निर्दोस हात्तिको सुँड काटेर अमानविय अपराध
चितवनस्थित राष्ट्रिय प्रकृतिक संरक्षण कोष कार्यालयका भेटनेरी प्राविधिक किरण रिजाललाई मंगलबार मध्यरातमा हात्तीको सुँडबाट रगत बगिरहेको भन्दै फोन आयो । युनाइटेड हात्ती सहकारीको हात्तीसारमा रहेको करिब ४५ वर्षे चन्चलकली हात्तीको सुँड काटिएको अवस्थामा कराइरहेको अवस्थामा उनी घटनास्थल पुगे । हात्ती स्थानीय दीपेन्द्र खतिवडाको नाममा रहेको छ ।
रिजालका अनुसार हात्तीसारमा बेला बेला जंगली हात्ती आउँदा कराउने गर्दा सामान्य लिइन्थ्यो । मंगलबार निरन्तर रुपमा कराउन थालेपछि हात्तीको हेरचाह गर्ने माउतेेले डोरी चुुँडाएको र सुँडबाट रगत बगिरहेको अवस्थामा देखेपछि खबर गरेका थिए ।
घट्नास्थलमा सुँडको काटिएको भाग खोज्दा अँध्यारो भएकाले भेटिएन । बुधबार बिहान हात्तीको काटिएको सुँडको भाग लिडा फाल्ने ठाउँमा भेटिएको थियो । ‘सुँडको १६ सेन्टिमिटर लामो भाग काटिएको रहेछ,’ रिजालले भने,‘तौल गर्दा ६ सय ४० ग्राम थियो ।’ घटनाको प्रकृति हेर्दा सुँडलाई चुँडिन बाँकी भाग छाडेको र बाँकी भाग हात्ती चलमलाउँदा चुँडिएर मल खाल्डोमा पुगेको हुनसक्ने अनुमान गरिएको रिजालले बताए ।
सौराहामा विगत २१ वर्षदेखि हात्तीले पर्यटकलाई सेवा दिँदै आएको हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारीले बताए । ‘यस्तो घटना पहिलो पटक भयो । छिटो भन्दा छिटो अनुसन्धान होस्,’ तिवारीले भने,‘हात्ती निकुञ्जसँग र निकुञ्ज ऐनसँग सम्बन्धित भएकाले अनुसन्धान छिटोभन्दा छिटो होस् भन्ने चाहन्छौं । ’ चितवन निकुञ्ज कार्यालयले बुधबार नै घटनास्थलमा अनुसन्धान टोली खटाएको छ । कसराबाट अनुसन्धान गर्न तालिम प्राप्त कुकुर लगिए पनि कुनै सुराक नमिलेपछि बिहीबार पुनः टोली खटेर द्रूत अनुसन्धान गर्ने प्रतिबद्धता आएको तिवारीले जानकारी दिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वार्डेन दिलबहादुर पुनले घटनालाई गम्भीर रुपमा लिएको बताउँदै दोषीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९को दफा २६(१) अनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त ऐनको सो दफामा गैरकानुनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दस लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । ‘यो घटनामा संलग्नलाई पनि सोही अनुसार कारबाही हुन्छ,’ पुनले भने ।
सम्भावित कारण
हात्तीको सुँड सुनियोजित तरिकाले काटिएको यो नेपालकै पहिलो घटना भएको संरक्षणकर्मीहरुले बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा महेश्वर ढकालले सुँड काटिएको घटना यसअघि अभिलेखमा नरहेको बताए । ‘निजी क्षेत्रले घरमा व्यवसायिक रुपमा पालेको हात्ती हो । चोरी सिकारीको हिसाबले सुँड काटिएको जस्तो देखिदैन,’ ढकालले भने,‘हात्ती धनीसँग वा माउतेेसँगको व्यक्तिगत रिसीबीमा सुँड काटिदिएको हुन सक्छ । ’
युनाइडेट हात्ती सहकारीका अध्यक्ष तिवरी यो घटनामा मुख्य दुई कारण हुन सक्ने अनुमान गर्छन् । ‘हात्तीको आनीबानी राम्रोसँग बुझेको मानिसले मात्रै यो हर्कत गर्न सक्छ,’ तिवाारीले भने,‘ हात्तीको माउतेे परिवर्तन भइरहन्छन् । साहुसँगको व्यक्तिगत रिसिबी साँध्नका लागि यो हर्कत गर्न सकेको हुनुपर्छ । ’ हात्तीसारमा रहेको हात्तीको नजिक माउते मात्रै जान सक्ने उनले बताए । भेटनेरी प्राविधिक रिजालका अनुसार हात्तीले आफ्नो सुँडको नजिक आउनै दिँदैन । सुतेको अवस्थामा मात्रै यस्तो हर्कत हुन सक्ने उनले अनुमान लगाए ।
