सिमा नखुल्दा उकुसमुकुसमा ओलाङचुङगोला
सन् २०१० मा छिमेकी देश मेक्सिकोका राष्ट्रपति फेलिपे काल्डेरोलाई ह्वाइटहाउसमा स्वागत गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेका थिए, ‘हामी सिमानाले होइन सम्बन्धहरूले परिभाषित छौं ।’
मेक्सिको र अमेरिकाबीच बेलाबेला भइरहने सीमा नियमनको तनावभन्दा माथि धेरै आयामहरूमा जोडिएका दुई देशका मानवीय सम्बन्धहरूलाई इंगित गर्दै ओबामाले गरेको त्यो टिप्पणी भूराजनीतिक विश्लेषकहरूले धेरै देशका सीमाजन्य मामिलाबारे बोल्न पर्दा उद्धृत गर्दै आएका छन् ।
ओलाङचुङगोलाकी याङ्जी शेर्पालाई ओबामाको यी उद्गार र त्यसको लक्षणार्थ थाहा छैन । तर, यो सीमाजन्य समस्या र यसले थोपरेको थामिनसक्नुको एक्लोपनसँग भने भलिभाँती जानकार छिन् । नेपाल–तिब्बत सीमा टिपतालापारि चीनको चम्किलो सहर रिउमा उनको माइती छ । उनी रिउ पुग्ने आकांक्षाले आहत छिन् । तर, कोभिड आएयता सीमा बन्द छ ।
उनी न जान पाएकी छन् न माइतीलाई भेट्न । तीन दशकअघि ओलाङचुङगोलाका छुल्दे शेर्पासँग विवाह गरी नेपालकी बुहारी भएकी याङ्जीका धेरै वर्षहरू घर–माइती गर्दा सिमाना तगारो भएन, त्यसैले उनलाई टिपताला भन्ज्याङ दुई देशलाई जोड्ने नाकाजस्तो होइन, सधैं हिँडिराख्ने प्रिय देउरालीजस्तो
लागिरह्यो । तर जब कोभिड महामारीका समयमा चीनले आफ्ना सीमाहरू बन्द गर्यो, तब टिपताला पारी रिउ जान पाइनन्, भाइहरू वारि ओलाङचुङगोलामा उनलाई भेट्न आउन पनि पाएनन् । कतिसम्म भने चौंरीहरूसमेत यताका यतै, उताका उतै रहे ।
एक छोरा र एक छोरी छाडेर याङ्जीका पति छुल्दे बितेको ७ वर्ष नाघिसक्यो । छोराछोरी पढ्न दार्जिलिङ गएको पनि धेरै भइसक्यो । याङ्जीसँग सुनसान ओलाङचुङगोलामा दिनहरू पट्यारलाग्दो बिताउनुको विकल्प छैन । ‘माइतीको साह्रै याद आउँछ, जाऊँ भन्छु तर नाका खुलेको छैन,’ उनले हैरानी पोखिन्, ‘चरा भए पनि उडेर जान्थें, हामी मान्छेलाई त देशैले छेक्यो ।’
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा पर्छ ओलाङचुङगोला । वडाध्यक्ष छेतेन शेर्पालाई याङ्जी बरोबरजसो सोधिरहन्छिन्, ‘नाका कहिले खुल्ला ?’ फक्ताङलुङको सिमानामा पर्ने उक्त वडामा दुई हिमाली गाउँ छन्, ओलाङचुङगोला र याङ्मा । सीमावर्ती मधेशको भारतसँगझैं सुदूरपूर्व ताप्लेजुङका यी दुई गाउँको तिब्बतसँग रोटीबेटीको सम्बन्ध छ । लकडाउनका बेला बन्द भएको नाकाका कारण आफन्त भेट्न नपाउने याङ्जी एक्ली होइनन् ।
‘यहाँ घरैपिच्छेजस्तो रिउसँग माइत–मावलको साइनो छ,’ छेतेन भन्छन्, ‘नाका कहिले खुल्ला भनेर गाउँलेहरू सधैं सोधिरहन्छन् ।’ हँसिलो मिजासका छेतेनसँग सधैं एउटै जवाफ हुन्छ, ‘छिट्टै खुल्दै छ ।’
