छोराकै आशमा धेरै छोरी जन्माउने गरेको पाइन्छ ।
यसरी शहरी क्षेत्रमा एक वा दुई सन्तान, त्यसमा पनि एक जना छोरा नै हुनुपर्ने सोचले भ्रूण पहिचान गरी गर्भपतन गर्ने क्रम बढेको देखिन्छ भने ग्रामीण क्षेत्रमा छोराकै आशमा छोरीको संख्या धेरै हुने गरेको छ । ग्रामीण क्षेत्रमा बाध्यतात्मक अवस्थामा छोरीको संख्या बढ्दा पनि नेपालमा महिलाको संख्या बढेको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्