सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिञ्जो आवे, आधुनिक जापानका राजनेता

संसारमा न्युन अपराध दर भएको देशको सुचि तपाईले गुगलमा खोज्नुभयो भने जापान अग्रपङ्तीमा आउँछ । पोस्टवार यताको करिव पाँच छ दसकमा जापानमा त्यस्तो ठुला राजनितिक हिंसा र अपराधको घटनाहरु छिटफुट बाहेक सम्भवत घटेका छैनन् । अपवादमा गत जुलाई ८ तारिखमा भएको पुर्वप्रधानमन्त्री सिन्जो आवेको हत्याको घटना बाहेक ।

सामाजिक सुरक्षाको हिसाबले पहिलो विश्वका अन्य देशहरुको तुलनामा जापान उत्कृष्ट देश हो भन्दा सायद फरक नपर्ला । सन् २०१५ को संसदीय बहसको क्रममा विपक्षी दलको नेताले सुरक्षा ब्यबस्थालाई कडा बनाउन दिएको सुझावलाई नकार्दै जापान एउटा सुरक्षित देश भएको प्रधानमन्त्री शिन्जो आबेले बताएका थिए ।

तर जापानलाई सुरक्षित देश बताउने उनै पुर्व प्रधानमन्त्री शिन्जो आबेको पश्चिम जापानको नारामा आफ्नै पार्टीको चुनावी सभालाइ सम्बोधन गर्ने क्रममा गोलि प्रहारबाट भएको हृदयबिदारक हत्याले जापान मात्र नभएर सिंगो विस्वलाइ तरंगित र स्तब्ध बनायो । हिंसा र आतंकबाट टाढा रहेको भनिएको जापानमा भएको यस किसिमको घटनाले यहाँको सुरक्षा संयन्त्रलाइ खुला चुनौती दिएको छ भने सुरक्षा संयन्त्र माथिको बिस्वसनियतामा शंका उत्पन्न भएको छ ।

हत्या अभियोगम पक्राउ परेका यामागामी तेचुया पुर्व जल सेना भएको र उनले आफैले हतियार बनाएको स्वीकार गरिसकेका छन् । जापानमा व्यक्तिगत स्वामित्वमा हतियार राख्न प्रतिबन्ध छ । त्यस कारण बन्दुकबाट हुने हिंसा यहाँ एकदमै दुर्लभ मानिन्छ । अभियुक्त तेचुयाको आमाले धार्मिक सस्था युनिफिकेशन चर्चलाई पटक पटक गरेर करिब १०० मिलियन बराबरको धनरासि दान गरे पछि उनको घरको आर्थिक अवस्था टाट पल्टेको र सो रिस सांध्नको लागि सुरुमा चर्चका एक्टिगं लिडर प्रमुख हाक जा हान लाई मार्ने प्रयास गरेको उनले वयानमा बताएका छन् ।

Shinjo Abe

आफ्नो र आफ्नो परिवारको जीवन बर्बाद पार्ने कारकको रुपमा लिएको युनिफिकेसन चर्चको प्रमुख हाक जा हानलाई मार्ने प्रयास असफल भएपछि उक्त चर्चलाई जापानमा स्थापित गराउन सहयोग गरेको विस्वासमा अभियुक्त तेचुयाले आबेलाई निशाना बनाएको अनुसन्धानबाट खुलेको छ । सन् १९६० देखि १९७० को विचमा जापानमा बढ्दो कम्युनिष्ट मुभमेन्टलाई कमजोर पार्न युनिफिकेसन चर्चलाई जापानमा आवेको हजुर बुवा पुर्व प्रधानमन्त्रि नोवुसुके किसिले भित्र्याएका थिए ।

