सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एउटै कथावस्तु दुई फिल्मः जारी र बुलाकी

कवि/कथाकार उपेन्द्र सुब्बा कथा सुन्दै हुर्किए । लिम्बू समुदायमा तङसिङ(अनुष्ठान) हुन्छ, जहाँ मुन्धुम सुनाइन्छ । कथा वाचन गरिन्छ । बोजुले आफ्ना जीवन संघर्षका कथा सुनाउँछिन् । विश्वास र आस्थाका कथा सुनाइन्छ । कथा भन्ने परम्परासँग जोडिएकै कारण सुब्बाका लागि कथा भन्नु जिम्मेवारी बन्यो ।

सुब्बाले ‘लाटो पहाड’देखि ‘कब्बडी’का श्रृंखलामार्फत कथा सुनाइरहे, लेखिरहे । आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेरै फिल्म ‘जारी’ बनाए । सुब्बाको पहिलो निर्देशकीय फिल्म यही वैशाखदेखि हलमा लाग्दैछ । फिल्ममा लिम्बू समुदायका महिलाको विद्रोह देखाइएको छ ।

‘हाम्रो समुदायका महिलाहरु बढो आँटिलो हुन्छन् । सहासिलो हुन्छन् । अरुको दमन/हेला मान्दैनन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन् भन्ने कथा छ फिल्ममा । उनीहरु कसैको श्रीमति भयो भन्दैमा सम्मानबिना बस्दैनन् भन्ने कथा हो, जारी,’ सुब्बाले भने ।

खासमा ‘जारी’माथि उपन्यास लेख्ने तयारी थियो । सुब्बाले राजन मुकारुङलगायतका साथीहरुलाई आइडिया पनि सुनाए । १२/१४ हजार शब्द लेखिसकेका थिए । तर, उपन्यास लेख्ने धैर्यता कम हुँदै गयो । त्यसपछि फिल्मको माध्यमबाट यो कथा सुनाउने तयारीमा पुगे । पहिल्यै लेखिसकेका शब्दलाई पटकथामा ढाले । अनि बन्यो- ‘जारी’।

‘यो कथा मैले भनिनँ भने यो कथा मभन्दा मुनिका पुस्तासम्म पुग्दैन । यो कथा भन्नु त मेरो कर्तव्य भयो । मेरो समाजमा यस्तो पनि भएको छ । यस्तो विश्वासमा पनि मानिसहरु चल्थे भनेर देखाउन मैले फिल्मको माध्यम रोजे,’सुब्बाले भने,’उपन्यासभन्दा पनि फिल्ममा भन्न सक्छु भन्ने भयो । फिल्ममा ध्वनी, संगीत, अभिनयको सुविधा हुन्छ । त्यसैले यो विषयमा मलाई फिल्म बनाउन मन लाग्यो । हाम्रो गाउँमा जारी आम विषय हो । महिलाहरुलाई आफ्नो जीवनसाथि छनोट गर्ने/आत्मनिर्णयको सुविधा लिम्बूवानमा छ । यो आम रुपमा चलिरहने विषय हो । यसको अर्थ सबैले दोस्रो बिहे गर्छन् भन्ने होइन ।’

‘जारी’लाई पुरानो श्रीमानलाई दिइने क्षतिपूर्तिका रुपमा व्याख्या गरिन्छ । तर, लिम्बू समुदायमा यसको स्वरुप फरक शैलीमा अभ्यास गरिँदै आएको सुब्बा सुनाउँछन् । ‘तपाईंको श्रीमति कसैले लग्यो भने तपाईंको अपमान भयो । त्यही अपमानबाट उनको शीर उठाउन गरिने चलन जारीका रुपमा अभ्यास भयो । त्यो कुरा एक बोतल रक्सीमा पनि मिल्न सक्छ/लाखौंमा पनि मिल्न सक्छ,’सुब्बाले भने,’पैसा अथवा जिन्सी दिए पनि पहिलो श्रीमानले चित्त बुझाउनुपर्छ। भोलिको भेटमा दुष्मनी हुनु भएन ।’

नेपाली फिल्ममा महिला चरित्र चित्रण कमजोर नै देखाइँदै आएको छ । त्यही भीडमा उपेन्द्र भने महिलाका फरक पाटोलाई समातेर आफ्नो समुदायको कथा सुनाउँदैछन् । सुब्बालाई थाहा छ, महिलाका कथालाई पुरुष निर्देशकले जति नै संवेदनशील भएर भनिए पनि त्यो अपर्याप्त हुन्छ । तर, आत्मसम्मान पाउनका लागि एउटी महिलाले गर्ने संघर्षलाई देखाउन आफूले सक्दो कोसिस गरेको उनको भनाइ छ ।

‘एउटै फिल्मकर्मीले गर्न सक्ने कोसिस हो । दर्शकले मेरो कोसिसलाई हेरिदिउन । अन्य फिल्महरु गर्दै जान सकुँ भन्ने अपेक्षा छ । फिल्ममेकिङ दिमागमा बसुञ्जेल मात्र आनन्दको हुँदो रहेछ । तर, जब निर्माणमा होमिन्छौं तनाव हुँदो रहेछ,’ सुब्बाले भने,’फिल्मलाई खिच्नु भन्दा त लेख्नु सजिलो रहेछ । मैले कोसिस गरेको छु, भयंकर गरेको छैन ।’

