सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आयात घट्दा २ खर्ब २२ अर्बले घट्यो ब्यापार घाटा

आयात परिमाण खुम्चिँदा मुलुकको व्यापार घाटा कम भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ देखिएको छ । गत वर्ष यही अवधिको तुलनामा कुल व्यापार घाटा २ खर्ब २२ अर्ब ८६ करोडले कम छ ।

गत आर्थिक वर्षको चैतसम्म कुल घाटा १३ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ थियो । अर्थात् मासिक घाटा १ खर्ब ४५ अर्ब १२ करोड रुपैयाँ थियो । अहिले मासिक घाटा १ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ छ । समग्र आयात नै खुम्चिएकाले व्यापार घाटा कम देखिएको हो ।

‘स्वदेशी उत्पादन बढेर भन्दा पनि आयात घटेकाले घाटा कम देखिएको छ, मुद्रा सञ्चिति घटेपछि सरकारले अपनाएका अनेकौं नीतिका कारण आयातमा केही कमी भएको थियो,’ विभागका एक अधिकारीले भने । तथ्यांकअनुसार सबैभन्दा बढी चैतमा १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । समग्र चैत मसान्तसम्मको तुलनामा भने आयात रकम २ खर्ब ६५ अर्ब १५ करोडले घटेको छ ।

आर्थिक वर्ष ०७८/७९ को चैतसम्म १४ खर्ब ६६ अर्ब ६६ करोडको आयात भएकामा अहिले १८ प्रतिशत घटेर १२ खर्ब १ अर्ब ५० करोडमा झरेको छ । निर्यात रकम २६.३४ प्रतिशतले घटेर १ खर्ब १८ अर्ब २७ करोडमा सीमित भएको छ । गत वर्ष यही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोडको निर्यात भएको थियो ।

त्यस्तै, समग्रमा वैदेशिक व्यापार ३ खर्ब ७ अर्ब ४४ करोडले कम भएको छ । गत वर्ष चैत मसान्तसम्म १६ खर्ब २७ अर्ब २३ करोडको वैदेशिक व्यापार भएकामा चालु आर्थिक वर्षको ९ महिनामा १३ खर्ब १९ अर्ब ७८ करोडको व्यापार भएको छ । सरकारले निर्यात बढाउन विभिन्न कार्यक्रम घोषणा गरे पनि सुधार देखिएको छैन ।

निर्यात व्यापार प्रशोधित पाम तेल, भटमासको प्रशोधित तेलले धानेको छ । ९ महिनामा सबैभन्दा बढी प्रशोधित पाम तेल १७ अर्ब २९ करोडको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा ३६ अर्ब ३८ करोडको निर्यात भएको थियो । त्यस्तै, भटमासको तेल प्रशोधित ८ अर्ब ४३ करोडको निर्यात भएको छ । गत वर्षको ९ महिनामा भने ४३ अर्ब ३० करोडको निर्यात भएको थियो ।

कच्चा पदार्थको आयातमा छुट र निर्यातमा प्रोत्साहन पाएका यी वस्तुले समग्र निर्यात व्यापारलाई बढाइदिएको हो । व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी यहाँ प्रशोधन गरेर भारत निर्यात गर्छन् । सेन्थेटिक यार्नको निर्यात पनि घटेको छ । गत वर्षको चैत मसान्तसम्म ९ अर्ब ३२ करोडको निर्यात भएको यार्न अहिले ८ अर्ब ७७ करोडमा झरेको छ । ऊनी र गलैंचाको निर्यात भने बढेर ८ अर्ब ४७ करोड पुगेको छ । गत वर्ष यही अवधिमा ६ अर्ब ८९ करोडको निर्यात भएको थियो । त्यस्तै, अलैंची, तयारी कपडा, फलामे पाता, फलफूलको जुसको निर्यात पनि बढेको छ ।

आयात व्यापारमा भने पेट्रोलियम पदार्थ अगाडि छ । ९ महिनामा पेट्रोलियर्मको आयात घटे पनि रकम भने बढेको छ । नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भएको मूल्यवृद्धिले यहाँ असर परेको हो । तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ को चैत मसान्तसम्म १३ लाख १ हजार ५ सय ५२ किलोलिटर डिजेल आयात भएको थियो । २०७९/८० चैत मसान्तसम्म परिमाण घटेर ९ लाख ५२ हजार १८ किलोलिटर डिजेल आयात भएको छ । रकमको हिसाबमा भने बढेको छ । ९ महिनामा १ खर्ब १२ अर्ब ४० करोडको डिजेल आयात भएको छ । जबकि गत वर्ष यही अवधिमा १ खर्ब ५ अर्ब ९७ करोडको आयात भएको थियो ।

पेट्रोलको आयात परिमाण घटे पनि ९ महिनामा ४९ अर्ब ७४ करोडको आयात भएको छ । यस अवधिमा ४४ अर्ब ८४ करोडको खाना पकाउने एलपी ग्यास आयात भएको छ । त्यस्तै, सुनको आयात परिमाण घटे पनि रकममा भने बढेको देखिन्छ । विभागको तथ्यांकअनुसार गत वर्ष ९ महिनामा ४४ लाख ३२ हजार ६ सय ७६ ग्राम आयात भएको सुन अहिले २७ लाख ४१ हजार ४३ ग्राम मात्रै आयात भएको छ । रकमको हिसाबमा भने ३७ अर्ब ३० करोडको आयात भएको देखिन्छ । जबकि गत वर्ष चैतसम्म ३३ अर्ब ६२ करोडको मात्रै आयात भएको थियो ।

मुलुकमा आयात–निर्यात मुख्यतः २७ नाकाबाट हुन्छ । ९ महिनाको अवधिमा सबैभन्दा बढी वीरगन्ज भन्सार नाकाबाट ४ खर्ब ४३ अर्ब ७२ करोडको आयात भएको छ । निर्याततर्फ सबैभन्दा बढी विराटनगरबाट भएको छ । विराटनगरबाट ३१ अर्ब १८ करोड रुपैयाँको निर्यात भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्