राजनीतिक पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा उदाएका आबे जापानको राजनितिमा कुशल राजनीतिज्ञ र उचो व्यक्तित्व निर्माण गर्न सफल भएका थिए । समकालीन विस्व राजनीतिको एउटा केन्द्र र शक्तिकोको रुपमा जापानलाई अन्तरास्ट्रिय मञ्चमा स्थापित गराउने आबेको ६७ बर्षको अल्पायुमा भएको निधनले जापानलाई राजनीतिक हिसाबले असामान्य क्षती पुगेको छ । बिगत ३० वर्ष यता जापानमा एउटै व्यक्ति प्रधानमन्त्री पदमा करिब दुइ वर्षभन्दा बढी समय रहेको इतिहस छैन तर शिन्जो आबेले दुई कार्यकाल (२००६–२००७/२०१२–२०२०) गरेर झन्डै आठ वर्ष अर्थात् ३१८८ दिन प्रधानमन्त्रिको जिम्मेवारी सम्हालेर जापानको सत्ता संचालनको इतिहाँसमा सबैभन्दा लामो समय प्रधानमन्त्री बने ।

२००६ मा ५२ वर्षाको उमेरमा प्रधानमन्त्री बनेका आबेको पहिलो कार्यकाल सुखद हुन सकेन २००७ मा उनको नेतृत्वमा भएको चुनावमा उनकै पार्टी लिबरल डेमोक्रेटिकको हार र स्वास्थ्यको कारण देखाउँदै आबेले अप्रत्याशित रुपमा राजिनामा गरेका थिए । उक्त समय आबेको राजनीतिक क्यारिअर समाप्त भएको विश्लेषण समेत गरिएको थियो । सन् २०१२ मा दोश्रो पटक एल.डी.पी.को अध्यक्षमा निर्वाचित भइ पुन प्रधानमन्त्री बनेर सानदार कम ब्याक गरेका आबेले २०२० मा स्वास्थ्यको कारण कार्यकाल सकिनु अगावै राजिनामा दिएका थिए ।

श्रममा लैगिक असमानता घटाउन र अर्थतन्त्रको प्रबद्र्धनमा महिला सहभागिता बढाउन आवेले वुमनोमिक्स कार्यक्रम ल्याए । जसले महिलाहरुलाई उनीहरुको ज्ञान, सिप र क्षमताको आधारमा काम दिन जोड गरेको थियो । जापानको बेरोजगारी र गरिबको दर घटाइ अर्थतन्त्रको सुधारको लागि उनले आबेको अर्थशास्त्र अर्थात आबेनोमीक्सको सिद्दान्त प्रतिपादन गरे । प्राम्भिक समयमा यसले बलियो अर्थतन्त्र विकासको लागि राम्रो नतिजा प्राप्त गर्यो । आबेनोमीक्सकै कारण उनि चर्चित भए । अन्तरास्ट्रिय रुपमा उनको प्रतिष्ठा अग्लियो तर आबेको आलोचकहरुले उनलाई यसले न्युन तलब र न्युन ज्यालादरमा काम गर्नेहरुको संख्या बढाएको, कर र मुल्य बृद्दिको कारण श्रमिकहरुको जिवनयापन झन कठिन बनाएको आरोप लागाएका थिए ।

आबेको अवसानपछि उनको विदेस नीतिको सर्वत्र चर्चा भएको छ । आबेकालिन समयमा उनले पत्येक्ष ८० भन्दा बढी देशहरुको भ्रमण गरे । यसबाट उनले बिस्वव्यापी सम्बन्ध र राजनीतिक प्रभाव बढाए । एसिया प्यासिफिक क्षेत्रमा चिनको बढ्दो प्रभाव रोक्न सुरक्षा र कुटनितिक हिसाबले महत्वपुर्ण मानिएको इन्डो प्यासिफिक रणनितिको योजनाकार समेत आबे हुन ।

जापान माथिको सुरक्षा चुनौतिलाई सामना गर्न उनले इन्डो प्यासिफिक क्षेत्र अन्तरगतका मुलुकहरु भारत, दक्षिण कोरिया लगायतका देशहरुसंगको सम्बन्धलाई सुदृढ बनाई क्षेत्रीय शक्ति सन्तुलनको हिसाबले जापानलाई अब्बल बनाए । सन्कि नेताको छवि बनाएका अमेरिकाका चर्चित रास्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने पहिलो बिदेशी नेता बनेका आबे र ट्रम्पको मित्रता अन्तराष्ट्रिय मिडियामा चर्चाको विषय बन्यो ।