अर्को कारण भने च्याऊ खोज्न आउनेले गर्न सक्ने हर्कत । हात्तीको लिडा(गोबर) फाल्ने ठाउँमा एक किसिमको विषालु च्याऊ उम्रन्छ । स्थानीयले यसलाई म्याजिकल मसरुम पनि भन्छन् । यो च्याऊको सेवन गर्दा मानिस लठ्ठ र एग्रिसिब हुन्छन् । सहकारीको हात्तीसारमा बेला बेला यो च्याऊ लिनका लागि लागूऔषध दुर्व्यसनीहरु आउने गरेको पाइएको थियो । तिवारी भन्छन्, ‘ राति च्याऊ लिन आएका दुर्व्यसनीहरुले धारिलो हतियार प्रयोग गरेर काटिदिए कि भन्ने अनुमान लगाउन सकिन्छ ।’ यस किसिमको घटना कहिल्यै नभएकाले अहिले नै ठ्याक्कै भन्न नसकिने उनले बताए । अन्य कारण पनि हुन सक्ने उनले बताए ।
तीन वर्षअघि सहकारीकै एउटा हात्तीको दुर्घटनावस टिनको छाप्रो तान्ने क्रममा हात्तीको सुँडको सानो भाग काटिएको थियो । सुँडको अगाडिको लिपलिपे भाग काटिए पनि पछि हात्तीले खाना र पानी लिएको रिजालले जानकारी दिए । ‘अहिले चाही १६ सेमी भाग काटिएको छ । सुँड मोडिने भाग नै काटिदिएको अवस्था छ । सुँडले काम गर्छ गर्दैन भन्नै सकिँदैन,’ रिजालले भने ।
महानिर्देशक ढकाल घटना गम्भीर भएको भन्दै हात्तीको संवेदनशील अंग काटिएको घटना सुन्दा आफ्नो आङ नै जिरिङ्ग भएको बताउँछन् । उनले घटनामा दोषी जोकोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
हात्तीको सुँड
घाइते हात्तीलाई अहिलेसम्म उखु, घाँस हातैले दिइएको छ । हात्तीसारका माउतेेले नै हात्तीको मुखसम्म खानेकुरा लगेर खुवाइदिएका छन् । सुँडबाट पानी लिन नसकेको तिवारीले बताए । करिब २ मिटर लामो हुने सुँड हात्तीको मुख्य अंग हो । सुँडबाट हात्तीले विभिन्न क्रियाकलाप गर्छ । उसले सुँडबाटै पानी जम्मा गरेर लैजान्छ । जिब्रो उल्टो तरिकाले बस्ने भएकाले पानी लिनका लागि सुँड अति नै आवश्यक पर्ने विज्ञहरु बताउँछन् ।
जापानको क्यूटेक विश्वविद्यालयमा हात्तीमा पोस्टडक गरिरहेकी हात्तीविद् डा सञ्जिता शर्मा पोखरेल हात्तीको सुँड मानिसका लागि हातभन्दा महत्वपूर्ण अंग रहेको बताउँछिन् । हात्तीले सुँडबाटै खाना खाने, पानी खाने, घाँस लिने तथा स्वास फेर्ने गर्छ ।
‘हात्तीको सुँड काटिनु भनेको मानिसको दुईवटै हात नहुने अवस्थाभन्दा पनि गाह्रो अवस्था हो,’ पोखरेल भन्छिन्,‘हात्तीको सुँडमा धेरै नै अल्फाक्टी रिसेप्टरहरु पनि हुन्छन् । उसलाई सास फेर्नमा पनि समस्या हुन्छ । ’
स्तनधारी जीवमा हड्डी बिनाको सबैभन्दा दह्रो र लामो मंसपेसीको रुपमा हात्तीको सुँडलाई लिने गरिन्छ । हात्तीको सुँडमा मात्रै ४० हजारवटा मसंपेसीहरु हुने अनुसन्धानहरुले देखाएका छन् । जवकि मानव शरीरमा ६५० वटा मांसपेसी हुन्छन् । हात्तीको सुँडले जिब्रोको जस्तो स्वाद लिनेदेखि हत्केलाको जस्तो काम गर्ने हात्ती विज्ञ पोखरेल बताउँछिन् । रुखको हागा भाँच्नेदेखि भुईंको केराउको दाना समेत हात्तीको सुँडले टिप्न सक्ने क्षमता हुन्छ ।
