सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तमोर आयोजना चिनियाँ कम्पनीबाट फिर्ता तयारी

चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) ले बनाउने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना फिर्ता लिइने भएको छ । चिनियाँ र नेपाली लगानीमा निर्माण हुने भनिएको आयोजनाको काममा कुनै प्रगति नभएपछि फिर्ता लिन लागिएको लगानी बोर्डले जनाएको छ । बोर्डको आगामी बैठकले यसबारेमा औपचारिक निर्णय गर्दै छ ।

ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पर्ने ७५६ मेगावाट क्षमताको तमोर ०७६ मा पावर चाइना र नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले संयुक्त कम्पनी स्थापना गरी बनाउने सम्झौता भएको थियो । तर आयोजनाको जिम्मा पाएका कम्पनीले ३ वर्षसम्म बनाउने छाँट नदेखाएपछि एचआईडीसीएलले लगानी बोर्डलाई सम्झौता तोड्न लगानी बोर्डलाई आग्रह गरेको बोर्डका सहसचिव तथा प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका पालामा यो आयोजना पावर चाइनालाई दिइएको थियो । ०७६ मा लगानी बोर्डमा तमोर आयोजनाका लागि पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेब्रास पावर कतार होल्डिङसँग जेभी रहेको जापानी कम्पनी फुजी इलेक्ट्रिक कम्पनी लिमिटेडले प्रस्ताव पठाएका थिए ।

अन्तिम चरणमा छानिएका कम्पनीबाट आएका प्रस्ताव मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन गरी सोही कमिटीको सिफारिसअनुसार तमोर बनाउने जिम्मा पावर चाइनाले पाएको थियो । तर पावर चाइनाले सम्झौताअनुसार एचआईडीसीएललाई कुनै रेस्पोन्स नगरेपछि लगानी बोर्डमार्फत सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिए ।

‘लगानी बोर्ड, एचआईडीसीएल र पावर चाइनाबीच भएको सम्झौताअनुसार पावर चाइनाले कुनै पनि काम अगाडि बढाएन,’ उनले भने, ‘सम्झौता मात्रै भयो । तर त्यसपछिको कुनै काम नभएपछि उक्त कम्पनीसँग काम गर्न नसक्ने निष्कर्षमा पुगेका हौं ।’ लगानी बोर्डसँगको सम्झौताअनुसार ३ महिनाभित्र कम्पनी स्थापना गर्ने, कम्पनी स्थापना भएको ३ महिनाभित्र अनुमतिका लागि आवदेन दिने, अनुमति पाएको १८ महिनामा अध्ययन पूरा गर्नेलगायत सम्झौता भए पनि त्यसअनुसार काम अगाडि नबढेपछि आफूहरू पछि हटेको गौतमले बताए ।

तमोर बेसिनमा रहेका ३७ मेगावाट क्षमताको काबेली र १४.९ मेगावाट क्षमताको हेवा जलविद्युत् आयोजनालाई क्षतिपूर्ति दिएर आयोजना बनाउने सहमति एचआईडीसीएल र पावर चाइनाबीच भएको थियो । तर बीचमा पावर चाइनाले आफूले त्यत्तिको लगानी ल्याउन नसक्ने र ५१ प्रतिशत लगानी एचआईडीसीएलले होल्ड गर्न प्रस्ताव गरेको गौतमले बताए । एचआईडीसीएल आफैं त्यति ठूलो लगानी गर्न सक्ने संस्था नरेहको भन्दै जवाफ पठाएको र त्यसपछि पावर चाइनाले यसमा लगानी गर्ने कि नगर्ने भन्ने दोधार देखिएको उनको भनाइ छ । ‘हामीले ५१ प्रतिशत लगानी गर्न नसक्ने बताएपछि पावर चाइना आफैं दोधारमा पनि थियो,’ उनले भने ।

पावर चाइनाले विद्युत्को बजार नदेखेपछि पनि निर्माण अगाडि नबढाएको हुन सक्ने गौतमको भनाइ छ । ‘७५६ मेगावाटको आयोजना बनाएपछिको बजार कहाँ भन्ने पनि होला,’ गौतमले भने । एचआईडीसीएल र पावर चाइनाबीच जोइन्ट भेन्चर जलाशययुक्त ७५६ तमोर आयोजना निर्माण गर्ने सम्झौता भएको र यसमा पावर चाइनाले रेस्पोन्स नगरेको कारण देखाउँदै एचआईडीसीएलको बोर्डले उक्त कम्पनीसँग काम अघि बढाउन नसकिने जानकारी गराएको बोर्डका प्रवक्ता लम्सालले जानकारी दिए ।

‘हालसम्म ७५६ मेगावाट क्षमताको आयोजना बनाउँछु भन्दै बोर्ड नआएको हुँदा भारत र चीनलाई दिनेलगायत कुरामा सत्यता छैन,’ उनले भने । बोर्डले प्रस्ताव हेरेर कुन कम्पनीलाई दिँदा देशलाई फाइदा हुन्छ, सोहीअनुसार निर्णय गर्ने लम्सालको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्