आँखाको शल्यक्रियामा संसारमै नाम कमाएका डा. सन्दुक रुइतको जन्मथलो पनि हो ओलाङचुङगोला । देश–विदेशमा सम्पर्क भएका हुनाले गोलावासी सन्दुकलाई पनि नाका खुलाइमाग्न आग्रह गरिरहन्छन् । १४ करोडको इसा अवार्ड पाएलगत्तै गत फागुनमा जन्मथलोमा आँखा शिविर लिएर पुगेका रुइतसँग स्थानीयले उपचार मात्रै गराइमागेनन्, नाका बन्द हुँदाको बेहाल पनि सुनाए र समाधानमा पहल गरिदिन पनि अनुरोध गरे ।
‘टिपताला नाका बन्द हुँदा गाउँमा साँच्चै मर्का परेको छ,’ रुइत भन्छन्, ‘ओलाङचुङगोला र याङ्मा गाउँ मात्रै नभएर आसपासका पाँच–सात हजार मानिसका लागि टिपताला नाका जीवनको आधार नै हो, यो नखुल्दा बाँच्नै नसक्ने गरी महँगी बढेको रहेछ, सरकारले यसबारे सोचविचार गरोस् ।’
बन्द नाका खुलाइपाऊँ भनी वडाध्यक्ष छेतेन पालिकादेखि जिल्ला, प्रदेश र संघीय सरकारसम्म दौडधुप गरिबस्छन् । ‘अस्ति भर्खर तिब्बती र नेपाली अधिकारीहरूबीच जुम बैठक भयो,’ उनले भने, ‘उनीहरू नाका खुलाउन सकारात्मक त छन् तर कहिले खुल्छ हाम्रो परराष्ट्र मन्त्रालयले देखाउने सक्रियतामा भर पर्छ, । संघले पहल नगरेसम्म हामी कराएर हुन्न ।’
टिपतालावारि नेपालको ताप्लेजुङ जिल्ला भएजस्तै पारि तिब्बतको डिङ्जे काउन्टी छ । तिब्बती र नेपाली दुवै भाषा जान्ने छेतेनको समन्वयमा सोमबार भएको जुम मिटिङमा नेपाली टोलीको नेतृत्व ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ र चिनियाँ टोलीको नेतृत्व डिङ्जे काउन्टीका प्रमुख ताओ मिङजुनले गरे । दुवैतिरका चासोलाई उल्था गर्ने काम उनै छेतेनले गरे ।
‘नाका नखुल्दा बस्तीलाई परेको अप्ठ्यारोका बारेमा हामीले कुरा राख्यौं,’ प्रजिअ चेम्जोङ भन्छिन्, ‘सक्दो छिटो यो खुलाउन हामीले आग्रह गर्यौं । उनीहरूले सकारात्मक रूपमा लिएका छन् ।’
याङ्मा र ओलाङचुङगोला पुग्न नेपालको बाटो अझै पनि गाडी पुग्दैन । हिँडेर जान पनि भीरपहराबाट गुज्रिने गोरेटो जोखिमपूर्ण छ । नाका बन्द हुनुअघि याङ्माका ११ र ओलाङचुङगोलाका ५१ घरपरिवारका लागि चाहिने खाद्यान्न, लत्ताकपडा र औषधिमूलो सबै टिपताला नाका हुँदै रिउ बजारबाट ल्याउने गरिन्थ्यो ।
‘उताबाट ल्याउँदा हामीलाई बाटो पनि छोटो पर्छ, सामान पनि सस्तो हुन्छ,’ रिउदेखि सामान झिकाएर व्यापार गर्दै आएका ओलाङचुङगोलाका टासी शेर्पा भन्छन्, ‘चार वर्षदेखि नाका ठप्प हुँदा फुङलिङदेखि ओसार्नुपर्ने रासन दोब्बर तेब्बर महँगो भएर टिक्नै मुस्किल भइसक्यो ।’
पुरुषहरूको टासीले जस्तै व्यापार गर्नु र पशुपालन मुख्य पेसा हो भने ओलाङचुङगोलामा महिला चौंरीका ऊनको राडीपाखी र गलैंचा बुन्छन्, जसको मुख्य बजार उही रिउ हो । ‘तर नाका बन्द हुँदा गलैंचा घरमै थुप्रिएका छन्,’ गलैंचा उद्यमी आङ्मु शेर्पा भन्छिन्, ‘एकातिर गलैंचा बेच्न नपाएर आम्दानीको बाटो बन्द भयो, अर्कातिर दाल, चामल उधुमै महँगो भएको छ ।’
