सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘जारी’ लिम्बु मात्रै होईन आम समुदायको कथा

कथा कसरी भन्ने ? त्यो निर्देशकको हातमा हुन्छ । कवि उपेन्द्र सुब्बाले डेब्यु फिल्म ‘जारी’मा लिम्बू संस्कृति घोलेर एक दम्पतीको सुन्दर कथा पस्केका छन् । लिम्बू जातिको पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पति–पत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोह-अवरोह फिल्ममा देखाइएको छ ।

२०५२ सालको परिवेशमा तयार पारिएको यो फिल्म लिम्बू संस्कृति र विश्वास, भाषा अनि पहिरनको एउटा दस्तावेज बनेको छ ।पति–पत्नीको सम्बन्धमाथि यसअघि फिल्म नबनेका होइनन् । जसरी यो सम्बन्धको मिठास र सौन्दर्य ‘जारी’मा खिपिएको छ, त्यस अर्थमा यो फिल्म सशक्त छ । फिल्मको कथा सुरु हुन्छ, नाम्साङ (दयाहाङ राई) र हाङ्मा (मिरुना)को झगडाबाट । झगडाको निहुँ छ –नि:सन्तान ।

बिहेको गरेको ३ वर्षमा पनि हाङ्मा र नाम्साङ नि:सन्तान छन् । नाम्साङ हाङ्मालाई सधैं नि:सन्तानपनाको दोष लगाइरहन्छ । पतिको बचन सहन नसकेर एकदिन हाङ्मा घर छोडेर माइत जान्छिन् । त्यही समयमा पालममा जितेर अर्कैले हाङ्मालाई पत्नी बनाउँछ । नाम्साङको परिवारले हाङ्माको परिवारसँग जारी उठाउन जान्छ । माइतीले जारी तिर्न नसकेपछि हाङ्मा पूर्वपतिको घरमा गोठाला/नोकर बन्न पुग्छिन् । बाँकी कथा थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।

फिल्मको कथा आयातित होइन । फिल्मको कथा सामान्य, सरल ढंगमा बगेको छ । कथालाई व्यावसायिक बनाउन अनावश्यक दृश्य तन्काइएको छैन । फिल्मको सुरुवाती दृश्य नै गज्जबको छ । नाम्साङले हाङ्मालाई ‘थारो’ भन्दै वचन लगाउँछ । रिसको झोंकमा हाङ्माले नाम्साङलाई ‘नामर्द’ भनिदिन्छिन् । नाम्साङले हाङ्माको गाला चड्काउँछन्, हाङ्मा युप्पारुङ फिर्ता गर्दै माइत जान्छिन् । त्यसपछि पर्दामा निर्देशकको क्रेडिट आउँछ अनि फिल्म सुरु हुन्छ । निर्देशकले फिल्ममार्फत के भन्न खोजेका हुन् भन्ने कुरालाई त्यही एउटै दृश्यले स्थापित गरिदिएको छ । कथामा द्वन्द्व(कन्फ्लिक्ट) त्यहीँबाट सुरु हुन्छ ।

निर्देशक सुब्बाले फिल्ममा घट्ने घटनाक्रमहरुलाई कसिलो ढंग(कज एन्ड इफेक्ट शैली)मा पटकथामा बुनेका छन् । त्यसैले पनि फिल्ममा दर्शक अन्तिमसम्म बाँधिरहन्छन् । त्यसमाथि आउने ‘ट्विस्ट एन्ड टर्न’ले त दर्शकको ध्यान भड्किन दिँदैन । कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ ।

स-साना भावनालाई दृश्यमा केलाइएको छ । फिल्ममा अर्को एउटा दृश्य छ- नाम्साङ सुन्निएको खुट्टालाई सेकाउँदै हुन्छन् । आफूलाई वास्ता गर्ने, माया गर्ने व्यक्तिको अभाव त्यतिबेलासम्म महसुस गरिसकेका हुन्छन् । पत्नीप्रति गरेको व्यवहारमा लज्जित छन्, तर पुरुषत्त्वले सजिलै पत्नीसँग माफी माग्न दिइरहेको हुँदैन ।

उता, हाङ्माले पनि आफ्ना गल्तीलाई व्यक्त गर्न सकिरहेकी हुन्नन् । त्यत्तिकैमा नाम्साङको हातबाट सेक्ने कुरा(तितेपाती जस्तै देखिने घाँस) लिएर हाङ्माले खुट्टा सेकिदिन्छन् । त्यसपछि नाम्साङको आँखाबाट बर्रर्र आँसु झर्छ । उनीभित्रको प्रेम र आत्मग्लानी देखाउन दृश्यमा कुनै संवादको प्रयोग गरिएको छैन । त्यही दृश्यले पति–पत्नीबीचको पवित्र सम्बन्ध बुझाइदिन्छ ।