यस्तै, सुँडमा २ हजारभन्दा बढी अल्फाक्टरी कोषिका(सुघ्ने कोष)हरु हुने अनुसन्धानहरुमा उल्लेख छन् । सुँडमा हड्डी नभएकाले यसलाई जता पनि चलाउन सक्छ । अंगलाई जता पनि घुमाउन सकिने भएकाले मानिसको जिब्रो, अक्टोपसको टेन्टागल्स र हात्तीको सुँडलाई मस्कुलर ‘हाइड्रोस्टाट’को रुपमा लिने गरिन्छ ।
हात्तीमा विद्यावारिधी गरेका दिनेश न्यौपाने सुँड नै काटिँदा हात्तीको शरीरमा पनि असन्तुलन हुने बताउँछन् । हात्तीको सुँडले उसको तौलभन्दा बढी सामान उचाल्ने सक्ने विज्ञहरुले बताए ।
हात्तीको अवैध चोरी शिकारी गर्नेहरुले यसका दाह्रा, खुर, रौं र छाला प्रयोग गरेपनि सुँडलाई नै अवैध बेचबिखनमा प्रयोग हुन नसक्ने उनले बताए ।
हात्तीलाई एसियाली मुलुकहरुमा पुज्ने तथा विभिन्न शुभ कार्यहरुमा लगाउने गरिन्छ । श्रीलंका, थाइल्यान्ड, नेपाल, भारतजस्ता मुलुकहरुमा हात्ती पर्यटन र संस्कृतिसँग जोडिएकाले सुँड नै काटिएको घटना नभएको पोखरेल बताउँछिन् । प्राकृतिक अवस्थामा मासिनले थापेको धरापमा परेर सुँड काटिएका घटना भने श्रीलंकमा हुने गर्छ । श्रीलंकमा बँदेल पार्न थापिने तारको धराप(स्नेरी)मा सुँड पर्दा काटिएको घटनाहरु रहेको उनले जानकारी दिइन् ।
सुँड काटिएको हात्तीको अवस्थाबारे उनले भनिन्, ‘हात्ती निको भयो भने ठिक छ तर खाना लिन निकै नै गाह्रो हुन सक्छ । उसलाई मर्न पनि सजिलो हुन्न । मुख पनि माथि नै हुने भएकाले कसैले खुवाइदियो भने बाच्ला नत्र अपांग भएर मृत्यु पर्खनुको विकल्प हुन्न । ’
नेपालमा जंगली हात्ती
नेपालमा हात्ती सम्बन्धी सरकारी निकायबाट गणना गरिएको छैन । हात्तीमा विद्यावारिधी गरेका पर्सा निकुञ्जका वार्डेन अशोक रामको अनुसन्धानले भने नेपालका जंगली हात्ती ४ वटा क्षेत्रमा छन् । सन् २०२०मा प्रकाशित उनको अनुसन्धानले नेपालमा हात्तीको संख्या २ सय २७ रहेको देखाउँछ । यस्तै, १ सय ७६ वटा हात्ती घरपालुवा छन् । तीमध्ये ९९ वटा हात्ती राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मातहतका निकुञ्ज कार्यालयहरूमा पालिएका छन् । यस्तै, ७७ वटा हात्ती निजी रुपमा दर्ता गरिएको रामको अनुसन्धानले देखाएको छ ।
उनको अनुसन्धानमा नेपालका जंगली हात्तीहरु बाँके–बर्दिया करिडोर क्षेत्र, चितवन–पर्सा क्षेत्र शुक्लाफाँटा क्षेत्र, झापा र कोसी क्षेत्रमा गरेर ५ ठाउँमा छरिएका छन् । रामको अनुसन्धानले ती क्षेत्रहरुमा हात्तीको संख्या क्रमशः १३३, ४५, २६, १९ र १६ वटा रहेको उल्लेख छ । नेपालका धेरै जसो हात्ती भारत ओहोरदोहोर गर्ने गर्छन् । यस्तै, २० वर्षयता हात्ती–मानव द्वन्द्वमा परेर नेपालमा २ सय ७४ जनाले ज्यान गुमाएको उनको अनुसन्धानले देखाएको हो ।
अर्का हात्ती विज्ञ दिनेश न्यौपानेको सन् २०१७मा प्रकाशित अनुसन्धानले भने हरेक महिना नेपालमा हात्तीको आक्रमणमा परेर १ जना व्यक्तिको ज्यान जान्छ । यस्तै, मानव–हात्ती द्वन्द्वका कारण दुईदेखि तीनवटा हात्ती मारिने गरेको न्यौपानेको अनुसन्धानमा उल्लेख छ ।
हात्तीविज्ञद्वय राम र न्यौपानेका अनुसन्धानात्मक आलेखहरुले द्वन्द्व कम गर्नका लागि नेपालमा एउटा स्पष्ट हात्ती संरक्षण कार्यायोजना आवश्यक रहेको औंल्याएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्