ब्युँतिने भयो राजा वीरेन्द्रका पालाको थिंक ट्यांक
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)ले तत्कालीन राजा महेन्द्रका ज्वाईं कुमार खड्गबिक्रम शाहको पालाका अन्र्तराष्ट्रिय डेस्कहरु ब्युँताउन थालेको छ ।
कुमार खड्गबिक्रम ०४० सालदेखि ०४५ सालसम्म सिनासको कार्यकारी निर्देशक थिए । र, उनकै पहलमा सिनासमा सार्कका तत्कालीन सात वटै मुलुकका डेस्क स्थापना भएका थिए । १९ जेठ ०५८ को दरबार हत्याकाण्डमा कुमार खड्गबिक्रम पत्नी शारदासहित मारिएका थिए ।
सिनास, तत्कालीन राजा वीरेन्द्रको सोचअनुसार स्थापना भएको थिंकट्यांक हो । सिनास पञ्चायतकालमा सीधा दरबारलाई सल्लाह दिने भूमिकामा थियो । उक्त संस्थाको पहिलो कार्यकारी निर्देशक डा. प्रयागराज शर्मा थिए ।
त्यसपछि मानवशास्त्री स्वर्गीय डोरबहादुर बिष्ट कार्यकारी निर्देशक बने । त्यसपछि दरबारले सीधै कुमार खड्गबिक्रमलाई उक्त पदमा नियुक्ति दिलाएको थियो । शर्मा, बिष्ट र कुमार खड्गबिक्रमका पालामा सिनासको हैसियत उच्च थियो । र, स्रोत, साधनबाट युक्त पनि ।
सिनास, त्यतिबेला एसियाका गिनेचुनेका थोरै थिंकट्यांकमध्ये एक मानिन्थ्यो । २०४६ सालको परिवर्तनपछि बनेका कार्यकारी निर्देशकहरुले ती अन्र्तराष्ट्रिय डेस्कहरुलाई ‘राजाका ज्वाईंले गरेको काम’का रुपमा लिए । र, पूरै बेवास्ता गरिदिए । त्यसयता नै हो, सिनास अवकाश पाउन लागेका प्राध्यापकहरुलाई लगेर थन्क्याउने ‘डस्ट बिन’ बनेको पनि ।
२०४६ सालअघि यो संस्था एसियाका ‘टप थ्री’ थिंकट्यांकमा गनिन्थ्यो । अहिले एसियाका करिब ६ सय थिंकट्यांकको सूचीमा यो ६३ औं स्थानमा छ । ‘सरकारको थिंक ट्यांकका रुपमा सिनासलाई पुनर्जीवन दिन खोजिएको हो,’ कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की भन्छन, ‘विगतमा यसले दरबारलाई सल्लाह दिन्थ्यो भने अहिले सरकारलाई यसको आवश्यकता छ ।’
नीति निर्माण, अन्र्तराष्ट्रिय सम्बन्ध र राजनीतिक प्रक्रियामा सरकारको सल्लाहकारको भूमिकामा सिनासलाई पुर्याउने लक्ष्यका साथ काम थालिएको उनको भनाइ छ । डा. कार्की थप्छन, ‘सिनासले पनि अहिलेसम्म समाजमा आफ्नो अस्तित्वबोध गराउन नसकेको र राज्यले पनि एउटा तहमा सहयोग गर्न नसकेको अवस्था छ । तर, अब पुरानो अवस्थाबाट बाहिर निकाल्ने योजनामा लागेका छौं ।’
अहिले नेपाल–भारत, नेपाल–चीन र नेपाल–जापान डेस्क स्थापना भइसकेका छन् । नेपाल–भारत डेस्कमा डा. गोविन्दबहादुर तुम्याहाङ र नेपाल–जापान डेस्कमा पञ्चनारायण महर्जन प्रमुख छन् । नेपाल–चीन डेस्क प्रमुख बनाइएका डिल्लीराज शर्माले भने व्यक्तिगत कारण जनाउँदै राजीनामा दिएका छन, अर्को नियुक्ति भएको छैन ।
त्रिविअन्तर्गतको यो संस्थासँग सीधा भूराजनीति जोडिन्छ । कुमार खड्गबिक्रम शाहका पालामा ‘स्ट्राटेजिक सिरिज’ नै प्रकाशित हुन्थ्यो । र, ‘डेमोक्रेसी वाच’का दुई वटा अंक निकालेर जनताले के सोचिरहेका छन् भन्ने धारणा सार्वजनिक गराइएको थियो ।
इतिहासकार धनबज्र बज्राचार्य, हालका एमाले उपाध्यक्ष भीम रावल मात्र होइन, प्राध्यापक डा. देवराज दाहाल, प्राध्यापक श्रीधर खत्री, आनन्द आदित्य लगायत व्यक्तित्व आफ्नो करिअरको एक समयमा सिनाससँग जोडिएका थिए ।
डा. दाहालका अनुसार पञ्चायतको उत्कर्षमा पनि कुमार खड्गबिक्रमले तत्कालीन कांग्रेस र कम्युनिस्टका नेताहरु बोलाएर खुला बहस र छलफल गराउँथे । शेरबहादुर देउवा, दमननाथ ढुंगाना, होमनाथ दाहाल लगायत प्रजातन्त्रवादी व्यक्तित्वलाई बोलाएर बहस चलाउँथे ।
सिनासमा भएका अध्ययन र अनुसन्धानलाई त्रिविमा कोर्स बनाएर अध्यापन गराइन्थ्यो । ‘अहिले पश्चिमा मुलुकबाट सिद्धान्त आउँछ र यहाँ पढाइ हुन्छ,’ डा. दाहाल भन्छन, ‘त्यतिबेला सिनासमै सिद्धान्त प्रतिपादन हुन्थ्यो र त्यही त्रिविमा पढाइ हुन्थ्यो ।’
उक्त संस्थाको पुनर्जीवनका लागि वर्तमान सरकारले पाँच करोड रुपैयाँको कोष उपलब्ध गराएको छ । त्रिवि, शिक्षा र अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेश भएको प्रस्ताव हालै स्वीकृत भएको हो ।
कार्यकारी निर्देशक डा. कार्कीका अनुसार त्यसलाई बन्दोबस्ती कोषका रुपमा राखेर वार्षिक व्याजवापत प्राप्त हुने रकमबाट अध्ययन र अनुसन्धानका कार्यक्रम सञ्चालन गरिने छ । उक्त कोषबाट वाषिर्क करिब ४५ लाख रुपैयाँ व्याज प्राप्त हुने अनुमान छ । सिनासको आफ्नो बैंक खातामा भने अहिले करिब दुई करोड रुपैयाँ छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्