सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गाउँमा आउनेलाई ५ लाख दिँदै गाउँपालिका

पहिले बाक्लै चहलपहल हुने तेह्रथुमको छथर गाउँपालिकाको ग्रामीण भेकमा बसाइँ–सराइले बस्ती रित्तिँदै छ । सुविधा र अवसरको खोजी गर्दै गाउँपालिका–५ ओख्रे बाँसपानीका २० बढी घरपरिवार पुर्ख्यौली बास छोडेर पूर्वी तराईतर्फ बसेका छन् ।

गाउँमा पिउने पानी नभएपछि हरिमाया न्यौपाने, खड्गबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की र पुण्य न्यौपानेको परिवार गाउँ छाडेर गएको स्थानीय रत्नदेवी आधारभूत विद्यालयका प्रध्यानाध्यापक केदार बस्नेतले बताए । प्रअ कार्कीले भन–‘थप परिवार गाउँ छाडेर जाने तयारीमा छन् ।’

गाउँमा भएका पानीका मुहान, पोखरी, खोलानाला तथा चिस्यान र सिमसार क्षेत्र सुकेर पिउने पानीको समेत अभाव भएपछि धेरै छिमेकीले गाउँ छाडेको बसिरहेकाहरू बताउँछन् । एक दशक अघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले घटेर आधाआधीमा झरेको छ ।

देशका अरू ठाउँमा जग्गाजमिनको मूल्य बढ्दो छ । तर यहाँका भने बिक्री नभएपछि त्यसै छाडेर स्थानीय हिँडेका छन् । ग्रामीण किसानका खेतीबारी किर्ने काँडाले ढाकेको छ । बाँदरको संख्या निकै बढेको छ । गाउँपालिकाले सुविधाका लागि बस्तीसम्म मोटर बाटो खनेको छ । तर यी सडकमा सवारी कमै मात्र गुड्छ ।

परम्परागत मौलिक कलाले सिंगारिएका रहर लाग्दा घरहरू अहिले रित्ता छन् । कुनै घरका छाना पूरै भत्किएका छन् । कुनैका भत्किने क्रममा छन् । घरवरिपरि झाडीले ढाकिएको छ । सिंगो परिवार बसाइँ सरेर देशका अन्य ठाउँमा गएपछि पुर्ख्यौली सम्पत्तिका रूपमा रहेका यी रहरलाग्दा घरहरू खण्डहरमा परिणत भएको स्थानीय हमरजुङका भीमबहादुर थापाले बताए ।

Village home in Tehrathum

यो पलायनलाई रोक्न गाउँपालिकाले अन्यत्रबाट बस्न आउने परिवारलाई ५ लाख रुपैयाँ नगद दिने कार्यक्रम ल्याएको छ । केही परिवार बसाइँ सरेर आए । तर अन्यत्र सर्ने क्रम रोकिएको छैन । गाउँपालिकाअध्यक्ष सन्तवीर लिम्बूले भने–‘यसले गाउँपालिकाको जनसंख्या घट्न थालेपछि पैसा दिएर भए पनि गएकाहरूलाई फर्काउने अभियान शुरु गरेका हौं ।’ आउनेहरूलाई गाउँपालिकाले व्यावसायिक प्रस्तावनाका आधारमा ५ लाख रुपैयाँ अनुदान दिंदै आएको छ ।

तेह्रथुम लिम्बू समुदायको बाहुल्य भएको जिल्ला हो । यो जातिका समुदायमा बिदेसिने लहर पहिलेदेखि छ । बाहिर गएर केही आर्थिक जोहो भएपछि गाउँ छाड्नेको संख्या पनि यो जातिमा धेरै देखिएको प्रदेश सांसद लक्ष्मण तिवारीले बताए ।

अन्य जाति पनि खाडी मुलुक गएर केही पैसाको जोहो हुनासाथ गाउँ छाडेर सुविधायुक्त ठाउँतर्फ जाने लहर चलेको छ । यसको असर गाउँघरको विकास निर्माण र सामाजिक कार्यमा परेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बसोबास गरिरहेका अधिकांश परिवार छिमेकीविहीन भएका छन् ।

बसाइँ सरेर गएका कारण खाली भएका र खाली हुने क्रममा रहेका छथरबाहेकका थुप्रै गाउँ छन् । उनीहरू पूर्वी तराईका झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा पुगेका छन् । बस्तीसम्म नै मोटर पुगेर सामान बोक्न नपरेपछि सर्ने दर झन् देखिएको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाको बुझाइ छ ।

आर्थिक रूपमा सम्पन्न थप सुविधाको खोजीमा अन्यत्र गइरहेका छन् । दुई छाक टार्न पनि मुस्किल हुने भएकाले विपन्न उसै पनि पलायन हुँदै छन् । सम्पन्न प्रायः पूर्वी तराईका सहर बजारमा र विपन्न गाउँमा सरिरहेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ ।

आधुनिक खेती प्रणाली अपनाउन नसक्नु तथा सिंचाइ र मलबीउ अभावमा खेतबारीको उब्जनीले परिवार पाल्न मुस्किल भएपछि तराईतिर झर्नेको लर्को लागेको छ । बसाइँ सर्ने दर बढ्दै जाँदा तेह्रथुमका थुप्रै गाउँहरू खाली हुने अवस्थामा पुगेका छन् ।

अहिले तेह्रथुमका बस्तीमा तराईको गाउँ वा सहरमा सानोतिनो घरघडेरी तथा जग्गा हुनु सामाजिक प्रतिष्ठाको विषय बनेको छ । कृषि क्षेत्रमा लगानीअनुसार प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्चशिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनुजस्ता कारणले गाउँ छाड्ने दर बढेको स्थानीय अगुवाहरूको अनुमान छ ।

शिक्षित र सचेत वर्ग गाउँमा नहुँदा स्थानीय तह तथा विभिन्न गैरसरकारी संघसंस्थाले जनताको जीवनस्तर उकास्ने भनेर सञ्चालन गरिरहेका विकास निर्माणलगायतका कार्यक्रमको निगरानी गर्ने दक्ष जनशक्तिको अभाव छ । यसले स्थानीय तहमा अनियमितता बढ्दो छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्