उपेन्द्र समुदायमा कथा सुनाउनका लागि थुप्रै विषयवस्तु रहेको बताउँछन् । ‘हामीसँग समुदायपिच्छे थुप्रो कथा छन् । यसरी भनुम कथालाई भनेर जारी बनाएँ,’ ५० वर्षीय सुब्बाले भने । यदि जारीको कथा उपन्यासमा लेखिएको भए युपारुङको नामले बजारमा आउँथ्यो ।

खासमा लिम्बू समुदायमा बिहेमा पतिले वचन(तिमीलाई कहिल्यै दु:ख दिने छैन…)का साथ सिक्का(युप्पारुङ) दिइने चलन छ । त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ । त्यसैले पनि हालै सार्वजनिक गरिएको ट्रेलर/टिजरमा युप्पारुङलाई बढो महत्त्वका साथ देखाइएको छ । युप्पारुङको अर्थ सबैले नबुझ्लान् भनेर फिल्मको नाम ‘जारी’ राखियो । यो फिल्म बन्न ४/५ वर्ष नै लाग्यो । कोरोनाले फिल्म प्रदर्शनमा अवरोध नआएको भए ‘जारी’ सन् २०१९ मै आइसक्थ्यो ।

वैशाखमा ‘जारीसँगै अन्य तीन फिल्म पनि प्रदर्शनमा आउँदैछन् । त्यसमध्येको एक हो- ‘बुलाकी’ । संयोग, के भने ‘जारी’ र ‘बुलाकी’ को विषयवस्तु एउटै छ । युट्युबमा सार्वजनिक भएको ट्रेलेर हेर्दा कति संवाद उस्ता-उस्तै पनि लाग्छन् । मिति मात्रै होइन/विषयवस्तु पनि एउटै ? भन्ने प्रश्न गर्दा उपेन्द्र मुसुक्क मुस्कुराए मात्रै ।

‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारका अनुसार १ वर्षअघि तयार भइसकेको फिल्म सुरुमा कात्तिकमा ल्याउने तयारी थियो । तर, मंसिरको प्रतिनिधिसभाको चुनावले गर्दा मिति सारे । त्यसपछि फागुन १९ मा आउने तयारीमा थियो । त्यतिबेला त्यही मितिमा ‘छक्का पञ्जा ४’ र ‘छड्के’ आएपछि ‘बुलाकी’ पछाडि सर्‍यो । वैशाखमा आउने त्यतिबेलै तय गरेका थिए । तर, मिति घोषणा गरिसकेका थिएनन् । यही मितिमा अन्य दुई नेपाली फिल्म आउने भनिसकेपछि ‘बुलाकी’ले वैशाखको मिति तोकेको हो ।

‘सबैका आ-आफ्ना दर्शक छन् । सबैले आ-आफ्नो दर्शक पाउनुहुन्छ भन्ने अपेक्षा छ । दयाहाङका त दुई फिल्म प्रदर्शनमा आउँदैछन् । उहाँलाई जति असर हामीलाई नगर्ला,’ लक्ष्मण सुनाउँछन्,’एउटै मितिमा आउने भनिसकेपछि पनि कोही फिल्मकर्मीले मिलेर जाउँ भन्ने सल्लाहका लागि हामीलाई फोन गर्नु भएन । खासमा हामीलाई त कसैले गन्दै गन्नु भएको छैन । हाम्रो फिल्म चल्दैन भन्ने होला । तर, अब हामी वैशाखमै आउँछौं ।’

‘बुलाकी’को कथा राजबहादुर सानेले लेखेका हुन् । निर्देशकीय हिसाबले लक्ष्मणको पहिलो फिल्म ‘बुलाकी’ हो । म्युजिक भिडियोको निर्देशनमा सक्रिय उनी यो फिल्ममा अन्तिम समयमा जोडिएका हुन् । निर्माताहरुले नै यो कथामा फिल्म बनाउने भनेपछि उनी ‘बुलाकी’मा जोडिएका हुन् । ‘यो कथा मैले कर्णालीमा देखेरै हुर्केको हुँ । ८/९ वर्ष अगाडि पनि जारी कर्णालीमा अभ्यासरत थियो । मैले देखिरहेको कथामाथि फिल्म बनाउन मलाई मद्दत भयो,’लक्ष्मण सुनाउँछन्,’यो दुई फिल्मको कथा मिल्नु संयोग नै होला ।’

यो फिल्म सुटिङ गरेको १९ महिना भइसक्यो । ‘बुलाकी’ले कर्णालीका महिलाहरुको कथा प्रस्तुत गर्ने निर्देशक सुनार सुनाउँछन् । ‘कर्णालीका महिला एकदमै पछाडि छन् । आफूसँग भएको हिंसाबारे बोल्न सक्दैनन् । बाहिर ल्याउन सक्दैनन् । फिल्मको प्रमुख पात्रले कर्णालीका महिलाहरुको प्रतिनिधित्त्व गर्छ,’लक्ष्मणले भने,’मनोवैज्ञानिक ढंगले गर्ने विद्रोहलाई देखाएका छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्