फिल्ममा यस्ता थुप्रै दृश्यहरु छन्, जसमा मसिना भावनाहरूलाई पनि महत्त्वका साथ देखाइएको छ । बिनासंवाद ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन् । त्यसैले त पर्दामा जब हाङ्मा अपहेलनामा पर्छिन्, दर्शकको मन चसक्क दुख्छ । नाम्साङलाई आत्मग्लानी हुँदा दर्शकलाई त्यो आभास भइसक्छ । धेरै फिल्म यस्ता स-साना भावना देखाउनमा चुकिरहेको हुन्छन् तर उपेन्द्रले आफ्नो लेखन मजबुतीलाई यही दृश्यमार्फत बलियो साबित गरेका छन् ।

फिल्मको संवादमा लिम्बू लबज र मिठास भरिएको छ । ‘जारी’मा ठूल्ठूला संवादको प्रयोग छैन । तर जति संवाद प्रयोग गरिएको छ ती अर्गानिक छन् । फिल्मको ट्रेलरमै त्यसको उदाहरण हेर्न सकिन्छ । जारी उठाउन जाँदा नाम्साङले सुनौली रुपौलीको हिसाब माग्छ । त्यसपछि हाङ्माको परिवारबाट एक जनाले भन्छन्,’ससुराली मान्नु लेको राँगा, सुँगुर सब्बै जोडेर हुन्छ ? त्यस्तै निम खोज्ने हुम्ता ‘जाँ..’ तिमीअरले नै आधाउधी घिचेर गा हो ।

‘फिल्ममा केही ठेट लिम्बू संवादको पनि प्रयोग छ । ती संवादलाई दर्शकबीच पुर्‍याउन त्यसमा नेपाली भाषाको सन्तुलन पनि मिलाइएको छ । ‘जाँ..’ शब्दको सेन्सरसिपले भने केही संवादको मर्म दरफरिएको छ । परिवेश सुहाउँदो दृश्यमा प्रयोग गरिएका संवादका शब्द ‘सेन्सर’ गर्न आवश्यक थियो ?

यो फिल्मको सबैभन्दा मजबुत पाटो हो- साउन्ड डिजाइन(ध्वनि) । कथा र पात्रहरुको भावमा डुब्न पार्श्व संगीतले उतिकै भूमिका खेलेको छ । पात्रहरुको गहिरो भावना बुझाउन प्रयोग गरिएको बाँसुरीको ‘फ्रि-स्टाइल’ होस् वा मेलामा गाइएको पालम । कथालाई लयमा बगाउन झुमा लिम्बू र गंगा थापाको संगीत, फिल्मलाई सजिव बनाउन ध्वनिले पुर्‍याएको योगदान तारिफ गर्न लायक छ ।

कलाकारको अभिनय यो फिल्मको अर्को अब्बल पक्ष हो । दयाहाङ राईको अभिनयले नाम्साङ पात्रलाई जीवन्त बनाएको छ । उनले लिम्बू लबजलाई पक्रन मिहेनत गरेको देखिन्छ । नाम्साङको रिस, आवेग र प्रेमलाई दयाहाङले अभिनयमार्फत स्थापित गराइदिएका छन् । त्यस्तै, मिरुना मगरले हाङ्मा चरित्रको शालीनता र सहनशीलतालाई पर्दामा प्रस्तुत गरिदिएकी छिन् ।

मंगलसिंहको भूमिकामा विजय बराल फिट देखिएका छन् । उनको चरित्रले बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काइदिन्छ । मंगलसिहको ठट्यौली र बोल्ने लिम्बू भाषाले कथामा हाँसो थपिदिन्छ। फिल्ममा हाङ्माको भाइ बरध्वजको भूमिकामा अनिल सुब्बा र दोस्रो पतिको चरित्रमा रोय श्रेष्ठले गरेको अभिनय प्रशंसनीय छन् ।

‘जारी’ आदीवासी/जनजाति र जाँड संस्कृति, उनीहरुका संस्कार र जीवन पद्धति मिसिएको काव्यिक फिल्म हो । फिल्ममा जनजाति बिहेदेखि जाँडको स्वाद मिसाइएको छ । फिल्मले जनजाति महिलाको स्वतन्त्रता र उनीहरुले गरिरहेको आत्मनिर्णयको अभ्यासको पक्षलाई पनि छोएको छ । तर महिलावादी दृष्टिकोणले हेर्ने हो भने हाङ्माको चरित्रलाई एउटा दृश्यमा कमजोर देखाइएको छ ।

लिम्बू संस्कृतिमा ‘जारी’ महिलाले पाएको एउटा स्वतन्त्रता नै हो । तर, ‘जारी’को एउटा दृश्यमा हाङ्मा भन्छिन्, ‘मैले जारी गरेर गल्ती गरेँ ।’ आफूले लिएको त्यस्तो बलियो निर्णयमा हाङ्माले कसरी गल्ती गरिन् ? उक्त दृश्यमा उपेन्द्रको पुरुष चेतना हाबी भएको हो कि भन्ने आभास हुन्छ । तसर्थ फिल्ममार्फत उपेन्द्रले जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास भने गरेका छन् । फिल्ममा रोय श्रेष्ठको चरित्र अवतरणमा भने अलि हतार गरिएझैं आभास हुन्छ । वैशाख १ देखि प्रदर्शनमा आएको ‘जारी’ उपेन्द्र सुब्बाले दर्शकलाई दिएको सुन्दर उपहार हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्