आबेको अप्रत्यासित मृत्यको खबरमा मर्माहत भएको ट्रम्पले ट्वीटर मार्फत लेखेका थिए “उ मेरो असल साथी थियो । अँझ महत्वपुर्ण अमेरिकाको लागी“ । आबेले जापा– रुस सम्बन्धमा रहेको तिक्तता हटाई रुससंगको सम्बन्धलाई सुमधुर बनाउने प्रयास गरे । दुइ देशविच लामो समय देखि सिमा विवाद कायम रहेको थियो । सन् २०१३ मा क्रेमलिनमा पहिलो पटक भेटेका आबे र रुसका राष्ट्रपति भ्लादमिर पुटिनबिच त्यसयता ११ पटक औपचारिक भेटवार्ता भएको थियो ।

आबे जापानको शान्तिवादी संविधान संसोधनको पक्षमा थिए । उनले सत्तामा आउनु भन्दा अगाडी नै संविधान संसोधन गरि जापानलाई सैनिकिकरण र सुरक्षा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउँदै आएका थिए तर यो काम उनको कार्यकालमा सम्भव हुन सकेन । सन् १९४७ मा अमेरिकिहरुको निगरानिमा जारी भएको जापानको संविधानमा देशमा औपचारिक रूपमा सैन्य बल व्यवस्थापनमा बन्देज लगाइएको छ । उक्त संविधानको धारा ९ ले जापानलाई स्थल सेना, जल सेना र वायु सेना राख्ने अधिकार कटौती गरेको थियो । त्यस्तै, अहिलेको संविधानमा जापानलाई अन्तर्राष्ट्रिय विवादहरूमा मत राख्ने वा संलग्न हुन नपाउने व्यवस्था छ । यद्दपी आबेले संविधानको पुर्नव्याख्या गर्दै २०१४ मा आत्मरक्षा बल खडा गरेका थिए । जसलाई अमेरिकाले समेत सहयोग गरेको थियो ।

टेक ब्याक जापान, आबेनोमिक्स, वुमनोमिक्स जस्ता एजेन्डा तथा कार्यक्रमहरु मार्फत आबे जति चर्चित बने उत्तकै उनि आलोचित र बिबादित पनि बने । उनले दोस्रो सिनो जापान युद्दको क्रममा जापानी सेनाले चिनको नानकिगंमा गरेको मानव नरसंहारमा माफी माग्न अस्वीकार गरेका थिए । जहाँ करिब २५ लाख चिनिया आर्मी र सर्वसाधारण नागरिकको हत्या गरिएको थियो ।

साथै दोस्रो विश्वयुद्दको क्रममा जापानिज सेनाले जितेको भुभागबाट महिलाहरुलाई नियन्त्रणमा लिएर यौन दास बनाएका थिए । जसलाई कम्फोर्ट वुमनको नामले चिनिन्छ । यस सम्बन्धमा आबेले दिएको अभिव्यक्तिले उनी विवादमा मुछिएका थिए । त्यस्तै आबेले युद्दमा मारिएका जापानी सेना, महिला, वालवालिका, र युद्द अपराधीहरुको सम्झनामा निर्मित यासुकुनि मन्दिरको भ्रमण गरे पस्चात चिन र दक्षिण कोरियाले कडा शब्दमा अपात्ति जनाएको थियो ।

जापानको आधुनिक विकासमा महत्वपुर्ण योगदान दिएका आबे जनताको प्रिय नेता थिए । उनी आधुनिक जापान निर्माणको एक युग हुन् भन्दा पनि अतिसयोक्ती नहोला । उनलाई जनताको राजकुमारको उपनाम दिइएको थियो । युवाहरुलाई राजनितिमा आउन प्रोत्साहन गर्ने आबे एक कट्टर राष्ट्रवादी र देशभक्त नेताको रुपमा जापानको राजनैतिक इतिहाँसमा अनन्तकालसम्म जिवन्त रहने छन् ।

(लेखक शेर्पा, माओवादी केन्द्र सम्वद्ध प्रवासी संगठन नेपाली जनप्रगतिसिल मञ्च जापानका उप–महासचिव हुन् ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्