यो हैरानीले ८४ वर्षीय डन्डु शेर्पालाई ज्यादै पिरोल्छ । टिपताला बन्द भएर वा खुलेर सिंगो देशलाई केही फरक नपरे पनि ओलाङचुङगोला र याङ्माका बासिन्दालाई मर्नु न बाँच्नु बनाएको छ भनेर सरकारलाई कसरी बुझाउने होला भन्ने उनको प्रश्न छ । ‘नाका नखुले गोलामा बसिराख्नुको काम छैन,’ डन्डु भन्छन्, ‘काम र मामको खोजीमा धेरैले गाउँ छाडिसके । बाँकी हामी बूढाबूढी छौं, बाँच्नका लागि बसाइँ सर्नुपर्ने दिन आउला भन्ने डरले निद्रै लाग्दैन ।’
याङ्माका लोब्साङ शेर्पाको पिरलो उस्तै छ । तिब्बती सिमानाको चरन क्षेत्रमा गोठ बनाएर उनी चौंरीपालन गर्ने ताप्लेजुङका थोरै शेर्पा किसानमध्येका हुन् । नाका खुलेका भए उनका डेढ सयभन्दा बढी चौंरी रिउमा हारालुछ बिकिसक्थे । डेढ–दुई करोडको आम्दानी उनलाई यसै वर्ष हुन्थ्यो । ‘तर हेर्नुस् त हाम्रो दुःख ∕’ उनी गुनासिन्छन्, ‘कोभिडले डाँडा काटिसक्दा पनि टिपताला नाका खुल्दैन, यस्तो भएपछि हामी गरिब मरे भइगयो नि ।’
काठमाडौंले खालि तातोपानी र केरुङको नाकालाई मात्रै चासो दिएको तर आफूहरूको सास जोडिएको टिपताला नाकालाई कुनै वास्तै नगरेकामा ओलाङचुङगोलावासी दुःखी छन् । बाटो नहुनाले देशको मूल व्यापार सञ्जालसँग अलगथलग रहेको ओलाङचुङगोला र याङ्माका मानिस राज्यबाट कतिसम्म उपेक्षित छन् भने कर तिर्नसमेत तीन दिनको यात्रा गरी पाँचथर पुग्नुपर्छ । सदरमुकाम फुङलिङमा कर कार्यालय छैन ।
‘राज्य पैसा लिन त आउँदैन, विकासको काम गर्न के आउला र भनेजस्तो लाग्छ,’ छेतेन भन्छन्, ‘तैपनि, हामीले आशा मार्न भएन क्यार, त्यसैले सीडीओदेखि मन्त्रीसम्मलाई भन्न छाडेका छैनौं ।’
टिपताला सानो नाका र नेपालका दुई गाउँका मानिसको मात्रै सरोकारको मामिलाजस्तो देखिए पनि रणनीतिक हिसाबले तिब्बतका लागि यो निकै महत्त्वपूर्ण व्यापारिक मार्ग हो । किनभने, संसारको सबभन्दा बढ्ता जनसंख्या भएको देश भारतसम्मको सर्वाधिक छोटो बाटो नै टिपताला नाकाबाट पर्छ ।
टिपतालादेखि भारतसँग जोडिएको मोरङको रानी भन्सार नाकासम्मको दूरी ३ सय १० किलोमिटर छ । ‘सरकारले टिपतालादेखि रानीसम्म जोड्ने गरी तमोर करिडोर बनाइरहेको छ तर ओलाङचुङगोलासम्म बाटो भने जोडिन पाएको छैन,’ तमोर करिडोर (सुभाङ खोला दोभान ओलाङचुङगोला) सडक योजनाको योजना प्रमुख अर्मिन्द्र खड्का भन्छन्, ‘यो बाटो बनेपछि चीनले नेपालको बाटो हुँदै भारतमा व्यापार गर्ने छोटो स्थलमार्ग भनेकै टिपताला भएर हो ।’ उनका अनुसार ७ करोड प्रतिकिमिको औसतमा बन्न लागेको यो मार्गको कुल लागत करिब २० अर्ब जति छ । आगामी ५ वर्षसम्ममा टिपतालासम्म मोटर पुगिसक्नेछ ।
साना–ठूला गर्दा ४५ पुलसहितको तमोर करिडोरले मोटर बाटो गाउँमा पुर्याएका दिन आफूहरू सबभन्दा बढ्ता खुसी हुने ओलाङचुङगोलावासी बताउँछन् । ‘१० वर्षअघिसम्म रिउका मानिस यता हाम्रातिर काम गर्न आउँथे, हामीसँग बिहेवारी चल्थ्यो,’ छेतेन भन्छन्, ‘तर, चीनले ल्याएका विकासका अनेक परियोजनाले रिउवासी हेर्दाहेर्दै धनी भए । अहिले उनीहरू नेपालमा व्यापार गर्न चासो पनि दिँदैनन्, सम्बन्ध पनि राख्न उति राजी छैनन्, नाका पनि बन्द छ ।’
ओलाङचुङगोला हुँदै टिपतालासम्म मोटर बाटो बनेपछि आफ्नातिर पनि उस्तै विकासका परियोजनाहरू भित्रिएलान् भन्ने आशा छेतेनलाई छ । ‘त्यतिबेला रिउवासीले हामीलाई उहिलेझैं सम्मानका साथ हेर्लान् भन्ने मलाई लाग्छ,’ उनी भन्छन्, ‘गोलामा छिटो बाटो बनोस् र तत्काल नाका खुलोस् भन्ने हाम्रो माग छ ।’
कोशी राजमार्गलाई छाडेर मूलघाटदेखि तमोर करिडोरको बाटोको ट्र्याक ओलाङचुङगोलासम्म पुग्न एक किलोमिटर बाँकी छ । कतै अक्करे पहरा र कतै फुसफुसे भीरबाट गुज्रिनुपर्ने करिडोरको यो खण्डमा ट्र्याक छिचोल्न यतिखेर ६ वडा डोजर चलिरहेका छन् ।
अमेरिकातिर बस्ने ओलाङचुङगोलाका बासिन्दाले तीन करोड रकम उठाएर चिनियाँ डोजरको सहायताले टिपतालादेखि ओलाङचुङगोलासम्म यसअघि नै सडक बाटो खनिसकेका छन् । स्थानीयकै पहलमा गोलादेखि १५ किलोमिटर यतासम्म पनि ट्र्याक खोल्ने काम भइसकेको आयोजना प्रमुख खड्काले बताए । ‘अब हाम्रो काम भनेको ट्र्याक छिचोल्न बाँकी बीचको भागमा प्रारम्भिक बाटो बनाउनु हो,’ उनी भन्छन्, ‘त्यसपछि हामी आउने पाँच वर्षसम्ममा बाटोको स्तरोन्नति गरेर गाडी चल्ने बनाइसक्नेछौं ।’
खुकुलो भूबनोट भएको पहराको ठूला–ठूला ढुंगा र गेग्रान माटोको सतहमा डोजर चलाउँदा धेरै ठाउँमा पहिरो गएको छ । ‘बाटो बनाउन डोजर चलाउँदा हामीलाई साह्रै जोखिम छ,’ पाँच वर्षदेखि तमोर करिडोरमा बाटो खन्ने काम गर्दै आएका डोजर चालक धादिङ बेनिघाटका पशुपति पोखरेल भन्छन्, ‘खन्दाखन्दै ठूल्ठूला ढुंगा र पहिरो आउनाले निकै नै डर छ हामीलाई ।’
तीन वर्षअघि उनीसँगै डोजर चलाउने चितवन इच्छाकामनाका चित्रबहादुर गुरुङलाई पहिरो र ढुंगाले डोजरसहित तमोरमा खसाल्दा तत्क्षणै उनको ज्यान गएको थियो । त्यो सम्झँदा पशुपतिको मुटु अहिले पनि काँप्छ । ‘तर पनि यो बेरोजगारीको मौसममा पाएको काम छाडेर हिँड्न भएन,’ जंगलमै पाल टाँगेर खाने, बस्ने सडक खन्ने डेढ दर्जन कर्मी समूहका एक सदस्य उनी भन्छन्, ‘भाग्य भरोसा भनेर बाटो खन्दै छौं, वर्षा अगाडि नै ट्र्याक छिचोल्न पाए काइदा हुने थियो ।’
लकडाउनले नाकाबन्दी हुनुअघि टिपतालादेखि ओलाङचुङगोलासम्म खनिएको ट्र्याकलाई विस्तार गर्न नेपाल सरकारको अनुरोधमा चीनले रिउका ठेकेदारलाई अनुमति दिएको थियो । ‘त्यसपछि तिब्बती ठेकेदारहरू डोजर र सडक खन्ने अन्य उपकरणका साथ गोलासम्म बाटो विस्तार गर्दै आए,’ गोलाका व्यापारी टासी भन्छन्, ‘तर लकडाउनले नाका बन्द हुने भएपछि उनीहरू डोजरलाई यतै छाडेर रिउ छिरे, त्यस बेलादेखि चिनियाँ डोजर यतै छ र उनीहरू उतै छन् ।’
तमोरको किनारमा उभिएको ओलाङचुङगोलाको मुखैमा तिब्बती डोजर, त्यसका लागि ल्याएको इन्धनका ड्रम र अन्य औजारसहित त्यसै मिल्किएको छ । बल्लतल्ल बनेको बाटो पनि हरेक पटकको बर्खामा आउने पहिरोले मेट्दै लगेको छ र हरेक दिन डोजर खिया लागेर निःशब्द सडिरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्